लोक सेवाको परीक्षा केन्द्र राखिएको एउटा स्कूल । अलि छिटै पुगेकाले यताउता गरिरहेको थिएँ । आँप(?) को रूखमुनि उभिएर अगाडिको ब्लकतिर हेरिरहेको थिएँ । एउटी सानी (सायद कक्षा एक या दुईमा पढ्ने) केटी झ्यालमा आइन् । उनी सँगै आए तीनचार जना अरु केटीहरू । “ओहो ! आज कति धेरै कति धेरै नौला मान्छेहरू !” उनीहरू भनिरहेका थिए । जिज्ञासा पनि थियो आफूआफू बीचमा, “आज के हो ? किन आएका यी मानिसहरू?”
हामी पनि त स्कूलमा नयाँ मानिस आउँदा यस्तै कुराकानी गर्थ्यौं नि ! “को आए ? किन आए ?” जस्ता प्रश्नले मन उथलपुथल हुन्थ्यो । जवाफ नपाउन्जेल आँखा कक्षा बाहिर डुल्थे । तर बाहिर हेर्ने अनुमति कहाँ हुन्थ्यो र ? गुरु, गुरुआमाहरूले थाहा पाउनुभयो भने त सजाय पनि हुन्थ्यो । कक्षामा पढाइ नभएका बेला (लिजर)मा मात्रै बाहिर हेर्न पाइन्थ्यो । त्यो पनि डराइ डराइ !
यी साना नानीहरूको पनि लिजर पो थियो कि ? नभए त शिक्षकले बाहिर हेर्न पक्कै दिँदैनथे । उनीहरूको क्रियाकलापले भने मलाई तोत्तोचानको याद दिलायो । “सन् १९३० तिरकी जापानी तोत्तो-चानको सन् २०२० को दशकका नेपाली नानीहरूसँग के सम्बन्ध ?” एक मनले जवाफ माग्यो । अर्को मनले भन्यो, “बालसुलभ चञ्चलता त जहाँ र जहिले पनि उस्तै हुन्छ, हैन ?” मनको वादविवाद चलिरहेकै बेला परीक्षार्थी मध्येकी एक महिलाले ती बालिकाहरूतिर हेरेर हात हल्लाइन् । जवाफमा सुरुमा झ्यालबाहिर हेर्ने अग्ली केटीले हात हल्लाई । म अनायास मुस्कुराएँ । उनीहरूले भने मलाई याद गरेनन् । केही बेर पछि तिनै साना नानीहरू म उभिएको ठाउँमा हेर्न थाले । मैले हात हल्लाएँ । उनीहरू लजाए । अघि एक अपरिचित महिलालाई सजिलै हात हल्लाएका नानीहरू अहिले एक अपरिचित पुरुषसँग भने लजाए । त्यसमा सायद डर पनि मिसिएको थियो कि ?
***
इन्टु मिन्टु लण्डनमा
हाम्रो बाबा पल्टनमा
स्कुलको पाले दाइ
पहिलो घण्टी बजाइदेऊ
टिनिनिनिनी… झ्याप्प
एकछिनपछि बच्चाहरूले गीत गाउँदै खेलेको सुनियो । नोस्टाल्जिक भइयो । यो गीतिखेल कति पुरानो हो थाहा छैन तर सानामा खेलेको याद अझै ताजा छ । सुगम पोखरेलको एउटा गीतमा पनि यो अट्यो । धेरै अघि नै बालबोलीमा बसिसकेको यो गीत अहिलेका केटाकेटी पनि यही गीत गाइरहेका छन् । केही वर्षपछि सायद मेरी छोरी पनि यो खेलमा सहभागी हुनेछिन् र सायद उनीपछिको पुस्ता पनि।
यति शक्तिशाली यो गीतिखेल कसले सुरु गर्यो होला ? कसरी फैलियो होला ? मन कल्पिन थाल्यो । कतिपय कुराहरु जीवनमा यसरी धुलिएका हुन्छन् कि तिनको सुरुवात कसरी भयो भन्ने कुरा कल्पना समेत गरिँदो रहेनछ । तर अब भने यो बालखेलको रचयिताबारे जान्न मन भयो । जान्न मन भयो इन्दु र मिन्टु को थिए ? कसरी लण्डन पुगे ? गीत गाउने बच्चाका बाबु पल्टनमा कसरी पुगे ? कुन पल्टनमा छन् अनि कहाँ लडाई गर्दैछन ? फर्किएर आउलान् कि नाउलान् ? जिउँदै आउलान् कि बाकसमा ?
