माइती जान नपाउने चेली

सुविधाले सम्पन्न भएका ठाउँमा

चेलीहरू माइती गइरहँदा हुन् ।

हासो र खुसी नराखी दाउमा

आमाबाबालाई खुसी राखिरहँदा हुन् ।।

***

चेलीहरू माइतीघर आउलान् भन्ने

आशैआशमा बित्छ यो जुनी !

आमाबाबालाई खुसी राख्लान् भन्ने

सपनामै अल्झन्छ यो जुनी !!

******

आशैआशमा बित्छ यो जुनी

जन्मघरमा फेरि पाइला राखुँला भनी !

सपनामै अल्झन्छ यो जुनी

आमाबाबासँग फेरि भेट होला भनी !!

***

जन्मघरमा फेरि पाइला राखुँला भनी

सोच्छु बिहा भई आएको यो ठाउँमा ।

आमाबाबासँग फेरि भेट होला भनी

नौ डाँडापारिको त्यो जन्मगाउँमा ।।

******

[मलाया शैली पान्टुममा नेपाली कविता लेख्ने यो प्रयाश । यस शैलीमा पहिलो स्टेन्जा (stanza) का दोस्रो र चौथो हरफ दोस्रो स्टेन्जामा पहिलो र तेस्रो हरफ बन्छ्न् अर्थात् दोहोरिन्छ्न् ।

Advertisements

शताब्दी

मध्ययुगीन युरोपेली शैलीमा

सेतो रङका पाप्रा उप्किएर पहेँलो, कालो बनेका

दिवार चिरेर उम्रेका उन्यु र पीपलका पात बोकेर

उभिएको कुनै भुतघरजस्तो संरचना देख्दा 

नतर्सिनू,
चारैतिर दुईतीन फिट अग्ला घाँस, दुबो, सिस्नु,

वनफाँडा, काँडा र गाँजाका झाङमा

खेलिरहेका, गफ हाँकिरहेका अनि आफ्नै कुनामा

सर्को तानी मनोरञ्जन लिइरहेका थरीथरीका मानिस देख्दा

नझुक्किनू,
छतमा, फूलबारीमा, लाइब्रेरीमा, कोरिडोरमा,

रुखमुन्तिर, ल्याबमा अनि क्लासरूममा

निश्चिन्त ग्याङ, ग्रुप र जोडी बन्दै

टङ्टङ बज्ने घडीघरको पेन्डुलम जस्तै

यताउता गरिरहेका विद्यार्थी देख्दा

नअल्मलिनू,
भर्खर शताब्दी पार गरेको

भुकम्प, राजनीती र 

बेवास्ताको मारमा परेको

जन्ममा नै पिताको 

मनमा बिस्मात जगाएको 

यो त्रिभुवन-चन्द्र बहुमुखी कलेज हो !

काला बादल

उसले फगत मागेकी थिई

टन्टलापुर घामबाट,

मुसलधारे वर्षाबाट अनि

कठ्याङ्ग्रीदो जाडोबाट

जोगाउने घरमा

मीठो खानाको एक गाँस !

***

उसको सपना पूरा भएको थिएन

तर ऊ पूरा हुने आश गर्थी,

त्यो दिनसम्म जुन दिन

काला बादलले

उसको बाली बगाइदिए,

उसको छाप्रो बगाइदिए,

उसका आशा बगाइदिए,

उसको जिन्दगी बगाइदिए !

***

अहिले ऊ व्यर्थै रुन्छे !

किनकि उसको क्रन्दनले

झरी बनेर बर्सेका

काला बादलमाथि बसेका देउतालाई

उठाउन सक्दैन !

