उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १)

तीन महिनाजति पहिले किनेका किताबमध्ये एउटा थियो “बाह्रखरी उत्कृष्ट कथा २०८०” । २०७५ को पहिलो संस्करण त pdf मा वेबसाइटबाट सिधै डाउनलोड गर्ने मिल्ने गरी राखिदिएको थियो बाह्रखरीले । पछिल्ला संस्करणप्रति खासै आकर्षण थिएन । त्यही पनि किताब पसलमा देखेपछि कस्ता कथा चैं उत्कृष्ट २५ मा परेछन् भन्ने उत्सुकता पलाएपछि किनेको थिएँ । तर अफिस आउँदा लाग्ने समय, थकान, छोरीसँग खेल्न मन लाग्ने अनि अलिकति निस्किएको समयमा माथि भनिएको परीक्षाको तयारीका लागि पढ्ने गरेकाले उत्कृष्ट कथा २०८० थन्किएको थियो । राति पौने तीन बजे कथाहरू पढिने भइयो ।

सङ्ग्रहका कथामध्ये पुरस्कृत भएकालाई सबैभन्दा अन्तिममा पढ्ने सोच बनाएँ अनि बाँकीमध्येबाट पहिलो छनौटमा पर्‍यो दिव्य गिरीको “असार पन्ध्र” । खेती किसानी गर्नेहरूको लागि असार १५ ठूलो उत्सव हो । त्यसकै सेरोफेरोमा कथा होला भन्ने लाग्यो तर हैन रैछ । विपद् असंवेदनशील नेतृत्व भयो भने गरीबहरूले कस्तो समस्या भोग्नुपर्छ भन्ने कथाको मूल मर्म रहेछ । सङ्ग्रहको आवरण पनि यही कथामा आधारित जस्तो लाग्यो । यद्यपि विषय जति चाखलाग्दो छ लेखाइ भने त्यति छैन । धनबहादुर बिकको परिचय दिँदै सुरु भएको कथाको पहिलो खण्डमा उसको जीवनी मात्रै छ । झिँझो लाग्ने गरी प्रत्येक पात्रलाई “धनबहादुर अर्थात् धने” को शैलीमा परिचय दिइन्छ । त्यसमा पनि गल्ती छ । मनसरालाई धनबहादुरकी बहिनी भनिएको छ । पछिल्लो खण्डमा पनि धनबहादुर र उसकी श्रीमतीलाई दाजुभाउजू नै भनेकी छिन् । तर मनसराले जन्माएको बालकृष्ण धनबहादुर भन्दा २ वर्ष मात्रै कान्छो छ ।

पहिलो गाँसमा ढुङ्गा परेजस्तो भयो । बेचैन हुँदै कथाका पात्रको नातागाता केलाएँ । मेरो हिसाब नमिलेको हो कि जस्तो लाग्यो । सुत्न लागेको म जुरुक्क उठेर कलम र कागज लिएर चित्र बनाउन थाले । अहँ, कथामा मनसरा धनबहादुरकी बहिनी हुनै सक्दिन । बहिनीको छोरो आफूभन्दा २ वर्ष कसरी हुन सम्भव छ ? दिदीको भए मिल्छ बरू । यत्रो गल्ती भएको कथा “उत्कृष्ट” कसरी हुन सक्छ ? विभिन्न चरण पार गर्दै पाठक सामू आएको कथामा यति ठूलो गल्ती त नहुनु पर्ने हो । एउटा चरणमा एकजनाले पो गल्ती गर्न सक्छ । कथा पढ्दै नपढी छनौट भएको त हैन ? यो भन्दा राम्रो कथा उत्कृष्ट २५ मा पर्न छुट्यो कि ?

