उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १)

तीन महिनाजति पहिले किनेका किताबमध्ये एउटा थियो “बाह्रखरी उत्कृष्ट कथा २०८०” । २०७५ को पहिलो संस्करण त pdf मा वेबसाइटबाट सिधै डाउनलोड गर्ने मिल्ने गरी राखिदिएको थियो बाह्रखरीले । पछिल्ला संस्करणप्रति खासै आकर्षण थिएन । त्यही पनि किताब पसलमा देखेपछि कस्ता कथा चैं उत्कृष्ट २५ मा परेछन् भन्ने उत्सुकता पलाएपछि किनेको थिएँ । तर अफिस आउँदा लाग्ने समय, थकान, छोरीसँग खेल्न मन लाग्ने अनि अलिकति निस्किएको समयमा माथि भनिएको परीक्षाको तयारीका लागि पढ्ने गरेकाले उत्कृष्ट कथा २०८० थन्किएको थियो । राति पौने तीन बजे कथाहरू पढिने भइयो ।

सङ्ग्रहका कथामध्ये पुरस्कृत भएकालाई सबैभन्दा अन्तिममा पढ्ने सोच बनाएँ अनि बाँकीमध्येबाट पहिलो छनौटमा पर्‍यो दिव्य गिरीको “असार पन्ध्र” । खेती किसानी गर्नेहरूको लागि असार १५ ठूलो उत्सव हो । त्यसकै सेरोफेरोमा कथा होला भन्ने लाग्यो तर हैन रैछ । विपद् असंवेदनशील नेतृत्व भयो भने गरीबहरूले कस्तो समस्या भोग्नुपर्छ भन्ने कथाको मूल मर्म रहेछ । सङ्ग्रहको आवरण पनि यही कथामा आधारित जस्तो लाग्यो । यद्यपि विषय जति चाखलाग्दो छ लेखाइ भने त्यति छैन । धनबहादुर बिकको परिचय दिँदै सुरु भएको कथाको पहिलो खण्डमा उसको जीवनी मात्रै छ । झिँझो लाग्ने गरी प्रत्येक पात्रलाई “धनबहादुर अर्थात् धने” को शैलीमा परिचय दिइन्छ । त्यसमा पनि गल्ती छ । मनसरालाई धनबहादुरकी बहिनी भनिएको छ । पछिल्लो खण्डमा पनि धनबहादुर र उसकी श्रीमतीलाई दाजुभाउजू नै भनेकी छिन् । तर मनसराले जन्माएको बालकृष्ण धनबहादुर भन्दा २ वर्ष मात्रै कान्छो छ ।

पहिलो गाँसमा ढुङ्गा परेजस्तो भयो । बेचैन हुँदै कथाका पात्रको नातागाता केलाएँ । मेरो हिसाब नमिलेको हो कि जस्तो लाग्यो । सुत्न लागेको म जुरुक्क उठेर कलम र कागज लिएर चित्र बनाउन थाले । अहँ, कथामा मनसरा धनबहादुरकी बहिनी हुनै सक्दिन । बहिनीको छोरो आफूभन्दा २ वर्ष कसरी हुन सम्भव छ ? दिदीको भए मिल्छ बरू । यत्रो गल्ती भएको कथा “उत्कृष्ट” कसरी हुन सक्छ ? विभिन्न चरण पार गर्दै पाठक सामू आएको कथामा यति ठूलो गल्ती त नहुनु पर्ने हो । एउटा चरणमा एकजनाले पो गल्ती गर्न सक्छ । कथा पढ्दै नपढी छनौट भएको त हैन ? यो भन्दा राम्रो कथा उत्कृष्ट २५ मा पर्न छुट्यो कि ?

त्यसपछि पढेको अर्को कथा चैं छनौट समूहले पक्कै पढेको हुनुपर्छ । दीपक लोहनीको “दरबारको दु:ख” (पृ. १५७-१५८) मा रानीसाहेब कथाका सूत्रधारलाई भन्छिन्, “तपाईं पत्रकार हो ? म पत्रकारसँग आफ्ना व्यथा सुनाउँदिन । उनीहरू आफ्नो बिजनेसका लागि मात्रै आउँछन् ।”

सूत्रधार भन्छन्, “म पत्रकार हैन, कथाकार हुँ । दरबारका दु:ख समेटेको कथा लेखेर बाह्रखरी कथा प्रतियोगितामा पठाउँछु ।”

अब बाह्रखरी कथा प्रतियोगिताकै लागि लेखिएको कथा उत्कृष्ट नभई भयो त ? हुनै पर्‍यो नि । अनि प्रतियोगिताको लागि कथा पठाउँछु भन्दा बिजनेस नहुने रैछ क्यारे, रानीसाहेबले आफ्नो कथा सुनाइदिइन्  । सूत्रधारले इमान्दारी देखाए भनेर पो हो कि ?

उता कथा लामो छ भन्दै कथा सुरु गरेका सूत्रधार एकछिन पछि रानीसाहेबको जीवनीको सारांश दिन्छन् । केही अनुच्छेदमै उनी बालापनबाट वृद्धावास्थामा पुग्छिन् । धनसम्पत्तिको मातले बिग्रेका पुरुष पात्रहरूका कारण वृद्धाले भोगेको व्यथा सूत्रधारले कथा बनाएर प्रतियोगितामा पठाउँछन् । बाह्रखरीको उत्कृष्ट २५ मा पर्छ । आँसु बिक्छ भनेको यही होला । मलाई चैं आँसुले खासै छोएन । निद्राले छोयो बरू अनि झ्याप्प निदाएँ ।

भोलिपल्ट साँझ अफिसबाट घर फर्किँदा डा. श्रीधर खनालको कथा “जीपीटी २०००” पढियो । ChatGPT 4.0 ले तहल्का मच्चाइरहेको बेला जीपीटी २००० ले धमाका गर्ने आशा पलायो । कथाको सुरुवात राम्रो लाग्यो । जीपीटी २००० ले मोबाइलमा इन्स्टल गरेपछि इमेल, क्यामरा र लोकेसनको आधारमा ट्रयाकिङ गर्ने कुरासम्म कथा ठीकै थियो । ‘असुर’को दोस्रो सिजनको झल्को आउला जस्तो लागेको बेला उसले न्यारेटरलाई सर्वोत्कृष्ट भन्दै गरेको भविस्यवाणीले कताकता ‘म्याट्रिक्स’ को झल्को दियो । आपसी कलहका कारण मानिसहरू लोप भइसकेपछि पनि AI बच्ने कुरा अलि पत्यार नलाग्दो नै थियो । हुन त AI को भविस्यवाणी हो । मिल्नैपर्छ भन्ने छैन ।

त्योभन्दा पनि पत्याउन नसकिने कुरा चैं जीपीटीले आफूले सबैलाई ट्रयाक गरिरहेको कुरा कसैलाई भन्ला भन्ने हो । हामीले इन्स्टल गर्ने एप्लिकेसनहरूले हामीलाई ट्रयाक गर्ने कुरा नौलो हैन । जानी नजानी हामी permission पनि दिइरहेका हुन्छौँ । तर सिधै फोन र इमेल गरेर ट्रयाक गर्छौँ भने भने वाचकले झैं uninstall गरेर व्यापार चौपट हुन्छ होला । खैर, कथामा जताततै देखिने मानवीय प्रलयको डरको लामो वर्णन छ जुन अझै रोचक बन्न सक्थ्यो जस्तो लागिरह्यो ।

लगत्तै सञ्जय घिमिरेको “चन्द्रमा देब्रे, चन्द्रमा दाहिने” पढेँ । कविताका पङ्क्तिजस्ता छोटा वाक्य र चन्द्रमा दाहिने र देब्रे हुँदाको बिम्बले झ्याप्पै आकर्षित गर्‍यो । कथा भने कस्तो कस्तो लाग्यो । कथावाचकले १० वर्ष सम्म जसको गाडी चलाउँछ,  आरिस गर्छ । उसको उद्देश्य भनेको हाकिमलाई ड्राइभिङ सिटमा राखेर हाकिम जसरी ब्याक सिटमा बस्नु हो । इच्छा पूरा पनि हुन्छ । हाकिमले उसलाई अमेरिका बोलाएर काममा लगाइदिएर पनि लाइसेन्स परीक्षामा पटकपटक जानीजानी फेल भएपछि । जिन्दगीमा हुन सक्ने फेरबदल र irony देखाएका हुन् क्यारे कथाकारले तर धेरै नै सहज भयो कि भन्ने चैं लागिरह्यो ।

कथा सङ्ग्रहबाट पढेको पाँचौं कथा थियो, हिरा लामाको “मिटर ब्याज” । कथाकी मुख्य पात्र मैनालाई गाउँको ठालू मिटरब्याजी रत्नदासले श्रीमती नभएको मौका पारेर घरमा साँझ आउनु भनेर बोलाउँछ । ऊ रत्नदासकहाँ त्रसित र सशंकित हुँदै जान्छे । रत्नदासको एक स्पर्शपछि उसलाई विदेशिएर उतै हराएको लोग्ने मुकुन्दको अनि यौन प्यासको याद आउँछ । त्यसकै वशमा परेर रत्नदाससँग यौन सम्बन्ध राखेपछि रत्नदासले स्कूलको पिउनबाट आधारभूत कक्षाकी शिक्षिका बनाइदिन्छ ।

यो कथाले भन्न खोजेको के हो ? मैनाजस्ता लोग्ने विदेशिएका महिलाहरूमा यौनेच्छा हुनु अस्वाभाविक होइन तर आफूलाई नियन्त्रण गर्न सक्दैनन् भन्न खोजेको हो कि ? रत्नदासजस्ता परचक्रीलाई चिन्दैनन् भनेको हो कि ? सेक्सुअल फेवर्स दिएर फाइदा लिन सक्छन् भनेको हो कि ? यौनिक स्वच्छन्दता हुनुपर्छ भन्न खोजेको हो कि ? तर त्यसको परिणाम नि ?

