काला बादलका पर्दाले
मनमा उमङ्गको लहर उठ्छ ।
जब नीलो आकाश र रापिलो घाम ढपक्क ढाकिदिन्छन्
रिमझिम झरीले जमिनलाई जसै सुवासित गर्छ
मनले सर्वात्र खुशीको बिज छर्छ ।
हिलो मैलो नभनी
दु:ख गरी दिनरात
सपना बुन्दछ अन्नपातको सुखको ।
काला घना बादलहरू
जब झमझम अविरल बर्सन्छन्
काँप्दछ मन !
खुशीमा ग्रहण लाग्ने पो हो कि ?
भेल बन्छन् कि खेतबारी ?
बाढीले बगाउँछ कि सारा सपनाहरू ?
पहिरो आई खस्छ कि मेरा आशा माथि ?
तुहिने हुन् कि इच्छाहरू ?
हे ईश्वर !
बचाइदेऊ मेरा सपना !
नपार निराश मलाई,
पूरा गरिदेऊ मेरा एक मुठी रहर !
फुर्सद छैन कि ईशलाई ?
मौन बसेको छ !
निद्रामा पो छ कि ?
मेरा प्रार्थना उसका कानमा नपुगे जस्तो छ !
काला घना बादलहरू
भेल बनी आउँछन् !
गड्गडाउँदै पस्छन् घरखेतमा
तुहाइदिन्छन् सपना र रहरहरू !
गर्जंदै खसेर माथिबाट
निमिट्यान्न पार्न खोज्छन् आशा र इच्छाहरू !
सास बाँकी छ
आश बाँकी छ
शोक र भोक छ ।
शक्ति अझै बाँकी छ
पीडाले बलवान बनाइदिएको छ ।
भविष्य निर्माणमा अघि बढ्छु !
वर्षा यामका
काला घना बादलहरू
मेरो जीवनका निर्णायक हुने छैनन्
कुनै ईश्वरको मौनताले
मेरो भाग्य उल्टिनेछैन
मेरो भाग्यको मालिक म आफैँ हुनेछु
मेरो सुकर्मको फल म आफैँले पाएको हुनेछु ।
(२०७७/०३/३०)