त्यसपछि पढेको अर्को कथा चैं छनौट समूहले पक्कै पढेको हुनुपर्छ । दीपक लोहनीको “दरबारको दु:ख” (पृ. १५७-१५८) मा रानीसाहेब कथाका सूत्रधारलाई भन्छिन्, “तपाईं पत्रकार हो ? म पत्रकारसँग आफ्ना व्यथा सुनाउँदिन । उनीहरू आफ्नो बिजनेसका लागि मात्रै आउँछन् ।”

सूत्रधार भन्छन्, “म पत्रकार हैन, कथाकार हुँ । दरबारका दु:ख समेटेको कथा लेखेर बाह्रखरी कथा प्रतियोगितामा पठाउँछु ।”

अब बाह्रखरी कथा प्रतियोगिताकै लागि लेखिएको कथा उत्कृष्ट नभई भयो त ? हुनै पर्‍यो नि । अनि प्रतियोगिताको लागि कथा पठाउँछु भन्दा बिजनेस नहुने रैछ क्यारे, रानीसाहेबले आफ्नो कथा सुनाइदिइन्  । सूत्रधारले इमान्दारी देखाए भनेर पो हो कि ?

उता कथा लामो छ भन्दै कथा सुरु गरेका सूत्रधार एकछिन पछि रानीसाहेबको जीवनीको सारांश दिन्छन् । केही अनुच्छेदमै उनी बालापनबाट वृद्धावास्थामा पुग्छिन् । धनसम्पत्तिको मातले बिग्रेका पुरुष पात्रहरूका कारण वृद्धाले भोगेको व्यथा सूत्रधारले कथा बनाएर प्रतियोगितामा पठाउँछन् । बाह्रखरीको उत्कृष्ट २५ मा पर्छ । आँसु बिक्छ भनेको यही होला । मलाई चैं आँसुले खासै छोएन । निद्राले छोयो बरू अनि झ्याप्प निदाएँ ।

भोलिपल्ट साँझ अफिसबाट घर फर्किँदा डा. श्रीधर खनालको कथा “जीपीटी २०००” पढियो । ChatGPT 4.0 ले तहल्का मच्चाइरहेको बेला जीपीटी २००० ले धमाका गर्ने आशा पलायो । कथाको सुरुवात राम्रो लाग्यो । जीपीटी २००० ले मोबाइलमा इन्स्टल गरेपछि इमेल, क्यामरा र लोकेसनको आधारमा ट्रयाकिङ गर्ने कुरासम्म कथा ठीकै थियो । ‘असुर’को दोस्रो सिजनको झल्को आउला जस्तो लागेको बेला उसले न्यारेटरलाई सर्वोत्कृष्ट भन्दै गरेको भविस्यवाणीले कताकता ‘म्याट्रिक्स’ को झल्को दियो । आपसी कलहका कारण मानिसहरू लोप भइसकेपछि पनि AI बच्ने कुरा अलि पत्यार नलाग्दो नै थियो । हुन त AI को भविस्यवाणी हो । मिल्नैपर्छ भन्ने छैन ।

त्योभन्दा पनि पत्याउन नसकिने कुरा चैं जीपीटीले आफूले सबैलाई ट्रयाक गरिरहेको कुरा कसैलाई भन्ला भन्ने हो । हामीले इन्स्टल गर्ने एप्लिकेसनहरूले हामीलाई ट्रयाक गर्ने कुरा नौलो हैन । जानी नजानी हामी permission पनि दिइरहेका हुन्छौँ । तर सिधै फोन र इमेल गरेर ट्रयाक गर्छौँ भने भने वाचकले झैं uninstall गरेर व्यापार चौपट हुन्छ होला । खैर, कथामा जताततै देखिने मानवीय प्रलयको डरको लामो वर्णन छ जुन अझै रोचक बन्न सक्थ्यो जस्तो लागिरह्यो ।

लगत्तै सञ्जय घिमिरेको “चन्द्रमा देब्रे, चन्द्रमा दाहिने” पढेँ । कविताका पङ्क्तिजस्ता छोटा वाक्य र चन्द्रमा दाहिने र देब्रे हुँदाको बिम्बले झ्याप्पै आकर्षित गर्‍यो । कथा भने कस्तो कस्तो लाग्यो । कथावाचकले १० वर्ष सम्म जसको गाडी चलाउँछ,  आरिस गर्छ । उसको उद्देश्य भनेको हाकिमलाई ड्राइभिङ सिटमा राखेर हाकिम जसरी ब्याक सिटमा बस्नु हो । इच्छा पूरा पनि हुन्छ । हाकिमले उसलाई अमेरिका बोलाएर काममा लगाइदिएर पनि लाइसेन्स परीक्षामा पटकपटक जानीजानी फेल भएपछि । जिन्दगीमा हुन सक्ने फेरबदल र irony देखाएका हुन् क्यारे कथाकारले तर धेरै नै सहज भयो कि भन्ने चैं लागिरह्यो ।