बहत्तर सालको भुकम्प

गड्गड गड्गड गड्गडाउँदै

थर्थर थर्थर थर्थराउँदै

घरगोठ ढाल्दै, मान्छे मार्दै

मनहरूलाई कायल पार्दै

आयो

भोकमाथि शोक थपेर

शोकमाथि शोक थपेर
त्यो आएको दुई पल

कालको भोज थियो

प्रत्येक निमेषमा ऊ

अघाएको थियो

हरेकले उसलाई आँखाअघि

देखेको थियो

मान्छे कति निर्बल छ भन्दै

खित्का छाडेर हासेको थियो
पहाड बगे, फाँट फुटे

मन फाटे, आँसु बगे

उसले दिएको पीडाले

सबै निराश भए
भत्किए संरचना, भत्किए मन

राज्य निरीह देखियो

योजना लागू भएनन् 

एक जोडी कलाकारले

दिनरात जोडे केही मन

मनहरू बन्न अझै बाँकी नै छ

घरहरू बन्न अझै बाँकी नै छ

शिर सगरमाथाझैँ हुन अझै बाँकी छ

​बाह्र सत्ताइस कविता 

बिहान सबेरै उठेर
हतार हतार हिँड्यो केटो

परीक्षा दिन भनी ।

‘ढिलो हुन्छ होला,’ ऊ सोच्छ ।

रिङ्गरोडमा उडेको धुँवा हेर्दै,

बानेश्वर पुग्ने गाडी कुर्दै,

‘कसरी समयमा पुग्ने होला?”

सोच्छ घडी हेर्दै ।
भाग्यले साथ दियो,

एउटा माइक्रो आयो

धुम्बाराहीदेखि बानेश्वर जाने ।

चार मिनेटमा चाबेल पुर्‍यायो

अनि सुरु भयो जाम

गाडीहरूको अद्भूत जाम !

धुवाँ उडाउँदै उभिएका गाडी

लस्कर लागेर एकअर्कालाई धुँवा दिँदैछन्

चुरोट पिउने साथीहरूले चुरोट बाँडेझैँ ।

‘तिनीहरूको फोक्सो दह्रो हुँदो हो,’ ऊ गम्छ

‘यस्तो धुँवा धुलो खप्न

धुँवा पहिल्यै भरिएको छ !’
कछुवा गतिमा गाडी अघि बढिरहेछ

आफूभित्र धुलो भरिरहेछ !

दम बढ्यो केटोको

झ्याल खोल्ने कि नखोल्ने

अलमलमा पर्छ ।

झ्याल खोले पनि नखोले पनि

धुलोले आखिर फोक्सो भरेकै छ ।
जाम खुल्यो पन्ध्र मिनेटमा !

खुलेकै त होइन

ट्रकले छोड्यो बाटो थोरै ।

गयो माइक्रो अघि

केटोले बाटो देख्यो

बाटो बाँकी थिएन

हिलोमा गाडी गुड्दैथे

अनि देब्रेपट्टी एउटा डोजर

मेलम्चीको पानी आउने पाइप

बिछ्याएपछि

बाटो पुर्दैथ्यो ।
साढे छ बजे पुग्यो बानेश्वर

पुग्न अझै थियो शंखमुल

हिँड्दा हिँड्दै देख्यो एउटा पुल

आकाशे पुल

नभए पनि हुने ठाउँमा 

बानेश्वर चोकमा पुल बनेन

तर थापागाउँ जाने बाटोमा बनेछ !

आवश्यक भएको ठाउँमा

जेब्रा क्रस पनि राम्रो रहेनछ !
फोटो खिच्न हुन्थ्यो

मोबाइल रहेनछ !

सेन्टर नै अजिब

ब्याग बिल्डिङ बाहिर राख्नुपर्ने

मोबाइल पनि त्यैँ

घरै राख्नु बेस भनेर छोडेको घरमै !
लमकलमक हिँड्दै

पुग्नै लाग्दा शंखमुल पुल

बोलायो कसैले !

रहेछ एन ओल्ड फ्रेन्ड फ्रम लिभरपुल

“ओहो अबिन !” भन्दै

लामो कुरा गर्न नपाउँदै

एक्जाममा पुग्न ढिलो हुन्छ भन्दै

स्यँस्याँफ्याँफ्याँ गर्दै पुग्यो

एक्जाम हलमा !
मिति लेख्दा कपीमा

बाह्र-सत्ताइस पो रैछ

बेमतलब, बेकार

जाममा फसेर,

बीस मिनेट लम्केर

प्रश्न सजिलै परे

त्यसै दु:ख पाको हरे !