मैनाले पछि प्रतिकार गरी वा मुकुन्दको खबर आयो अथवा स्वयम् गाउँ फर्कियो भने के होला ? धेरै दिन भएकै छैन, एकजनाले वैदेशिक रोजगारीबाट फर्किएको केही दिनमै श्रीमतीलाई मारेको । किन मारेको भन्दा “जसको लागि मैले मेरो जवानी सक्काएँ, त्यसैले धोका दिएपछि म के गरूँ ?” यस्तै लोग्ने विदेश गएका जाने अनि स्वास्नीले मोज गर्ने, सम्पत्ति नै लिएर अर्कासँग जानेजस्ता समाजमा घट्न पुगेका दुष्परिणामको बीजारोपण पो हो कि यो कथा ? प्रष्ट छैन ।

गलत कामको परिणाम पनि सही हुने अहिलेको समाजको यथार्थ देखाउन खोजिएको पो हो कि ? विद्रोह गर्नेभन्दा नगर्नेले फाइदा लिन सक्छन् भनिएको पो हो कि ? समाजमा विद्रोह नभए पनि कथामा त हुन सक्छ नि । के कलममा पनि विद्रोहको कमी हुन थालेको हो ? लेखकहरूमा नै विद्रोही भावना कमी हुन थालेको त होइन ? यी प्रश्न अहिलेसम्म पढेका र उत्कृष्ट भनिएका “मिटर ब्याज” र “असार पन्ध्र” ले मनमा उठाए ।

भोलिपल्ट अफिस जाँदा पढेको कथा “ख्याक” अहिलेसम्म मलाई सबैभन्दा मन परेको कथा हो । शारीरिक रूपले अशक्त जीवन सपनामा भने हातखुट्टा सजिलै चलाउन सक्छ । तर ऊ सपनामा कालो ख्याक बारम्बार देखिरहन्छ । डरको बिम्ब बनेको ख्याकको डरलाई उसकी आमाले हटाउन खोजिरहेकी हुन्छिन् । जुन दिन देखि ऊ ख्याकसँग डराउन छोड्छ ख्याक कालोबाट सेतो हुँदै जान्छ । उसले खोला थुनेर नाङ्गा पाखाहरू हरियाली बनाउने जुन सपना देखेको छ, त्यो पूरा गर्न मिहिनेत गर्न थाल्छ र अन्ततः सफलता हात पार्छ ।

जीवनको सपनाको दृश्यबाट सुरु भएको कथामा घरी सपना घरी विपना देखिन्छ तर अन्त्य सम्म आइपुग्दा सपना र विपनाको बीचमा कुनै अन्तर नै रहँदैन । कथा पढिसक्दा कक्षा १२ मा पढेको ग्याबृयल गार्सिया मार्खेजको भूतीया जहाजको कहानी याद आएको थियो ।

सातौं कथा “म, जल्लाद प्राणनाथ” पनि मन परेको थियो । रबर्ट जोशीले लेखेको कथामा जल्लाद प्राणनाथलाई भारतबाट बाली बोलाइएको छ कसैलाई मृत्युदण्ड दिन । जसलाई मृत्युदण्ड दिइँदैछ, ऊसँग प्राणनाथले बदलाको भावना राखेको छ । यद्यपि कथाको मूल मर्म चैं प्राणनाथ र उसकी छोरी आधीको सम्बन्ध हो । कथामा flashback को प्रयोग राम्रोसँग गरिएको छ र कतैकतै दार्शनिक पनि छ । कथाकारले फाँसी दिने जल्लादका विषयमा राम्रो अध्ययन गरेको पनि देखिन्छ । केही कुराहरू भने अधुरा र अस्पष्ट छन् । जस्तो कि, मृत्युदण्ड दिएको मानिसले कसलाई बचाउन खोजेको हो ? कथाको अन्तिममा आउने अनिशा को हो ? मृत्युदण्ड पाउने केटा र अनिशाले किन आधीलाई किन पवित्र मन भएकी भन्छन् ? यी प्रश्नहरूको जवाफ पाउनको लागि सायद फेरि फेरि पनि यो कथा पढ्नेछु ।

२०८१ को पहिलो दिनको झिसमेसेमा अन्तरपछि रमा सुवेदीको अर्को ‘म’ पढेँ । कथाको सुरुवात रहस्यमय लाग्यो । मूल कथा भने सिमोन द बुभाको “द सेकेन्ड सेक्स” बयान वरिपरि घुमेको छ । कथाकारको वा कथाका पात्रको भन्दा पनि बुभाको विचारले प्राथमिकता पाएको छ । बुक रिभ्यु जस्तो पनि लाग्यो कताकता । महिलालाई घरको काम गर्न कतिको सकस छ, उनीहरू किन बाँधिन्छन् र बन्धनबाट उम्किन के गर्न सक्छन् भन्ने सन्देशको पाटो राम्रो भए तापनि कथामा अरू कसैको नभएर कथाकै पात्रको विचार हावी भएको भए अझै सशक्त हुन्थ्यो कि ?

एक दुई अनुच्छेद टाइप गर्दागर्दै धेरै भइसकेछ । किताब पनि एक तिहाई सकिएछ । अरू कथा र समग्र कथा सङ्ग्रहका बारेमा भन्न बाँकी कुरा थुप्रै रहे । आगामी भागमा गरौंला है त ।

देश सिध्याउने दलालहरुको नाममा !

“एसियाको सबभन्दा गरीब देशको नागरिक भएकोमा बधाई छ !” फेसबुकमा देखियो । केही छिन पछि अर्को पोस्टमा भेटिएको थियो, “International Monetary Fund (IMF) ले सार्वजनिक गरेको प्रतिवेदनले नेपाललाई एसियाकै सबैभन्दा गरीब देश भनेको छ ।” IMF ले २०२३ अक्टोबरको “World Economic Outlook” निकालेको छ भन्ने कुरा गूगल सर्चबाट थाहा भयो । प्रतिवेदन सर्सर्ती हेर्दा त्यस्तो लेखिएको कतै भेटिन्न ! “Find” tool प्रयोग गरेर poor keyword खोज्दा पनि सिधै कुनै देशलाई धनी भनेकै छैन ! अलमल्ल परें । ५-६ घण्टापछि ट्विटर (सरी, X) मा FACTS ले राखेको एउटा ग्राफ भेटेँ । त्यसमा हरेक महादेशका सबभन्दा गरीब देशहरू थिए । स्रोत थियो अप्रिलको World Economic Outlook । त्यसमा पनि खोजें । खोजेको कुरा पाइनँ । फेरि गूगलमा खोज्दा चाहिँ एउटा लिङ्क भेटियो । Global Finance Magazine को त्यो पेजमा FACTS ले राखेका देशहरूको सूची थियो । त्यस पत्रिकाले IMF कै अप्रिलको प्रतिवेदनको आधारमा गरीब देशहरूको सूची तयार गरेको रहेछ । यमन र अफगनिस्तान जस्ता युद्धपीडित देशहरूलाई नराख्दा नेपाल एसियाको सबैभन्दा गरीबमध्येकै देश रहेछ । (IMF को interactive page यता हेर्नुहोला ।) हुन त गरीबीको मापन गर्न प्रयोग गरिएका index हरूमा केही समस्या छन् भनेर IMF ले नै भनेको छ तर हामी धनले त गरीब भयौँ नै, सोचले समेत दरिद्र छौँ । यसमा कुनै शङ्का नगरे हुन्छ !