कथा सङ्ग्रहबाट पढेको पाँचौं कथा थियो, हिरा लामाको “मिटर ब्याज” । कथाकी मुख्य पात्र मैनालाई गाउँको ठालू मिटरब्याजी रत्नदासले श्रीमती नभएको मौका पारेर घरमा साँझ आउनु भनेर बोलाउँछ । ऊ रत्नदासकहाँ त्रसित र सशंकित हुँदै जान्छे । रत्नदासको एक स्पर्शपछि उसलाई विदेशिएर उतै हराएको लोग्ने मुकुन्दको अनि यौन प्यासको याद आउँछ । त्यसकै वशमा परेर रत्नदाससँग यौन सम्बन्ध राखेपछि रत्नदासले स्कूलको पिउनबाट आधारभूत कक्षाकी शिक्षिका बनाइदिन्छ ।

यो कथाले भन्न खोजेको के हो ? मैनाजस्ता लोग्ने विदेशिएका महिलाहरूमा यौनेच्छा हुनु अस्वाभाविक होइन तर आफूलाई नियन्त्रण गर्न सक्दैनन् भन्न खोजेको हो कि ? रत्नदासजस्ता परचक्रीलाई चिन्दैनन् भनेको हो कि ? सेक्सुअल फेवर्स दिएर फाइदा लिन सक्छन् भनेको हो कि ? यौनिक स्वच्छन्दता हुनुपर्छ भन्न खोजेको हो कि ? तर त्यसको परिणाम नि ?

मैनाले पछि प्रतिकार गरी वा मुकुन्दको खबर आयो अथवा स्वयम् गाउँ फर्कियो भने के होला ? धेरै दिन भएकै छैन, एकजनाले वैदेशिक रोजगारीबाट फर्किएको केही दिनमै श्रीमतीलाई मारेको । किन मारेको भन्दा “जसको लागि मैले मेरो जवानी सक्काएँ, त्यसैले धोका दिएपछि म के गरूँ ?” यस्तै लोग्ने विदेश गएका जाने अनि स्वास्नीले मोज गर्ने, सम्पत्ति नै लिएर अर्कासँग जानेजस्ता समाजमा घट्न पुगेका दुष्परिणामको बीजारोपण पो हो कि यो कथा ? प्रष्ट छैन ।

गलत कामको परिणाम पनि सही हुने अहिलेको समाजको यथार्थ देखाउन खोजिएको पो हो कि ? विद्रोह गर्नेभन्दा नगर्नेले फाइदा लिन सक्छन् भनिएको पो हो कि ? समाजमा विद्रोह नभए पनि कथामा त हुन सक्छ नि । के कलममा पनि विद्रोहको कमी हुन थालेको हो ? लेखकहरूमा नै विद्रोही भावना कमी हुन थालेको त होइन ? यी प्रश्न अहिलेसम्म पढेका र उत्कृष्ट भनिएका “मिटर ब्याज” र “असार पन्ध्र” ले मनमा उठाए ।

भोलिपल्ट अफिस जाँदा पढेको कथा “ख्याक” अहिलेसम्म मलाई सबैभन्दा मन परेको कथा हो । शारीरिक रूपले अशक्त जीवन सपनामा भने हातखुट्टा सजिलै चलाउन सक्छ । तर ऊ सपनामा कालो ख्याक बारम्बार देखिरहन्छ । डरको बिम्ब बनेको ख्याकको डरलाई उसकी आमाले हटाउन खोजिरहेकी हुन्छिन् । जुन दिन देखि ऊ ख्याकसँग डराउन छोड्छ ख्याक कालोबाट सेतो हुँदै जान्छ । उसले खोला थुनेर नाङ्गा पाखाहरू हरियाली बनाउने जुन सपना देखेको छ, त्यो पूरा गर्न मिहिनेत गर्न थाल्छ र अन्ततः सफलता हात पार्छ ।

