बिहानीले दिनको संकेत गर्छ भन्छन् । मङ्सिर ४ को चुनावमा तेस्रो भएको पार्टीका नेता जुन राजनीतिक दाउपेचको आडमा प्रधानमन्त्री बने अनि त्यसको रमिते मतदाता हुनुपर्यो, यो राम्रो बिहानीको संकेत हुँदै हैन । नेपाली कांग्रेसले ८९ सिट जितेको थियो । उसले प्रत्यक्ष तर्फ सदर मतको २५.७१% र समानुपातिकमा २३.१९% मत पाएको छ । जम्मा ७८ सिट जितेको नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिकमा क्रमशः २६.९५% र ३०.८३% मत पाएको छ । तर सरकारको नेतृत्व गरेको छ प्रत्यक्षमा ११.१३% र समानुपातिकमा ९.३७% मत ल्याएको नेकपा माओवादी केन्द्रले !

दुई वर्षअघि एमाले र माके एक थिए र नेकपा कहलाइन्थे । त्यो बेला आलोपालो प्रधानमन्त्री हुनुपर्छ भन्न थालेपछि एमालेका नेताले पार्टी फुटाइदिएका थिए । माकेका नेताले एक्लै नजित्ने संकेत पाएपछि चुनावमा कांग्रेसलाई बुई बोक्न लगाए । जब गन्तब्य आइपुग्यो, बुई बोक्नेलाई लात्ती हान्दै फेरि एमालेका नेतासँग मिल्न गए । एकले अर्कोलाई सत्तो सराप गर्ने तिनीहरू अहिले फेरि ‘लङ्गौटिया यार’ बनेका छन् । लात्ती खाने दलका नेताले पनि आफ्नो स्वार्थका लागि लात्ती हान्नेकै पाउ मोल्न गए, विश्वासको मत दिंदै ।
सत्तामा पुग्नको लागि जे पनि गर्ने यिनीहरूको नक्कचरो पाराले आजित भएका नेपालीहरू विकल्पहरू खोजिरहेका थिए / छन् । केही पार्टीहरू चुनावमा उदाए पनि । तर अरूभन्दा फरक हुन्छौं भन्ने उनीहरू सत्ताको तर मार्न व्यस्त छन् । २० सिट जितेको रास्वपाका सभापति गृहमन्त्री बने । नागरिकताको विषयमा अन्तिम निर्णय दिने गृहमन्त्रीको नै नागरिकता विवादमा छ र अदालतले मुद्दा हेरिरहेको छ । “अदालतमा मुद्दा चलिरहेकाले नबोलेका” पार्टीका नेताहरूमा पनि सत्ता र शक्तिकै आसक्ति देखिरहेको छु । यद्यपि मौका पाएको बेला केही सुधार गर्छन् कि भन्ने झिनो आशा छ ।
अहिलेको मन्त्रिपरिषद् यस्तो खिचडी बनेको छ कि के भन्ने ? गणतन्त्रवादीदेखि राजावादीसम्म अनि संघीयताका पृष्ठपोषकदेखि विरोधीसम्म सबैले मौका पाएका छन् । सायद समावेशीकरण भनेको यही होला । जे होस्, राज्य समावेशी बनाउनुपर्छ भनेर वकालत गर्ने पार्टीले नेतृत्व लिएको सरकार समाबेशी देखिएको छैन । गरीब, दलित र सीमान्तकृतलाई जति नै उत्थान गर्नुपर्छ भने पनि यो प्रणाली उनीहरूको पहुँचमा छैन ।
उसो त राजनीति सीमित व्यक्ति र पार्टीहरूकै नियन्त्रणमा छ । उनीहरू हामीलाई भोट हाल्न लगाउँछन् मीठा सपना देखाउँदै । अनि हामी मत हालिदिन्छौं । हुन त हामीसँग उपाय पनि छैन । न हामी कसैलाई भोट नहाल्ने भनेर मतपत्रमै छाप हान्न पाउछौं न त छानिएका प्रतिनिधिको काम चित्त नबुझ्दा तिनलाई फिर्ता बोलाउनै सक्छौँ । नेताहरू मैमत्त साँढेजस्ता बन्छन् अनि हामी चैं बाली खाएको देख्दादेख्दै पनि धपाउन नसकेर आफूले आफैंलाई सराप्छौँ । यति नै त होला नि हामीले पाउने लोकतन्त्र !