यति हुँदा पनि हाम्रा शासक, प्रशासक, कर्मचारी र अलिकति पनि शक्ति हुने जोसुकैलाई भने लज्जाबोध छैन । यी र केही “जान्नेसुन्ने” मानिसहरूको तर्क कस्तो हुन्छ भने, “राजाको शासनमा कहाँ अहिले जस्तो थियो ? अहिले त्यो बेला भन्दा धेरै राम्रो छ ! जनताले बोल्न पाएका छन् ! राजाको पालामा राजदरबार नजिकका मान्छेसँग मात्रै धन थियो । अहिले जोसुकैलाई कमाउने मौका छ । त्यसैले, पहिलेभन्दा धनी छन् त जनता !”

समयको क्रमसँगै आफैं हुने परिवर्तनमै रमाउने यी वर्ग देशमा कुनै समस्या नै देख्दैनन् । समस्या नदेखे पछि समाधान गर्नै परेन ! समस्या किन देखिँदैन भने यिनको आँखामा पट्टी बाँधिएको छ–सत्ता, शक्ति र सम्पत्तिको । सत्ता, शक्ति र सम्पत्ति आर्जन मात्रै उद्देश्य भएपछि मानिस भ्रष्ट बन्छ । धर्म र कर्तव्य के हो भन्ने बिर्सिएका यिनीहरूले सहीलाई झुठ र गलतलाई सही बनाइदिन्छन् । असल मानिसहरूलाई यिनीहरू आफ्नो वशमा पार्न खोज्छन् ताकि आफूजस्तै बनाउन सकियोस् । अरूलाई दोषी देख्ने यिनका आँखाले आफूलाई भने असल देखाउन खोज्छन् । यसरी अधर्म फैलिन्छ हरेकको मनमा । मेरो देश यस्तै अधर्मीले भरिएको रहेछ । ज्ञान, विज्ञान र धर्म लत्याउने गतिछाडा दलालहरूले भरिएको देश गरीब नभए के हुन्छ ?

ए शासक, प्रशासक, कर्मचारी, व्यापारी र थोरै मात्रै पनि शक्ति पाउने वित्तिकै मैमत्त हुनेहरू ! तिमीहरूको धर्म के हो ? देशमा बनेका कानून, नीति, नियमलाई सत्कर्मका साथ पालना गरेर जनकल्याण गर्नु हैन ? देशको हित हुँदा तिमीहरूको हित हुने हैन ? सत्ता, शक्ति र सम्पत्तिको लागि जे पनि गर्ने ? अनेक सुविधा लिने अनि कसैको स्वार्थ पूरा गर्न घुस, गिफ्ट, दान लिने ? कानूनको धज्जी उडाउने अनि हास्दै हिँडने ? लाज पचाएर अझै एक अर्कालाई गाली गरेर आम जनतालाई भ्रमित पार्ने ? अनि मिलेमतो गर्न पायो भने चै जे पनि गर्ने ?

तिमीहरूले आफ्नो आत्मा त बेच्यौ नै, मान्छे पनि बेच्छौ । तिमीहरू यति मूर्ख छौ कि तिमीहरूलाई लाग्छ आफ्ना आफन्तहरू तिमीले बेचेका छैनौ । तर तिमीहरूका सन्तानहरू अहिले कहाँ छन् ? के गर्दैछन् ? तिमीहरूका साथमा छन् ? साथमा भएकाहरू कुन स्वार्थका लागि बसेका छन् ? मनैदेखि कर्तव्य वुझेर स्याहार सुसार गर्छन् ? तिमीहरूका कुरा मान्छन् ? यहाँ करोडौंको धनसम्पत्ति भए पनि तिमीहरूका सन्तान किन विदेशमा दुःख गर्न खोज्छन् ? सोचेका छौ कहिले ? सोच्ने भए गति किन छाड्थ्यौ होला र ?

ल सुन ! तिमीहरूका सन्तान तिमीसँग छैनन् किनकी उनीहरूलाई (प्रत्यक्ष नभए उनीहरूको ब्रह्मलाई थाहा छ) त्यो धन सत्यको हैन । तिमीहरू ज्ञानलाई दुत्कार्छौ, तिमीहरूका सन्तान अनैतिक बन्दै जान्छन् । तिमी विज्ञानको उपहास गर्छौ, तिमीहरूका सन्तानले यहाँ अवसर गुमाउँछन् । तिमीहरू अधर्म गर्छौ, तिमीहरूका सन्तान टाढिँदै जान्छन् । तिमीहरू दुष्कर्म गर्छौ अनि परिणाम राम्रो हुन्छ ? वर्षौं “मिहिनेत” गरेर कमाएको तिमीहरूका घरमा तिमीहरू किन एक्ला छौ ? तिम्रै कुकर्मको फल हैन ? एउटा पुस्ताले गरेको कुकर्मले आउने सन्तानहरूलाई कतिसम्म पिर्छ भन्ने त थाहा छ त तिमीहरूलाई ! महाभारत बिर्स्यौ ?

हुन त तिमीहरू महाभारत (र अरू शास्त्र) लाई फगत कहानी मान्छौ । त्यहाँ भएका सत्कर्मका उपदेश तिमीहरूलाई विष लाग्छ । तर मस्तिष्कको कुनामा कतै स्वविवेक भएको भए तिमी देख्थ्यौ कसरी इन्द्रीयलाई वशमा राख्न नसकेका शान्तनुले गर्दा उनका राजा हुन योग्य छाेरा राजा बन्न पाएनन् । राजगद्दीप्रति सधैँ वफादार हुन खोज्दा भीष्म, द्रोण र कृपाचार्यले धर्मका विरुद्ध बोल्न सकेनन् । विभिन्न पात्रका कुकर्म, द्वेष र महत्त्वाकांक्षाले भएको युद्धमा शान्तनुका सन्तान मात्रै नासिएनन्, लगभग पूरै भारतवर्षको विनाश भयो । तिमीहरू पनि एउटा सभ्यता विनाश गर्दैछौ । तिमीहरूले नपाएर मात्रै हो, पाउने भए यो देश उहिल्यै बेचिसक्थ्यौ । र त बेलाबेला भन्छौ, “नेपाल भारत, चीन, वा अरू कुनै देशमा विलय भएको भए नि हुन्थ्यो !” कुलाङ्घारहरू !

दशैंकाे बेला छ । वर्षभरिको “दुःखकाे फल” भित्र्याउने समय यही हो भन्दै सेवाग्राहीसँग खुल्लम खुल्ला रकम माग्ने सरकारी कर्मचारीदेखि दशैंका नाममा बढी पैसा उठाउने पसले, होटेल र गाडी साहुहरू सबै चोर हौ । तैपनि नैतिकता नभएका तिमीहरू खुब मजाले आशीर्वाद दिन्छौ सन्तानलाई, “ज्ञानी हुनू, ठूलो मान्छे हुनू, सबैले मान्ने हुनू !” अनि तिम्रा कर्म चै के हो ? छोराछोरीका आँखामा हेरेर आदर्शका गफ गर्न कसरी सक्छौ ? कति सम्म चैं किच्चक हौ ?

तिमीहरूलाई यहाँ कसले मान्छ ? तिमीहरूमा न ज्ञान छ न विज्ञान मान्छौ न त धर्म । जो तिमीहरूलाई नमस्ते गर्दै आउँछ नि, तिमीहरूलाई सम्मान गर्न हैन, कि त तिमीहरूबाट काम लिन आउँछ कि त बाध्यताले । जसको मुखमा एउटा अनि मनमा अर्को कुरा हुन्छ, त्यस्तो मानिसको सङ्गत गर्नु तरबारको धारमा हिँड्नु बराबर हो भनेर शास्त्रले पनि भन्छ । तिमीहरूको सङ्गत गर्यो भने साधु पनि कि त चोर बन्छ कि त शुलीमा चढ्छ ।

हुन त तिमीहरू बेलगाम घोडा हौ । तिमीहरूलाई शास्त्र व्यर्थ लाग्छ, अर्ती गाली लाग्छ, कानून, विधि र विज्ञान बोझ लाग्छ तर तिमीहरूका सन्तान त तिमीहरूलाई आफ्नै लाग्छ नि हैन ? मरेर जाँदा तिमीहरूले लाने केही हैन, सबै कुरा छोडरै जान्छौ । सुकर्म छाड्यौ भने तिम्रा सन्तान पनि खुशी हुन्छन् तर कुकर्मले तिनलाई पनि सुख दिँदैन । कमसेकम तिनका लागि त केही सत्कर्म गर !