जीवनको सपनाको दृश्यबाट सुरु भएको कथामा घरी सपना घरी विपना देखिन्छ तर अन्त्य सम्म आइपुग्दा सपना र विपनाको बीचमा कुनै अन्तर नै रहँदैन । कथा पढिसक्दा कक्षा १२ मा पढेको ग्याबृयल गार्सिया मार्खेजको भूतीया जहाजको कहानी याद आएको थियो ।

सातौं कथा “म, जल्लाद प्राणनाथ” पनि मन परेको थियो । रबर्ट जोशीले लेखेको कथामा जल्लाद प्राणनाथलाई भारतबाट बाली बोलाइएको छ कसैलाई मृत्युदण्ड दिन । जसलाई मृत्युदण्ड दिइँदैछ, ऊसँग प्राणनाथले बदलाको भावना राखेको छ । यद्यपि कथाको मूल मर्म चैं प्राणनाथ र उसकी छोरी आधीको सम्बन्ध हो । कथामा flashback को प्रयोग राम्रोसँग गरिएको छ र कतैकतै दार्शनिक पनि छ । कथाकारले फाँसी दिने जल्लादका विषयमा राम्रो अध्ययन गरेको पनि देखिन्छ । केही कुराहरू भने अधुरा र अस्पष्ट छन् । जस्तो कि, मृत्युदण्ड दिएको मानिसले कसलाई बचाउन खोजेको हो ? कथाको अन्तिममा आउने अनिशा को हो ? मृत्युदण्ड पाउने केटा र अनिशाले किन आधीलाई किन पवित्र मन भएकी भन्छन् ? यी प्रश्नहरूको जवाफ पाउनको लागि सायद फेरि फेरि पनि यो कथा पढ्नेछु ।

२०८१ को पहिलो दिनको झिसमेसेमा अन्तरपछि रमा सुवेदीको अर्को ‘म’ पढेँ । कथाको सुरुवात रहस्यमय लाग्यो । मूल कथा भने सिमोन द बुभाको “द सेकेन्ड सेक्स” बयान वरिपरि घुमेको छ । कथाकारको वा कथाका पात्रको भन्दा पनि बुभाको विचारले प्राथमिकता पाएको छ । बुक रिभ्यु जस्तो पनि लाग्यो कताकता । महिलालाई घरको काम गर्न कतिको सकस छ, उनीहरू किन बाँधिन्छन् र बन्धनबाट उम्किन के गर्न सक्छन् भन्ने सन्देशको पाटो राम्रो भए तापनि कथामा अरू कसैको नभएर कथाकै पात्रको विचार हावी भएको भए अझै सशक्त हुन्थ्यो कि ?

एक दुई अनुच्छेद टाइप गर्दागर्दै धेरै भइसकेछ । किताब पनि एक तिहाई सकिएछ । अरू कथा र समग्र कथा सङ्ग्रहका बारेमा भन्न बाँकी कुरा थुप्रै रहे । आगामी भागमा गरौंला है त ।

देश सिध्याउने दलालहरुको नाममा !

