इण्डियन लाहुरे

(समर्पण : गोर्खा रेजिमेन्टमा भर्ति भएर युद्ध लडेका, लडिरहेका र वीरगति पाएका सबै नेपालीप्रति )

अफिस पुगेर गार्डको युनिफर्म भिरें अनि बाहिर गेटमा निस्केर बुढियालाई फोन गरें, “केही खबर आयो ?”

“छैन ।”

“टिभीमा पनि केही आ’को छैन ?”

“छैन । आ’को भए त तपाईंलाई फोन गरिहाल्थें नि ।”

हो त उसैले फोन गरिहाल्थी नि । उसलाई पनि त कम गाह्रो भएको थिएन । मैले भनेँ, “उफ्, केही सोच्नै सकेको छैन मैले त । खबर आउनेवित्तिकै मलाई भनिहाल है त ।”

उसले केही भनेझैं लाग्यो तर फोन काट्ने सुरमा मैले सुनिनँ । फेरि फोन नआएकोले खासै जरुरी कुरा होला भन्ने लागेन । मन फेरि एक तमासको भयो । काममा पनि ध्यान गएनछ । ” सन्चो छैन दावा दाइ ?” सँगै काम गर्ने कार्की भाइले भन्यो ।

“त्यस्तो केही हैन, कार्की भाइ ।”

“केही त भएकै छ, दाइ । अघि फोनमा कुनै खबरको कुरा गर्दै हुनुहुन्थ्यो । अनुहार पनि मलिन देख्छु । शरीर पनि थाकेजस्तो देखिन्छ । के भयो ?”

“खै भाइ, के भन्ने ? काश्मिर सीमामा भारत र पाकिस्तानका सेना लडिरा’का छन् रे । छोरो त्यतै छ । मन साह्रै आत्तिइरहेको छ ।”

“सेनाको जागिर । जता भन्यो त्यतै जानुपर्छ ।”

“आफ्नै देशको सीमामा भए नि देशको लागि लड्दैछ भनेर चित्त बुझाउने बाटोसम्म हुन्थ्यो । अर्काको देशको सीमामा छ । मामालाई देखेर त्यतै जान रहर गर्यो । त्यो छोरोलाई नजा भनेर कति सम्झाएँ । मान्दै मानेन । भन्यो, “नेपालको सरकारले नै जान हुन्छ भन्छ भने किन नजाने । यहाँ बसेर बेरोजगार हुनुभन्दा त त्यही ठीक ।””

मेरा आँखामा आँसु भरिए । कार्की  भाइ  पनि एकछिन  टोलायो अनि भन्यो,  “उसले भनेको पनि ठीकै हो । हाम्रो देशचाहिँ आफ्नो सीमाको रक्षा आफैँ गर्न सक्दैन । फेरि नेपालीलाई चैं अर्काको देशको सैनिक बनेर उनीहरूको लडाइँ लड् पनि भन्छ । किन हो कुन्नि त्यस्तो ?”

मेरो मन चसक्क दुख्यो । ऊ भन्दै थियो, “मेरा छोराछोरी अस्ति भन्दै थिए, पाकिस्तानले भारतलाई खत्तम गर्दे हुन्थ्यो भनेर । उनीहरूलाई थाहा नै छैन कति नेपालीहरू भारतीय सेनाको गोर्खा रेजिमेन्टमा छन् ।”

“नेपाली, इण्डियन, पाकिस्तानी जे भने पनि मान्छे नै त मर्ने हुन् नि होइन र भाइ ?”

“युद्धले कसलाई पो फाइदा गर्छ र, दाइ ।” दिनभर मसँग कुरा गरेर ढाडस दिइरह्यो उसले । घरमा फोन गरिरहें तर केही खबर आएन । छटपटी बढिरह्यो । दिन साह्रै लामो लाग्यो । बल्लतल्ल दिन बित्यो ।

ड्युटी सकिनेवित्तिकै घरतिर लागें । खासै टाढा थिएन तर हिंड्दाहिंड्दै थकाइ लाग्यो । बैंकको ढोकाअघि बस्दा पनि थकाइ लागेको थियो । पहिले यस्तो कहिले भएको थिएन । मनको पीडाले शरीर पनि बिरामी हुँदोरहेछ । निकै बेर लगाएर घर पुगें । सिधै टिभी राखेको कोठामा पुगें । हिन्दी न्युज च्यानलको ब्रेकिंग न्युज आइरहेको थियो: भारत-पाकिस्तान सीमामा अठार भारतीय सैनिकको मृत्यु । मन झन् भारी भयो । छोरी र बुढियासँग पनि केही बोल्न सकिन । त्यो कोठाबाट उठेर अर्को कोठामा गएँ अनि पल्टिएँ ।

“बाबा खाना खान आउनुस् ।” छोरीको स्वर सुनेर झस्किएँ ।

“खानै मन छैन ।”

“मन त मलाइ पनि छैन तर पिर लिएर मात्रै पनि त भएन ।”

बिस्तारै उठेर भान्छामा पुगें । बिहान उब्रेको खाना तताइछ बुढियाले । भाग बसें तर दुई गाँसभन्दा खानै सकिनँ । छोरी र बुढिया पनि भक्कानिए । त्यस दिनको खाना फ्याँकियो । टिभी कोठामा एकछिन पछि आइपुगें । त्यही समाचार छ हिन्दी च्यानलमा । नेपाली मिडियालाई त मतलब छैन । नेपाली पनि परे भने खबर ल्याउने मात्रै हुन् । नराम्रो खबर नाओस् भनेर भगवानसँग प्रार्थना गरें ।

मोबाइलको घन्टी बज्यो । बुढिया र छोरी दौदिंदै आइपुगे । नम्बर हेरें । इण्डियन हो तर छोराले गर्ने भन्दा फरक । मुटुले ढ्यांग्रो ठोक्यो । सास फेर्न गाह्रो भयो । जसोतसो लाउडस्पिकर अन गरें । उताबाट नेपालीमै कसैले भन्यो, “यो दावा तामांगको नम्बर हो ?”

“ज्यू ।”

“एउटा दु:खको खबर छ ।” एकछिन रोकियो, सुस्केरा हाल्यो अनि भन्यो, “तपाईंको छोरा सोनामले वीरगती पायो । दुस्मनको गोलीले उसको छाती छेड्यो । ढलेपछि पनि निकै साहस देखायो तर उपचार पुरा नुहुँदै उसको निधन भयो ।”

मेरा आँखाबाट बरर्र आँशु खसे । टीभी राखेको टेबुलमा उसको तस्बिर थियो । गोलो, गोरो मुहार, अग्लो गंठिलो शरीर, इण्डियन सेनाको पोशाक लागएर उसले त्यो फोटो खिचाएको थियो । त्यही फोटो मात्रै आँखाअघि नाचिरह्यो । उताबाट भन्दै थियो, “भारतीय सरकारले उसलाई शहीद घोषणा गर्नेछ । त्यसैले उसको अन्तिम संस्कार यतै हुनेछ ।”

मुटु चुँडियो । न सास, न लाश । टिभी टेबुलको तस्बिर नै त्यो लाहुरेको अन्तिम निशानी भयो ।

(कार्तिक १७, २०७३मा नागरिक मा प्रकाशित समाचारबाट प्रेरित)