धनभन्दा माथि देश हो अनि देशभन्दा माथि धर्म ! यति बुझ्ने यहाँ कोही देख्दिन । देश राजनीतिले खत्तम भएको हैन, कुनीति र कुनियतले हो । राजनीति भनेको त राजा (इन्द्रीय र लोकभन्दा माथि हुने) को नीति अनि नीतिको राजा हो । नीतिको जग नैतिकतामा हुन्छ जुन हामी नेपालीमा छँदै छैन । उज्वल थापाले भनेझैं एकले अर्कोलाई पाएसम्म लुट्न तयार छौं हामी । यो लुटको चक्रव्यूह तोड्न सक्ने अर्जुनलाई यहाँ युद्धभूमिबाट लखेटिन्छ । केही गरौँ भन्ने अभिमन्युजस्ता जोशिला तर अनुभव कम भएका युवाहरूलाई चक्रव्यूहमा फसाएर मारिन्छ । शकुनि र दुर्योधनको राज छ यहाँ । भीष्म र द्रोणहरू लाचार भई दुष्टहरूको साथ दिइरहेका छन् । यो सब देखेर दिक्क भएका मानिसहरू देश छोडिरहेका छन् । म तिमीहरूका सब कर्तुत निराश भएर हेर्दै भन्दै छु, “यो देश उँभो लाग्ने छाँट छैन ।”

र, यति निराश म कहिले पनि भएको थिइनँ ।

इन्टु मिन्टु लण्डनमा

लोक सेवाको परीक्षा केन्द्र राखिएको एउटा स्कूल । अलि छिटै पुगेकाले यताउता गरिरहेको थिएँ । आँप(?) को रूखमुनि उभिएर अगाडिको ब्लकतिर हेरिरहेको थिएँ । एउटी सानी (सायद कक्षा एक या दुईमा पढ्ने) केटी झ्यालमा आइन् । उनी सँगै आए तीनचार जना अरु केटीहरू । “ओहो ! आज कति धेरै कति धेरै नौला मान्छेहरू !” उनीहरू भनिरहेका थिए । जिज्ञासा पनि थियो आफूआफू बीचमा, “आज के हो ? किन आएका यी मानिसहरू?”

हामी पनि त स्कूलमा नयाँ मानिस आउँदा यस्तै कुराकानी गर्थ्यौं नि ! “को आए ? किन आए ?” जस्ता प्रश्नले मन उथलपुथल हुन्थ्यो । जवाफ नपाउन्जेल आँखा कक्षा बाहिर डुल्थे । तर बाहिर हेर्ने अनुमति कहाँ हुन्थ्यो र ? गुरु, गुरुआमाहरूले थाहा पाउनुभयो भने त सजाय पनि हुन्थ्यो । कक्षामा पढाइ नभएका बेला (लिजर)मा मात्रै बाहिर हेर्न पाइन्थ्यो । त्यो पनि डराइ डराइ !

यी साना नानीहरूको पनि लिजर पो थियो कि ? नभए त शिक्षकले बाहिर हेर्न पक्कै दिँदैनथे । उनीहरूको क्रियाकलापले भने मलाई तोत्तोचानको याद दिलायो । “सन् १९३० तिरकी जापानी तोत्तो-चानको सन् २०२० को दशकका नेपाली नानीहरूसँग के सम्बन्ध ?” एक मनले जवाफ माग्यो । अर्को मनले भन्यो, “बालसुलभ चञ्चलता त जहाँ र जहिले पनि उस्तै हुन्छ, हैन ?” मनको वादविवाद चलिरहेकै बेला परीक्षार्थी मध्येकी एक महिलाले ती बालिकाहरूतिर हेरेर हात हल्लाइन् । जवाफमा सुरुमा झ्यालबाहिर हेर्ने अग्ली केटीले हात हल्लाई । म अनायास मुस्कुराएँ । उनीहरूले भने मलाई याद गरेनन् । केही बेर पछि तिनै साना नानीहरू म उभिएको ठाउँमा हेर्न  थाले । मैले हात हल्लाएँ । उनीहरू लजाए । अघि एक अपरिचित महिलालाई सजिलै हात हल्लाएका नानीहरू अहिले एक अपरिचित पुरुषसँग भने लजाए । त्यसमा सायद डर पनि मिसिएको थियो कि ?

***

इन्टु मिन्टु लण्डनमा

हाम्रो बाबा पल्टनमा

स्कुलको पाले दाइ

पहिलो घण्टी बजाइदेऊ

टिनिनिनिनी… झ्याप्प

एकछिनपछि बच्चाहरूले गीत गाउँदै खेलेको सुनियो । नोस्टाल्जिक भइयो । यो गीतिखेल कति पुरानो हो थाहा छैन तर सानामा खेलेको याद अझै ताजा छ । सुगम पोखरेलको एउटा गीतमा पनि यो अट्यो । धेरै अघि नै बालबोलीमा बसिसकेको यो गीत अहिलेका केटाकेटी पनि यही गीत गाइरहेका छन् । केही वर्षपछि सायद मेरी छोरी पनि यो खेलमा सहभागी हुनेछिन् र सायद उनीपछिको पुस्ता पनि।

यति शक्तिशाली यो गीतिखेल कसले सुरु गर्यो होला ? कसरी फैलियो होला ? मन कल्पिन थाल्यो । कतिपय कुराहरु जीवनमा यसरी धुलिएका हुन्छन् कि तिनको सुरुवात कसरी भयो भन्ने कुरा कल्पना समेत गरिँदो रहेनछ । तर अब भने यो बालखेलको रचयिताबारे जान्न मन भयो । जान्न मन भयो इन्दु र मिन्टु को थिए ? कसरी लण्डन पुगे ? गीत गाउने बच्चाका बाबु पल्टनमा कसरी पुगे ? कुन पल्टनमा छन् अनि कहाँ लडाई गर्दैछन ? फर्किएर आउलान् कि नाउलान् ? जिउँदै आउलान् कि बाकसमा ?

मनमा आएका यी प्रश्नहरूको उत्तर भेटिएन । तर जवाफको अभावमा मन कहाँ शान्त भयो र ? यो त झनै छट्पटियो । अरू प्रश्नलाई थाती राखेर इन्दु र मिन्टु कस्ता थिए होलान् र कसरी लण्डन पुगे होलान् भनी कल्पिन थाल्यो । इन्टु मिन्टु सम्भ्रान्त वा लाहुरे परिवारमा जन्मिएका थिए कि ? कम्तीमा ४० वर्ष अघि गीत रचिएको थियो भने त्यो कालखण्डमा लण्डन जाने ल्याकत धनीमनी र बेलायती गोर्खा रेजिमेन्टमा सैनिक सेवामा भर्ती हुनेसँग मात्रै थियो । धेरै सम्पत्ति भएका तर ठूला व्यापार नभएका धेरै नेपाली परिवार बेलयात मात्रै होइन, अमेरिका, अस्ट्रेलिया र युरोपेली देशहरूप्रति आकर्षित हुने गरेको धेरै समय भइसकेको छ । उनीहरू यहाँ अवसर देख्दैनन् । अवसर भए पनि विदेशी मुद्रा साटेर आउने रकम र उताको जीवनशैलीको लालसाले गर्दा नेपालमा अडिन सक्दैनन् । पछि केही मध्यम वर्गीय परिवारका सदस्यहरू पनि यही सिको गर्दै उता पुगे । अहिले रहरले देश बस्नेको सङ्ख्या नगण्य छ ।

गीतिखेलका पात्रहरूका बाबाहरू पल्टनमा छन् । कुन पल्टनमा होलान् बाबा ? बेलायती गोर्खा पल्टनमा कि भारतको गोर्खा पल्टनमा ? सिंगापुरमा कि हङकङमा ? खाडीमा पसिना चुहाउँदै छन् कि ? कतै कुल्ली र दरबानको काम गर्दै मुस्किलले कमाइरहेका छन् कि ? गाउँघरमा पल्टने हुँ भन्दा मान बढ्ने भएकाले पल्टनमा छु भनेर ढाँटेका पो हुन् कि ? इन्टु मिन्टु जति सुरक्षित र सम्पन्न छैनन् कि ? सम्पन्न हुन पनि सक्छन् तर यी बाबाहरू सुन्दर भविष्य लागि ज्यान हत्केलामा राखेर श्रम बेच्न पुगेका पक्कै हुन् ।

हाम्रो पुस्ता केही हदसम्म “पल्टने” बाबाहरूले पालेका हुन् । तिनका छोराछोरीले पनि त्यही बाटो अँगालेका छन्। जुन सङ्ख्यामा देश छोड्नेको लर्को छ, त्यसले हामीलाई सङ्कटमा लाने निश्चित छ । तर पनि राज्य गम्भीर बनेको छैन। हुन त उसले जनतालाई विदेशमा बेच्ने नीति लिएको छ । उसका कान बन्द छन् । सुन्न तयार छैन युवा पुस्ताको क्रन्दन । युवा पुस्ता सरकारी सेवा प्रति पनि आक्रोशित छन् अनि निजी संस्थामा हुने श्रम शोषणले गलेका छन् । केही युवाहरू सरकारी जागिरको चौतारीमा आराम खोजिरहेका छन् । म आफैँ पनि त्यस्तो चौतारी खोज्दैछु । खोज सफल हुन्छ हुँदैन थाहा छैन तर यसले पनि सन्तुष्ट बनाउला जस्तो लाग्दैन । राजनीति र प्रशासनमा युवाहरूको दह्रो हस्तक्षेप नभई अहिलेको अवस्था परिवर्तन हुन सक्दैन । यद्यपि, नवपुस्तामा भरिएको निराशा समाधान नहुने हो कि भन्ने डर छ । यो अन्तत: देशका लागि नै घातक हुन सक्छ । यो अन्धकारको अवस्थाबाट उज्यालोतर्फ लाने शक्ति युवाहरूमै छ । हामीहरू संयमित, इमान्दार र लगनशील हुन चाहिँ आवश्यक छ ।