“एसियाको सबभन्दा गरीब देशको नागरिक भएकोमा बधाई छ !” फेसबुकमा देखियो । केही छिन पछि अर्को पोस्टमा भेटिएको थियो, “International Monetary Fund (IMF) ले सार्वजनिक गरेको प्रतिवेदनले नेपाललाई एसियाकै सबैभन्दा गरीब देश भनेको छ ।” IMF ले २०२३ अक्टोबरको “World Economic Outlook” निकालेको छ भन्ने कुरा गूगल सर्चबाट थाहा भयो । प्रतिवेदन सर्सर्ती हेर्दा त्यस्तो लेखिएको कतै भेटिन्न ! “Find” tool प्रयोग गरेर poor keyword खोज्दा पनि सिधै कुनै देशलाई धनी भनेकै छैन ! अलमल्ल परें । ५-६ घण्टापछि ट्विटर (सरी, X) मा FACTS ले राखेको एउटा ग्राफ भेटेँ । त्यसमा हरेक महादेशका सबभन्दा गरीब देशहरू थिए । स्रोत थियो अप्रिलको World Economic Outlook । त्यसमा पनि खोजें । खोजेको कुरा पाइनँ । फेरि गूगलमा खोज्दा चाहिँ एउटा लिङ्क भेटियो । Global Finance Magazine को त्यो पेजमा FACTS ले राखेका देशहरूको सूची थियो । त्यस पत्रिकाले IMF कै अप्रिलको प्रतिवेदनको आधारमा गरीब देशहरूको सूची तयार गरेको रहेछ । यमन र अफगनिस्तान जस्ता युद्धपीडित देशहरूलाई नराख्दा नेपाल एसियाको सबैभन्दा गरीबमध्येकै देश रहेछ । (IMF को interactive page यता हेर्नुहोला ।) हुन त गरीबीको मापन गर्न प्रयोग गरिएका index हरूमा केही समस्या छन् भनेर IMF ले नै भनेको छ तर हामी धनले त गरीब भयौँ नै, सोचले समेत दरिद्र छौँ । यसमा कुनै शङ्का नगरे हुन्छ !

यति हुँदा पनि हाम्रा शासक, प्रशासक, कर्मचारी र अलिकति पनि शक्ति हुने जोसुकैलाई भने लज्जाबोध छैन । यी र केही “जान्नेसुन्ने” मानिसहरूको तर्क कस्तो हुन्छ भने, “राजाको शासनमा कहाँ अहिले जस्तो थियो ? अहिले त्यो बेला भन्दा धेरै राम्रो छ ! जनताले बोल्न पाएका छन् ! राजाको पालामा राजदरबार नजिकका मान्छेसँग मात्रै धन थियो । अहिले जोसुकैलाई कमाउने मौका छ । त्यसैले, पहिलेभन्दा धनी छन् त जनता !”

समयको क्रमसँगै आफैं हुने परिवर्तनमै रमाउने यी वर्ग देशमा कुनै समस्या नै देख्दैनन् । समस्या नदेखे पछि समाधान गर्नै परेन ! समस्या किन देखिँदैन भने यिनको आँखामा पट्टी बाँधिएको छ–सत्ता, शक्ति र सम्पत्तिको । सत्ता, शक्ति र सम्पत्ति आर्जन मात्रै उद्देश्य भएपछि मानिस भ्रष्ट बन्छ । धर्म र कर्तव्य के हो भन्ने बिर्सिएका यिनीहरूले सहीलाई झुठ र गलतलाई सही बनाइदिन्छन् । असल मानिसहरूलाई यिनीहरू आफ्नो वशमा पार्न खोज्छन् ताकि आफूजस्तै बनाउन सकियोस् । अरूलाई दोषी देख्ने यिनका आँखाले आफूलाई भने असल देखाउन खोज्छन् । यसरी अधर्म फैलिन्छ हरेकको मनमा । मेरो देश यस्तै अधर्मीले भरिएको रहेछ । ज्ञान, विज्ञान र धर्म लत्याउने गतिछाडा दलालहरूले भरिएको देश गरीब नभए के हुन्छ ?

ए शासक, प्रशासक, कर्मचारी, व्यापारी र थोरै मात्रै पनि शक्ति पाउने वित्तिकै मैमत्त हुनेहरू ! तिमीहरूको धर्म के हो ? देशमा बनेका कानून, नीति, नियमलाई सत्कर्मका साथ पालना गरेर जनकल्याण गर्नु हैन ? देशको हित हुँदा तिमीहरूको हित हुने हैन ? सत्ता, शक्ति र सम्पत्तिको लागि जे पनि गर्ने ? अनेक सुविधा लिने अनि कसैको स्वार्थ पूरा गर्न घुस, गिफ्ट, दान लिने ? कानूनको धज्जी उडाउने अनि हास्दै हिँडने ? लाज पचाएर अझै एक अर्कालाई गाली गरेर आम जनतालाई भ्रमित पार्ने ? अनि मिलेमतो गर्न पायो भने चै जे पनि गर्ने ?