श्रापित देउता

उहिले यस भूमिमा
देउताले मानवलाई चार वर्णमा बाँडेर
गरि खाओ भनेथे रे
विद्यामा दक्खल राख्ने ब्राह्मण भए रे
युद्धमा अब्बल क्षत्रिय;
पशुपाल र व्यापारी वैश्य
अनि सबै वर्णका सहयोगी
शुद्र थिए रे
कर्म अनुसार वर्ण हुने
व्यवस्था गरेका थिए रे

ज्ञानलाई स्वार्थको भुमरीले छेक्यो
वीरले जित्दै गए,
महत्वाकांक्षाले छोप्दै आयो
व्यापार बढिरह्यो,
लोभ झन्झन् चढिरह्यो
सेवकले आफ्नो काम
चुपचाप,
हेपिएर,
पेलिएर गरिरह्यो

ब्राह्मणले आफ्ना असक्षम सन्तान
राजाले आफ्ना हीन उत्तराधिकारी
व्यापारीले आफ्ना दुर्गुणी छोराछोरी
शुद्र बनेको देख्न सकेनन्
देउताको डर हट्दै जाँदा
ब्राह्मणका सन्तान रहे ब्राह्मण
राजाका उत्तराधिकारी भए राजा
व्यापारीका छोराछोरी व्यापारी
शुद्रका सन्तति शुद्र नै रहे
बुद्धि भए पनि ती ब्राह्मण हुन सकेनन्
योद्धा भए पनि ती क्षत्रीय बन्न पाएनन्
व्यापार मात्र पनि गर्न पाएनन्
देउता पुराणका पानामा सीमित
त्यो युगमा
वर्ण व्यवस्थाको आफ्नै व्याख्या गरेर
माथिल्लो वर्णले शोषण गरिरहे

देउता टुलुटुलु हेरिरहे
धर्म हारिरह्यो
अन्याय बढिरह्यो
कर्म मरिरह्यो
पुराणका देउतालाई कसले मान्ने ?
भए सबै आफैँ नै जान्ने !
ब्राह्मणले बाँढ्न छाडे असल ज्ञान
राजाले शासन,
व्यापारीले लुट मच्चाइरहे
रोइरहे पीडितका मन

मिथक बनेका देउता
आकाशमा बसेर
धर्तीमा भएको अन्याय हेर्छन्
उनीहरू हेर्न मात्रै सक्छन्
किनकी
उनीहरू श्रापित छन् !
वृन्दाहरूका पतिव्रता आँसु बहँदा
ती टुलुटुलु हेर्थे !
ताराहरूका छलिएका मनहरू रुँदा
ती बेवास्ता गर्थे !
एकलव्यहरू माथि अन्याय भइरहँदा
ती आँखा चिम्लन्थे !
त्यसैले आज ती मिथक बन्दा पनि
टुलुटुलु हेर्न मात्र सक्छन् !
वेदना स्वर हरपल सुनेर पनि
बेवास्ता गर्न मात्र सक्छन् !
सामाजिक अव्यवस्था देखेर पनि
आँखा चिम्लन मात्र सक्छन् !
किनकी ती श्रापित छन् !

तर
दुखेका मनहरू एकदिन जाग्नेछन्
अन्याय गर्नेहरू भाग्नेछन्
न्याय र ज्ञानको उज्यालोमा
मानिसहरू ती जागेका मनहरू हेर्नेछन्
उनीहरूले त्यस दिन देउता देख्नेछन्
बुझ्नेछन्
देउता आकाशमा होइन
धर्तीमा बाँच्दछन् !
आकाशका देउता भने
धर्तीमा टुलुटुलु हेर्नेछन्
किनकी
ती सदाका लागि श्रापित छन् !

पाल्पा-२

​ यसअघि “पाल्पा” शिर्षकमा तीन कविता पाल्पाबाट पोस्ट गरेको थिएँँ । काठमाडौंं फर्किएपछि लेखेका तीन कविता यहाँ प्रस्तुत गर्दछु ।

 १.

लेक र बेँसी, गोरेटा-बाटाहरूमा

जिन्दगीका हरेक पाटाहरूमा

जीजीबीसा राख्दछन् नरनारी

मुहारमा हरपल गुलाबी रङ्ग छरी 

मस्याम, टारीडाँडाबाट पूर्वतिर हेर्दा

 २. (हाइकु)

मस्याम, डुम्रे घर

        महिना दिनलाई

                   यादका अत्तर
 ३. (मित्रताका ती पल)

राईझुमाको लय, रोदीघरका गीत

मित्रताको स्वर हासोको सङ्गीत

कम्मर मर्काई, ताली पड्काई

साथ पाई मित्रजनको, साह्रै रमाई

बित्यो समय कति छिटो पीर सबै भुलाई