२०८०/०१/२५

पुस्तक समीक्षा : बहत्तर सालको भूकम्प

यूरेसियन र इन्डियन टेक्टोनिक प्लेटहरूको टकराव पछि बनेको हिमालय पर्वतमा अवस्थित नेपाल भूकम्पीय दृष्टिकोणले जोखिममा रहेको क्षेत्र हो । भूकम्पको विषयमा ऐतिहासिक दस्तावेज चाहिं सन् १२५५ देखि भेटिएको छ । त्यस भूकम्पका कारण काठमाडौं उपत्यका (तत्कालीन नेपाल) राजा अभय मल्ल सहित एक तिहाइ जनसंख्याको मृत्यु भएको थियो । हाल सन् १३४४, १५०५, १८३३ का भूकम्पका विषयमा केही जानकारी हात लागेको छ । वि. सं. १९९२ मा मेजर जनरल ब्रह्म शमशेरले लेखेको “नेपालको महाभूकम्प १९९०” त्यस सम्बन्धी महत्त्वपूर्ण पुस्तक हो । उनले नेपालमा सिस्मोग्राफ नभएका कारण वैज्ञानिक अध्ययन हुन नसकेको र त्यस बिहारलाई केन्द्रविन्दु मानिए पनि अरू ठाउँमा हुन सक्ने अनुमान गरेका थिए । पछिल्ला अध्ययनले नेपालको पूर्वी पहाड (सगरमाथाबाट करीब १० कि. मि. दक्षिण) लाई केन्द्रविन्दुका रूपमा स्थापित गरेका छन् । त्यसैगरी वि. सं. २०४५ मा उदयपुर केन्द्रविन्दु बनाई गएको भूकम्पपश्चात् गरिएका उद्दार र पुनर्निर्माणका विषयमा सरकारी दस्तावेजहरू पाउन सकिन्छ । त्यही भूकम्पपछि नेपलमा भवन निर्माण संहिताको समेत निर्माण भएको रहेछ ।

नेपालमा ठूलो भूकम्प जाने र त्यसले जिउधनको धेरै क्षति गर्ने पूर्वानुमानहरू आइरहेकै थिए । खासगरी काठमाडौं पश्चिममा उद्गम हुने महाभूकम्पको सम्भावनाका विषयमा अध्ययन भइरहेकै समयमा २०७२ वैशाख १२ गते बिहान ११ : ५६ मा गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाई ७.६ लोकल म्यागनिट्युड (७.८ मोमेन्ट म्यागनिट्युड) को भूकम्प गयो । भूकम्पका कारण ८,९७० को मृत्यु भयो भने २२,३०२ जना घाइते भए । भूकम्प ठ्याक्कै यही मिति र समयमा जान्छ भन्ने पूर्वानुमान गर्न नसकिने भएकाले यसको पूर्वतयारी गर्दा जुनसुकै समयमा जान सक्छ भनेर तयार रहनुपर्छ । तर तत्कालीन प्रधानमन्त्री सुशील कोइराला विदेशमा भएका कारण देखाउँदै उद्धार कार्यमा केही ढिलाई भयो । कुन संयन्त्रले के गर्ने भन्ने कुरा पहिल्यै व्यवस्थित भएको भए अन्योल हुने थिएन ।

यही भूकम्पको वैज्ञानिक पक्ष, राहत र उद्दार एवम् पुनर्निर्माणका विषयमा लेखिएको पुस्तक हो–“बहत्तर सालको भूकम्प” । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका सदस्य रहिसक्नु भएका प्रा. डा. तारानिधि भट्टराई, प्रा. डा. निमानन्द रिजाल, र डा. किशोर थापाले लेख्नुभएको पुस्तकलाई एक आधिकारिक दस्तावेजका रूपमा लिन सकिन्छ ।

पुस्तकको सुरुका तीन अध्याय भूगर्भ र भूकम्पका विद्यार्थीका लागि उपयोगी छन् । यो खण्ड पढ्दा प्रा. डा. तारानिधि भट्टराईले कक्षामा पढाउनुभएका कुराहरू सम्झँदै उहाँकै बोल्ने शैलीमा पढेँ । विश्वविद्यालयमा अंग्रेजीमा पढेका कुरा नेपालीमा पढ्दा अनौठो लागेपनि अंग्रेजीमा पढ्दा भन्दा अझै प्रष्टसँग बुझियो । विश्वविद्यालयको परीक्षा नेपालीमा हुनुपर्छ भन्ने मेरो विचार झनै दरिलो भयो । भूगर्भ र भूकम्पशास्त्र नपढेका पाठकलाई भने केही समस्या हुन सक्छ । जस्तो कि, प्राइमरी वेभ, सेकेण्डरी वेभ र टाइम सिरिज (पृष्ठ ५४) को बारेमा थाहा नभएका पाठकको सहजताका लागि तिनलाई चिनाउने गरी चित्रहरू राखिएको भए हुन्थ्यो । त्यसैगरी, Modified Mercalli र EMS-98 intensity scale का बारेमा नाम मात्र दिइएको छ । ती तालिकाहरू अनुसूचीमा समेटिएको भए अझै प्रष्ट बुझिन्थ्यो ।

नेपालमा भूकम्पपछि गरिएका उद्धार र राहत एवम् पुनर्निर्माणका विषय पुस्तकमा समेटिएको छ । पुनर्निर्माणका क्रममा आएका समस्या र तिनलाई कसरी समाधान गरियो भन्ने कुराहरू यसमा आएका छन् । तथापि सबै समस्याका समाधान नभइसकेको अवस्था छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएपश्चात् विपद व्यवस्थापन चक्र अन्तर्गत पर्ने विपदअघिको पूर्वानुमान र पूर्वतयारी तथा विपदपछिको उद्धार, राहत र पुनर्निर्माणलाई समेट्ने प्रयास भएको छ । यस सन्दर्भमा “बहत्तर सालको भूकम्प” विषय विज्ञद्वारा लेखिएको विपद व्यवस्थापनसँग सरोकार राख्ने वैज्ञानिक, प्रशासक र तीनै तहका सरकारका प्रतिनिधिहरूले पढ्ने पर्ने किताब हो ।

पुस्तक: बहत्तर सालको भूकम्प

लेखक: प्रा. डा. तारानिधि भट्टराई, प्रा. डा. निमानन्द रिजाल, डा. किशोर थापा

पृष्ठ: ४०६

प्रकाशक: नेपा~लय

लोकतन्त्र : केही आशा, धेरै आशंका

बिहानीले दिनको संकेत गर्छ भन्छन् । मङ्सिर ४ को चुनावमा तेस्रो भएको पार्टीका नेता जुन राजनीतिक दाउपेचको आडमा प्रधानमन्त्री बने अनि त्यसको रमिते मतदाता हुनुपर्यो, यो राम्रो बिहानीको संकेत हुँदै हैन । नेपाली कांग्रेसले ८९ सिट जितेको थियो । उसले प्रत्यक्ष तर्फ सदर मतको २५.७१% र समानुपातिकमा २३.१९% मत पाएको छ । जम्मा ७८ सिट जितेको नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिकमा क्रमशः २६.९५% र ३०.८३% मत पाएको छ । तर सरकारको नेतृत्व गरेको छ प्रत्यक्षमा ११.१३% र समानुपातिकमा ९.३७% मत ल्याएको नेकपा माओवादी केन्द्रले !