तिमीहरूले आफ्नो आत्मा त बेच्यौ नै, मान्छे पनि बेच्छौ । तिमीहरू यति मूर्ख छौ कि तिमीहरूलाई लाग्छ आफ्ना आफन्तहरू तिमीले बेचेका छैनौ । तर तिमीहरूका सन्तानहरू अहिले कहाँ छन् ? के गर्दैछन् ? तिमीहरूका साथमा छन् ? साथमा भएकाहरू कुन स्वार्थका लागि बसेका छन् ? मनैदेखि कर्तव्य वुझेर स्याहार सुसार गर्छन् ? तिमीहरूका कुरा मान्छन् ? यहाँ करोडौंको धनसम्पत्ति भए पनि तिमीहरूका सन्तान किन विदेशमा दुःख गर्न खोज्छन् ? सोचेका छौ कहिले ? सोच्ने भए गति किन छाड्थ्यौ होला र ?

ल सुन ! तिमीहरूका सन्तान तिमीसँग छैनन् किनकी उनीहरूलाई (प्रत्यक्ष नभए उनीहरूको ब्रह्मलाई थाहा छ) त्यो धन सत्यको हैन । तिमीहरू ज्ञानलाई दुत्कार्छौ, तिमीहरूका सन्तान अनैतिक बन्दै जान्छन् । तिमी विज्ञानको उपहास गर्छौ, तिमीहरूका सन्तानले यहाँ अवसर गुमाउँछन् । तिमीहरू अधर्म गर्छौ, तिमीहरूका सन्तान टाढिँदै जान्छन् । तिमीहरू दुष्कर्म गर्छौ अनि परिणाम राम्रो हुन्छ ? वर्षौं “मिहिनेत” गरेर कमाएको तिमीहरूका घरमा तिमीहरू किन एक्ला छौ ? तिम्रै कुकर्मको फल हैन ? एउटा पुस्ताले गरेको कुकर्मले आउने सन्तानहरूलाई कतिसम्म पिर्छ भन्ने त थाहा छ त तिमीहरूलाई ! महाभारत बिर्स्यौ ?

हुन त तिमीहरू महाभारत (र अरू शास्त्र) लाई फगत कहानी मान्छौ । त्यहाँ भएका सत्कर्मका उपदेश तिमीहरूलाई विष लाग्छ । तर मस्तिष्कको कुनामा कतै स्वविवेक भएको भए तिमी देख्थ्यौ कसरी इन्द्रीयलाई वशमा राख्न नसकेका शान्तनुले गर्दा उनका राजा हुन योग्य छाेरा राजा बन्न पाएनन् । राजगद्दीप्रति सधैँ वफादार हुन खोज्दा भीष्म, द्रोण र कृपाचार्यले धर्मका विरुद्ध बोल्न सकेनन् । विभिन्न पात्रका कुकर्म, द्वेष र महत्त्वाकांक्षाले भएको युद्धमा शान्तनुका सन्तान मात्रै नासिएनन्, लगभग पूरै भारतवर्षको विनाश भयो । तिमीहरू पनि एउटा सभ्यता विनाश गर्दैछौ । तिमीहरूले नपाएर मात्रै हो, पाउने भए यो देश उहिल्यै बेचिसक्थ्यौ । र त बेलाबेला भन्छौ, “नेपाल भारत, चीन, वा अरू कुनै देशमा विलय भएको भए नि हुन्थ्यो !” कुलाङ्घारहरू !

दशैंकाे बेला छ । वर्षभरिको “दुःखकाे फल” भित्र्याउने समय यही हो भन्दै सेवाग्राहीसँग खुल्लम खुल्ला रकम माग्ने सरकारी कर्मचारीदेखि दशैंका नाममा बढी पैसा उठाउने पसले, होटेल र गाडी साहुहरू सबै चोर हौ । तैपनि नैतिकता नभएका तिमीहरू खुब मजाले आशीर्वाद दिन्छौ सन्तानलाई, “ज्ञानी हुनू, ठूलो मान्छे हुनू, सबैले मान्ने हुनू !” अनि तिम्रा कर्म चै के हो ? छोराछोरीका आँखामा हेरेर आदर्शका गफ गर्न कसरी सक्छौ ? कति सम्म चैं किच्चक हौ ?