मनमा आएका यी प्रश्नहरूको उत्तर भेटिएन । तर जवाफको अभावमा मन कहाँ शान्त भयो र ? यो त झनै छट्पटियो । अरू प्रश्नलाई थाती राखेर इन्दु र मिन्टु कस्ता थिए होलान् र कसरी लण्डन पुगे होलान् भनी कल्पिन थाल्यो । इन्टु मिन्टु सम्भ्रान्त वा लाहुरे परिवारमा जन्मिएका थिए कि ? कम्तीमा ४० वर्ष अघि गीत रचिएको थियो भने त्यो कालखण्डमा लण्डन जाने ल्याकत धनीमनी र बेलायती गोर्खा रेजिमेन्टमा सैनिक सेवामा भर्ती हुनेसँग मात्रै थियो । धेरै सम्पत्ति भएका तर ठूला व्यापार नभएका धेरै नेपाली परिवार बेलयात मात्रै होइन, अमेरिका, अस्ट्रेलिया र युरोपेली देशहरूप्रति आकर्षित हुने गरेको धेरै समय भइसकेको छ । उनीहरू यहाँ अवसर देख्दैनन् । अवसर भए पनि विदेशी मुद्रा साटेर आउने रकम र उताको जीवनशैलीको लालसाले गर्दा नेपालमा अडिन सक्दैनन् । पछि केही मध्यम वर्गीय परिवारका सदस्यहरू पनि यही सिको गर्दै उता पुगे । अहिले रहरले देश बस्नेको सङ्ख्या नगण्य छ ।
गीतिखेलका पात्रहरूका बाबाहरू पल्टनमा छन् । कुन पल्टनमा होलान् बाबा ? बेलायती गोर्खा पल्टनमा कि भारतको गोर्खा पल्टनमा ? सिंगापुरमा कि हङकङमा ? खाडीमा पसिना चुहाउँदै छन् कि ? कतै कुल्ली र दरबानको काम गर्दै मुस्किलले कमाइरहेका छन् कि ? गाउँघरमा पल्टने हुँ भन्दा मान बढ्ने भएकाले पल्टनमा छु भनेर ढाँटेका पो हुन् कि ? इन्टु मिन्टु जति सुरक्षित र सम्पन्न छैनन् कि ? सम्पन्न हुन पनि सक्छन् तर यी बाबाहरू सुन्दर भविष्य लागि ज्यान हत्केलामा राखेर श्रम बेच्न पुगेका पक्कै हुन् ।
हाम्रो पुस्ता केही हदसम्म “पल्टने” बाबाहरूले पालेका हुन् । तिनका छोराछोरीले पनि त्यही बाटो अँगालेका छन्। जुन सङ्ख्यामा देश छोड्नेको लर्को छ, त्यसले हामीलाई सङ्कटमा लाने निश्चित छ । तर पनि राज्य गम्भीर बनेको छैन। हुन त उसले जनतालाई विदेशमा बेच्ने नीति लिएको छ । उसका कान बन्द छन् । सुन्न तयार छैन युवा पुस्ताको क्रन्दन । युवा पुस्ता सरकारी सेवा प्रति पनि आक्रोशित छन् अनि निजी संस्थामा हुने श्रम शोषणले गलेका छन् । केही युवाहरू सरकारी जागिरको चौतारीमा आराम खोजिरहेका छन् । म आफैँ पनि त्यस्तो चौतारी खोज्दैछु । खोज सफल हुन्छ हुँदैन थाहा छैन तर यसले पनि सन्तुष्ट बनाउला जस्तो लाग्दैन । राजनीति र प्रशासनमा युवाहरूको दह्रो हस्तक्षेप नभई अहिलेको अवस्था परिवर्तन हुन सक्दैन । यद्यपि, नवपुस्तामा भरिएको निराशा समाधान नहुने हो कि भन्ने डर छ । यो अन्तत: देशका लागि नै घातक हुन सक्छ । यो अन्धकारको अवस्थाबाट उज्यालोतर्फ लाने शक्ति युवाहरूमै छ । हामीहरू संयमित, इमान्दार र लगनशील हुन चाहिँ आवश्यक छ ।
२०८०/०१/२५