Photo by Element5 Digital on Pexels.com

दुई वर्षअघि एमाले र माके एक थिए र नेकपा कहलाइन्थे । त्यो बेला आलोपालो प्रधानमन्त्री हुनुपर्छ भन्न थालेपछि एमालेका नेताले पार्टी फुटाइदिएका थिए । माकेका नेताले एक्लै नजित्ने संकेत पाएपछि चुनावमा कांग्रेसलाई बुई बोक्न लगाए । जब गन्तब्य आइपुग्यो, बुई बोक्नेलाई लात्ती हान्दै फेरि एमालेका नेतासँग मिल्न गए । एकले अर्कोलाई सत्तो सराप गर्ने तिनीहरू अहिले फेरि ‘लङ्गौटिया यार’ बनेका छन् । लात्ती खाने दलका नेताले पनि आफ्नो स्वार्थका लागि लात्ती हान्नेकै पाउ मोल्न गए, विश्वासको मत दिंदै ।

सत्तामा पुग्नको लागि जे पनि गर्ने यिनीहरूको नक्कचरो पाराले आजित भएका नेपालीहरू विकल्पहरू खोजिरहेका थिए / छन् । केही पार्टीहरू चुनावमा उदाए पनि । तर अरूभन्दा फरक हुन्छौं भन्ने उनीहरू सत्ताको तर मार्न व्यस्त छन् । २० सिट जितेको रास्वपाका सभापति गृहमन्त्री बने । नागरिकताको विषयमा अन्तिम निर्णय दिने गृहमन्त्रीको नै नागरिकता विवादमा छ र अदालतले मुद्दा हेरिरहेको छ । “अदालतमा मुद्दा चलिरहेकाले नबोलेका” पार्टीका नेताहरूमा पनि सत्ता र शक्तिकै आसक्ति देखिरहेको छु । यद्यपि मौका पाएको बेला केही सुधार गर्छन् कि भन्ने झिनो आशा छ ।

अहिलेको मन्त्रिपरिषद् यस्तो खिचडी बनेको छ कि के भन्ने ? गणतन्त्रवादीदेखि राजावादीसम्म अनि संघीयताका पृष्ठपोषकदेखि विरोधीसम्म सबैले मौका पाएका छन् । सायद समावेशीकरण भनेको यही होला । जे होस्, राज्य समावेशी बनाउनुपर्छ भनेर वकालत गर्ने पार्टीले नेतृत्व लिएको सरकार समाबेशी देखिएको छैन । गरीब, दलित र सीमान्तकृतलाई जति नै उत्थान गर्नुपर्छ भने पनि यो प्रणाली उनीहरूको पहुँचमा छैन ।

उसो त राजनीति सीमित व्यक्ति र पार्टीहरूकै नियन्त्रणमा छ । उनीहरू हामीलाई भोट हाल्न लगाउँछन् मीठा सपना देखाउँदै । अनि हामी मत हालिदिन्छौं । हुन त हामीसँग उपाय पनि छैन । न हामी कसैलाई भोट नहाल्ने भनेर मतपत्रमै छाप हान्न पाउछौं न त छानिएका प्रतिनिधिको काम चित्त नबुझ्दा तिनलाई फिर्ता बोलाउनै सक्छौँ । नेताहरू मैमत्त साँढेजस्ता बन्छन् अनि हामी चैं बाली खाएको देख्दादेख्दै पनि धपाउन नसकेर आफूले आफैंलाई सराप्छौँ । यति नै त होला नि हामीले पाउने लोकतन्त्र !

Save Tri-Chandra

Chandra Shamsher Jung Bahadur Rana inaugurated the Tribhuvan-Chandra (now called Tri-Chandra) College in 1918. After the inauguration, he supposedly said, “I dug a grave for the Ranas with my own hands.” What caused the downfall of the Ranas–the college or his division of Ranas into three classes–might have been debated by historians. What this statement shows, however, is the attitude of the rulers towards this educational institute.

Tri-Chandra has been ill for a long time. When I had written a poem, titled Shatabdi (Century), the condition of the original building (Ghantaghar) was already bad. The walls were rotting, peepal had sprouted in the cracks, and roofs were leaking. I used to call it a Ghost House. After the earthquake of April 2015, the laboratories of the Department of Geology had been shut down. Since then, the practicals have never been regular. The southern section of the building closer to the Jame Masjid collapsed last year. Ironically, the building which produces geologists who study earthquake and earthquake resistance technology has suffered such a fate!

Tri-Chandra College has always been a torch-bearer in Nepalese politics. The vicinity of Narayanhiti Palace and Singha Durbar as well as other centers of power may be one of the reasons. However, the impact of this college on politics was predicted by Chandra Shamsher himself. Tri-Chandra’s students have been part of movements that toppled the Ranas, the Panchayat, and the Shah dynasty. From talents and visionaries like Mahakavi Laxmi Prasad Devkota, Bal Krishna Sam, Dayananda Bajracharya, and so on to the present PM Sher Bahadur Deuba and popular leader Gagan Thapa (who are not doing that great, by the way), Tri-Chandra College has produced many personalities in the past.

The curse that has dragged Tri-Chandra College into this abyss is perhaps politics itself. The ones who used Tri-Chandra as ladders to gain power, probably don’t want the youth to come up. Perhaps, they see the rise of college as a grave to their political careers. If not so, why haven’t they done anything since the earthquake?

Some students somehow got united and conducted a march demanding to save Tri-Chandra. It touched me. How could I forget about the institute where I studied for four years? Why did I stop writing blogs about the state of the college? Why didn’t I join #SaveTriChandra campaign earlier?

I don’t know who is responsible for improving the condition of the college. I don’t know if the college, university, or the government should work towards saving the college. What I do know is that the current students and the alumni all can help the college. A lot of us can provide financial and technical support. If not, we can at least raise our voices. Let’s do something, please! Let’s save Tri-Chandra!

***You can read the Nepali version here.***

त्रि-चन्द्र

घण्टाघरपट्टिको त्रि-चन्द्र कलेजको भवन । पाँच वर्षअघि गुगलमा सर्च गर्दा भेटिएको यो फोटोमा कलेजको नाम मेटिएको छ ।

वि.सं. १९७५ भदौ १२ गते चन्द्र समशेरले त्रिभुवन-चन्द्र कलेजको उद्घाटन गरेका थिए । चन्द्र समशेरले “कलेज खोलेर मैले राणा शासनको चिहान खनेँ” भनेका थिए रे । राणा शासनको चिहान कलेजले खन्यो या उनी आफैंले लागू गरेको क्लास (राणाहरूको वर्गीकरण) ले भन्ने विश्लेषण इतिहासविद्हरूले गरेका होलान् तर (उच्च) शिक्षालाई समस्याका रूपमा देख्ने शासकहरूको दृष्टिकोण यसले प्रष्ट देखाउँछ ।

त्रि-चन्द्र कलेज बिरामी भएको धेरै भइसक्यो । पाँच वर्षअघि शताब्दी कविता लेख्दा नै घण्टाघरपट्टिको पुरानो बिल्डिंगको स्थिति खराब थियो । भित्ताहरू उप्किरहेका थिए, ठाउँठाउँमा पीपल उम्रेको थियो, छत चुहिन थालेको थियो । म आफैँ “यो त भूतघरजस्तो देखिन्छ” भनिरहन्थें साथीहरूसँग । भूकम्पपछि भूर्गभशास्त्रको प्रयोगशाला बन्द भएको थियो । अझसम्म प्रयोगात्मक कक्षा राम्रोसँग संचालन भएका छैनन् । मस्जिदपट्टिको खण्ड पहिले नै जीर्ण थियो । अहिले भत्किएको छ । भूकम्पको बारेमा पढ्ने पढाउने, इन्जिनियरिङ संरचना भूकम्प थेग्न सक्ने हुनुपर्छ भन्ने विज्ञहरू भएकै ठाउँमा सात वर्षसम्म पनि सुधार नहुनु ठूलो विडम्बना हो । वैज्ञानिक र विज्ञलाई त्यसै त नपत्याइने हाम्रो समाजमा यसले दिने नकारात्मक सन्देशका बारेमा भनिरहनु नपर्ला ।

त्रि-चन्द्र कलेज सधैं राजनीतिको केन्द्रमा रहँदै आएको छ । राजदरबार र सिंहदारबार नजिकै भएकाले पनि होला । तर यो कलेजले राजनीतिमा खेल्न सक्ने भूमिका चन्द्र समशेरले नै अनुमान गरेको देखिन्छ । राणाविरोधी आन्दोलनदेखि गणतन्त्रको आवाजसम्म त्रि-चन्द्र कलेजका विद्यार्थीको भूमिका छ । “यी राजनीतिक परिवर्तनले समाजलाई के फाइदा भयो र ?” भन्नुहुन्छ भने यसरी प्रश्न सोध्ने अधिकार दिलाउने आन्दोलन यिनै हुन् ।

तर राजनीती नै त्रि-चन्द्र कलेजको अभिशाप हो । यही कलेजमा प्रजातन्त्र, गणतन्त्र र स्वतन्त्रताका आवाज उठाउँदै सत्तामा पुगेकाहरू सायद अब त्यस्तो आवाज दबाउन चाहन्छन् । त्रि-चन्द्रको उत्थानमा आफ्नो राजनीतिको चिहान देख्छन् सायद उनीहरू । नत्र सात वर्षसम्म शिक्षा र राजनीतिको बनेको ठाउँ किन बेवास्तामा पर्‍थ्यो ?

त्रि-चन्द्र बचाउनका लागि फेरि पनि विद्यार्थीहरू सडकमा उत्रनु पर्‍यो । यसले बेस्सरी पोल्यो मलाई । यतिका वर्ष आफूले शिक्षा लिएको ठाउँ कसरी बिर्सेँ ? लेखहरू लेख्न किन छाडेँ ? #SaveTrichandra अभियानमा स्वर मिलाउन किन सकिनँ ?

यो कलेज सरकारको दायित्वमा पर्छ या विश्वविद्यालयको दायित्वमा पर्छ थाहा छैन । तर यसप्रति विद्यार्थीको दायित्व पक्का छ । पैसा उठाएर हुन्छ कि प्राविधिक सहयोग गरेर हुन्छ वा नेताहरूलाई निद्राबाट ब्युझाएर हुन्छ, लौ न केही गरौँ ! शिक्षाको ऐतिहासिक धरोहरलाई मासिन रोकौं । केही त गरौं !

***You can read the English version of this article here.***

सडकपेटी, बटुवा र व्यापार

यो साता सडकपेटीको व्यापारले समाचारमा ठूलै ठाउँ पायो । ठेलामा मकै बेच्ने एक दम्पतिको ठेला महानगर प्रहरीले लगेको दृश्य कसैले सामाजिक सञ्जालमा हालेपछि तीन धारका प्रतिक्रिया देखापरे । यस लेखमा ती तीन धारका चर्चा गर्दै भविष्यका सम्भावित परिदृश्य प्रस्तुत गर्छु ।

तीन धारका प्रतिक्रिया

१. महानगरले दु:खी गरीबलाई झनै दु:ख दियो

नगर प्रहरीले जबर्जस्ती मकै पोल्दापोल्दैको ठेला लगेको दृश्य हेर्दा मेरो मनमा झट्ट आएको प्रतिक्रिया यही थियो । दम्पतीको आक्रोश र रुवाइ मनमा बिझ्यो । महानगरले गल्ती नै गरेको हो भन्ने मनमा आयो । “यही हो त नयाँ सोच लिएर आएका मेयरको काम ?” भन्ने प्रतिक्रियाका पछि लागेर मनमनै बालेन शाहलाई गाली पनि गरेँ ।

२. महानगरले जे गर्यो ठीक गर्‍यो

भिडियो हेरेको केही घण्टा बितिसकेपछि आएको यो तर्कअनुसार महानगरको सुन्दरता र स्वास्थ्यलाई ठेला गाडा व्यपारले बिगारेको छ । नियममा बाँधिनु नपर्ने, करको दायरामा नआउने, फुटपाथ कब्जा गर्ने कथित व्यापारीप्रति सहानुभूति जनाउनु बेकार हो । यो तर्क कानूनी र नीतिगत रूपमा ठीक होला तर व्यावहारिक नभए झैं लाग्यो । झन् रिस उठ्यो ।

३. सडकमा गरिने व्यापारलाई स्थान र समय छुट्याएर व्यवस्थित गर्न सकिन्छ

सडक व्यापार संसारभर मानिसहरूले गर्छन् । सरकार/नगरले ठाउँ र समय छुट्याउँछ । त्यहीअनुसार व्यापारीहरू आफ्ना मालसामान विक्री गर्छन् । व्यापार करको दायरामा पर्ने हुनाले अर्थतन्त्रको हिस्सा हुन्छ । अरू देशबाट समेत स्ट्रीट फुड र स्ट्रीट प्रोडक्टका चाख्न, किन्नका लागि पर्यटकहरू जान्छन् । यो प्रतिक्रिया अरूभन्दा चित्त बुझ्यो तर कुन ठाउँ र समय दिने भन्ने समस्या आउँछ । प्रशासनिक र व्यवस्थापकीय कमजोरीका कारण भनेजस्तो सजिलो होला त ? भन्ने प्रश्न उब्जियो ।

भविष्यमा के होला ?

१. कतिपय कुराहरूजस्तै यो पनि केही दिनको लागि मात्रै मसाला बन्ला । समय बित्दै गएपछि र नयाँ मुद्दा आएपछि यो विषय यत्तिकै सेलाउला ।

२. कुनै व्यक्तिलाई देवत्वकरण गर्ने अनि साना गल्ती हुँदा दानवीकरण गर्ने नेपालीको समस्या नै भइसक्यो । बालेन शाहलाई चुनाव जित्दैमा देउताजस्तो पुज्नु जरुरी थिएन । कानून कार्यान्वयन गराउन खोज्दा दानव बनाउनुपर्ने पनि छैन । पुरानो शैली नदोहोरियोस् भन्ने कामना गर्नेहरूले उचित सल्लाह र बहस गर्दा राम्रै निष्कर्ष आउला । उचाल्ने र पछार्नेदेखि बालेन शाह सजग हुनुपर्ने देखिन्छ । सफल हुनका लागि उनले सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

३. हिजो साँझ घरछेउमा ठेला गुडाउँदै, मकै पोल्दै एकजना दिदी आउनुभयो । तीस रूपैयाँ तिरेर एक घोगा मकै खाइयो । यसो सोच्दा सामाजिक सञ्जाल र समाज फरक हुन् भन्ने लाग्यो । सामाजिक सञ्जालमा मानिसहरू पक्ष र विपक्षमा बहस गर्छन् तर समाज फरक छ । समस्याका समाधान कतै बीचमा छन् ।

४. मिहिनेत गरेर खाने मान्छेले मिहिनेत गर्न पाउने वातावरण हुनुपर्छ । कानून लागू गर्छु भनेर मात्रै पनि हुँदैन । कानूनले सबैलाई सहुलियत दिनुपर्छ । प्रत्येक वडामा रहेका खाली ठाउँ वा पार्कका सीमित क्षेत्रमा सीमित सङ्ख्यामा व्यापार गर्न दिने व्यवस्था गर्न सकिन्छ । फोहोर व्यवस्थापन लगायतका समस्या आउलान् तर समस्या समाधान गर्ने उपाय खोज्न सकिन्छ ।

५. सडकमा धेरै बिक्छ भनेर पसल भएका मानिसहरू पनि पेटी मिचेर व्यापार गरिरहेका देखिन्छन् । तिनलाई कानूनअनुसार कारबाही हुनैपर्छ ।

अन्त्यमा, सडक व्यापार व्यवस्थापन गर्न भृकुटीमण्डपमा ठाउँ दिँदा शहर कुरुप देखियो भन्ने तर्क पनि देखियो कतै । झट्ट हेर्दा ठीकै हो । तर त्यसलाई व्यवस्थित बनाउनै नसकिने हो र ? त्रिपाल हटाएर विभिन्न संस्कृति जनाउने स्थायी संरचना बनाउँदा पर्यटनलाई दिगो फाइदा नै होला । अरू देशमा गरिएका राम्रा कामहरूको अनुकरण गर्न अझै सकेका छैनौ हामीले । सबैलाई फाइदा हुने काम गर्न नेतृत्व तह तयार हुनैपर्छ ।

के नेपालीको दलीय सोच तोडिएला ?

वैशाख ३० गते स्थानीय तहको निर्वाचन आउन दुई दिन बाँकी थियो । घरमा कसलाई भोट हाल्ने भन्ने विषयमा छलफल हुँदै थियो । “भोट किन हाल्ने ?” मैले सोधेँ । “वडा समितिका अध्यक्ष र सदस्य बन्न कै लागि ठूला (भ्रष्ट) नेताको अघिपछि लाग्ने अनि आम नागरिकका टोलमा पनि नआउने उम्मेदवारलाई किन जिताउने ?”

बाबाले सम्झाउन खोज्नुभयो । “एकदुई जनाले भोट नहालेर के हुन्छ ? एकजनाले बढी भोट हाल्यो भने पनि कुनै एउटाले जितिहाल्छ । यति पर्सेन्ट ल्याउनैपर्ने भन्ने बाध्यता पनि छैन ।”

“त्यसो भए खराबमध्येबाट मात्रै छान्नुपर्ने हो त ? राम्रा उम्मेदवार दिन सक्दैनन् दलहरूले ?”

“दिँदैनन् ।”

“अनि किन भोट हाल्ने त ?” मलाई चित्त बुझ्दै बुझेन । “अनि चुनावअघि त यस्तो घमण्ड गर्छन् । चुनाव जितेको भोलिपल्ट देखि के होला ?”

प्रमुख पदका एक उम्मेदवारको रवैया मन परिरहेको थिएन । प्रष्ट विरोध गरेँ । “बालेन शाहले राम्रा र गर्न सकिने योजनाहरू ल्याएका छन् । इन्जिनियर हुन् । प्राविधिक ज्ञान पनि छ । एकचोटि मौका दिऊँ न ।”

तर पार्टीमा सक्रिय रहनु भएका मेरा परिवारका सदस्यहरूले आफ्नो दलबाट आएका उम्मेदवार बाहेक विकल्प नै देख्नुभएन । स्वतन्त्र उम्मेद्वारले जिते पनि वडाध्यक्षहरू पार्टीबाट आउछन् । केही गर्न सक्दैन । जित्न सक्नेलाई नै भोट दिनुपर्छ । ‘हुन त पार्टी बाहेकका मान्छेलाई टिक्न निदिएको जताततै देखेको हो तर एउटा मौका दिँदा त हुन्थ्यो होला । अनि मौका दिए त जसले पनि जित्न सक्छ नि !’ मनमनै भनेँ । चुनावको नतिजा जे भए पनि स्वतन्त्र विचारलाई समर्थन गर्ने निर्णय गरेँ ।

जे सुकै होला भन्दै भोट हालेको, बालेन शाहले जिते । मतगणना सुरु भएको ५ दिनसम्म त उनले जित्छन् जस्तो लागेकै थिएन मलाई त । काठमाडौं महानगरपालिका बाहेक धरान, धनगढी र जनकपुर उपमहानगरहरूमा पनि स्वतन्त्र रूपमा उठेका व्यक्तिहरूले चुनाव जिते । कुनै एउटा पार्टीको गढ भनेर चिनिएका धेरै ठाउँहरूमा अर्कै पार्टी वा व्यक्ति विजयी भए । स्थानीय निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली छ जसको भरपुर उपयोग पार्टीगत राजनीतिबाट आजित भएका आम नागरिकले गरे ।

लोकतन्त्रमा दलहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । हाम्रो त संविधानले नै “बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र”लाई आत्मसात् गरेको छ । त्यति मात्र हैन, समानुपातिक निर्वाचन प्रणालीले दलविहीनतालाई अस्वीकार गरिदिएको छ । यस्तोमा नेपालीहरूमा दलीय सोच हुनु अस्वाभाविक हैन । तर आफ्नो पार्टी सधैँ ठीक, सधैँ राम्रो भन्ने जुन तरिकाको सोच छ, त्यो परिवर्तन हुन जरुरी छ ।

आफ्नो स्वार्थ हेरेर कुनै राजनीतिक दलको आड लिने मानिसहरू धेरै सङ्ख्यामा छन् । उनीहरू न ती राजनीतिक दलका सिद्धान्त बुझ्छन्, न त नीति अनुसार चल्छन् । लाखौं रूपैयाँ “नेता”हरूका खल्तीमा भरिदिने हो पनि जोसुकै त्यो पार्टीको खुङ्खार नेता भनेर चिनिन्छ । यस्तो विचलनले पार्टीका इमानदार कार्यकर्ताको चित्त दुखाएको छ । यसको परिणाम चुनावमै देखिएको छ । टाउकेहरू अझै पनि अन्तर्घात र धाँधली भनिरहेका छन् । आफ्ना गल्ती सुधार्ने कुनै सोच देखिँदैन उनीहरूमा ।

यस्तोमा पार्टीका “नेता” भनाउँदालाई लाइनमा ल्याउने काम कार्यकर्ताको हो तर उनीहरू पनि आफ्नै स्वार्थमा अल्मलिएका छ्न् । नेतृत्व तह असहमति सहन सकिरहेको छैन । हरेक सिद्धान्त त प्रक्रियाको निर्मम समीक्षा हुनुपर्छ भन्नेहरू नै विरोधका मसिना स्वरहरूदेखि झस्केका जस्ता देखिन्छन् । यस्तो वाक्क लाग्दो राजनीतिको विकल्प केही ठाउँमा युवापुस्ताले खोज्न थालेको देखिन्छ ।

यद्यपि धेरै ठाउँमा सशक्त इमानदार विकल्प छैनन् । संघ र प्रदेशमा संसदीय व्यवस्था भएकाले राजनीतिक दलको विकल्प पनि राजनीतिक दल नै हुन् । कि त नयाँ इमानदार दल आउनुपर्‍यो कि त अहिलेका बेइमान दलहरू सुध्रिनुपर्‍यो । देश हाँक्ने मौका पाएका नेता र तिनका दलको त सुध्रिने छाँट छैन । पहिले इमानदार राजनीति गर्ने भनेर खुलेका पार्टी पनि कुर्सीकै राजनीति गर्न अग्रसर भएको देखिएकाले गर्दा नयाँ पार्टीहरूमा झट्ट विश्वास गर्ने अवस्था देखिएको छैन । कोभिड दौरान देखिएको “Enough is Enough” आन्दोलन संस्थागत गर्न चुकेकाले त्यस आन्दोलनको नेतृत्व पनि सशक्त हुने कुरामा शङ्कै छ । तथापि, पहिलेभन्दा फरक गर्न सक्ने मौका भने उनीहरूमा छ ।

नेपालमा अहिलेको जस्तो दलीय सोच हट्ला त ? असम्भव जस्तै देखिन्छ । तर दलमा आवद्ध भए पनि नभए पनि काम गर्न सक्ने मानिस छान्न भने नागरिकले चाहेको देखिन्छ । कुनै वादभन्दा पनि असहज परिस्थितिमा समेत भरोसा गर्न सक्ने नेतृत्व नागरिकले खोजेका छन् । खोजेजस्ता नेताहरू भेट्न गाह्रो होला तर केही प्रयास यही नै रहनेछ ।

कलाकारको सम्मान र सम्पदा संरक्षणमा उदासीनता

एकाबिहानै एउटा समाचारमा आँखा पर्‍यो । मनमा चस्स बिझायो । स्वर सम्राट नारायण गोपालको घर सङ्कटमा रहेछ । समाचारमा लेखिएको रहेछ–देवकोटाको घर पुनःनिर्माण हुन लागे पनि स्वर सम्राट नारायण गोपालको घर वेवास्तामा परेको छ । देवकोटाको घर पनि संरक्षण गरिएको चैं हैन । पूरै भत्काएर गरिएको पुनःनिर्माण हो । नयाँ बनाइएको घरमा पुरानो जत्तिको महत्व नहोला । वास्तवमा, हामीले सम्मान गर्दै आएका साहित्यकार र कलाकारका अमूल्य सम्पत्तिको रक्षा हामीले गर्नै सकेका छैनौँ ।

हामी साहित्य र कलालाई सम्मान गर्नै जान्दैनौँ । प्राचीन र मध्यकालीन कलाकार (मूर्तिकार, चित्रकार, वास्तुकलाविद्, साहित्यकार) हरू को सूची हामीसँग छैन । एकजना अरनिको प्रसिद्ध छन् मूर्तिकला र वास्तुकलामा, त्यो पनि चीन गएर सम्मानित भएकाले । सानै उमेरमा चीन जाने टोलीको नेतृत्व गर्ने अरनिकोले नेपालमा सिर्जना गरेका कलाहरू केके हुन् ? अरनिकोको वास्तविक नाम र ठेगानाका बारेमा पनि अझै अन्जान छु । अध्ययन भएको होला तर कुनै पाठ्यक्रममा पढ्ने मौका पाएको छैन । विदेशमा ख्याति नपाएसम्म आजपनि राज्यले चिन्दैन । परम्परा किन छोड्नु, हैन ?

मल्लकालका केही साहित्य र साहित्यकारका नाम सामान्य ज्ञानका किताबमा भेटिन्छ । त्यसबेलाका राजाहरू नै साहित्यकार ! पढ्ने लेख्ने राजाहरू मात्रै भएर हो कि ? जसले लेखेपनि ती महत्त्वपूर्ण ग्रन्थहरू र तिनमा के छ्न् भन्ने कुरा विद्यालयदेखि नै पढाइनु पर्ने हो । तर पाठ्यक्रम निर्माण गर्नेहरू आफ्ना कमसल लेखहरू पाठ्यक्रममा राख्न तत्पर छन् ।

आधुनिक नेपालमा (पहिले पर्वते या खसकुरा भनिने) नेपालीलाई केन्द्रविन्दुमा राखियो । सुवानन्द दासले लेखेको “पृथ्वीनारायण” काव्य नेपालीको पहिलो साहित्य भनेर घोकेको छु तर त्यसमा ठ्याक्कै के छ थाहा छैन । मोतीराम भट्टले नभेटेका भए भानुभक्त आचार्यलाई कतै गुमनाम हुने थिए । महत्त्व दिइएको भाषाका साहित्य पनि संरक्षित छैनन् । नेपाल भाषा, मैथिली, अवधी, तामाङ, किराँती लगायतका भाषा र जनजातिका साहित्य संरक्षण हुने कुरै भएन ।

सरकार त उदासीन भयो भयो, हाम्रा केही साहित्यकारहरू क्रान्तिकारी बन्ने नाममा इतिहासको संरक्षण नगरे पनि हुन्छ भन्ने विचार राख्छ्न् । देवकोटाको घर भत्काइएको विषयमा एकजना “लेखक”ले त्यो घर जोगाइयोस् या भत्काइयोस् मतलब भएन भन्ने आशयको ट्विट गरेपछि एउटा लेख नै लेखेको थिएँ । नारायण गोपालको घरको संरक्षण गर्ने विषयमा पनि उनको विचार जान्न मन लागेको छ ।