तिमीहरूलाई यहाँ कसले मान्छ ? तिमीहरूमा न ज्ञान छ न विज्ञान मान्छौ न त धर्म । जो तिमीहरूलाई नमस्ते गर्दै आउँछ नि, तिमीहरूलाई सम्मान गर्न हैन, कि त तिमीहरूबाट काम लिन आउँछ कि त बाध्यताले । जसको मुखमा एउटा अनि मनमा अर्को कुरा हुन्छ, त्यस्तो मानिसको सङ्गत गर्नु तरबारको धारमा हिँड्नु बराबर हो भनेर शास्त्रले पनि भन्छ । तिमीहरूको सङ्गत गर्यो भने साधु पनि कि त चोर बन्छ कि त शुलीमा चढ्छ ।

हुन त तिमीहरू बेलगाम घोडा हौ । तिमीहरूलाई शास्त्र व्यर्थ लाग्छ, अर्ती गाली लाग्छ, कानून, विधि र विज्ञान बोझ लाग्छ तर तिमीहरूका सन्तान त तिमीहरूलाई आफ्नै लाग्छ नि हैन ? मरेर जाँदा तिमीहरूले लाने केही हैन, सबै कुरा छोडरै जान्छौ । सुकर्म छाड्यौ भने तिम्रा सन्तान पनि खुशी हुन्छन् तर कुकर्मले तिनलाई पनि सुख दिँदैन । कमसेकम तिनका लागि त केही सत्कर्म गर !

धनभन्दा माथि देश हो अनि देशभन्दा माथि धर्म ! यति बुझ्ने यहाँ कोही देख्दिन । देश राजनीतिले खत्तम भएको हैन, कुनीति र कुनियतले हो । राजनीति भनेको त राजा (इन्द्रीय र लोकभन्दा माथि हुने) को नीति अनि नीतिको राजा हो । नीतिको जग नैतिकतामा हुन्छ जुन हामी नेपालीमा छँदै छैन । उज्वल थापाले भनेझैं एकले अर्कोलाई पाएसम्म लुट्न तयार छौं हामी । यो लुटको चक्रव्यूह तोड्न सक्ने अर्जुनलाई यहाँ युद्धभूमिबाट लखेटिन्छ । केही गरौँ भन्ने अभिमन्युजस्ता जोशिला तर अनुभव कम भएका युवाहरूलाई चक्रव्यूहमा फसाएर मारिन्छ । शकुनि र दुर्योधनको राज छ यहाँ । भीष्म र द्रोणहरू लाचार भई दुष्टहरूको साथ दिइरहेका छन् । यो सब देखेर दिक्क भएका मानिसहरू देश छोडिरहेका छन् । म तिमीहरूका सब कर्तुत निराश भएर हेर्दै भन्दै छु, “यो देश उँभो लाग्ने छाँट छैन ।”

र, यति निराश म कहिले पनि भएको थिइनँ ।

हिजोआज

हिजोआज केहीले उत्साहित बनाउँदैन । पढाई, काम, “गहन बहस”, सामान्य छलफल, सामाजिक सञ्जालमा हुने तर्क बितर्क सबै बेतुकका लाग्छन् । आदर्शका कुरा ढोङ्ग जस्ता लाग्छन् अनि सहयोग र सान्त्वना, फगत स्वार्थ पूरा गर्ने माध्यम ।
आजकल बोझ लाग्छ हर कुरा । कार्यालय, घर, नाता, सम्बन्ध, मित्रता, शिक्षा, शिक्षालय सबैले औपचारिकतामा बाँधेझैँ लाग्छ । ज्ञानको कुनै मतलब छैन, क्षमताको कुनै अर्थ छैन जबसम्म औपचारिकता पूरा हुँदैन । तर आफूभन्दा शक्तिशाली कसैको अघिपछि लाग्नुस्, औपचारिकता कै लागि बनेका नियम कानूनको पनि केही लाग्दैन ।

हिजोआज लेख्न पनि मन लाग्दैन । यो किन लेख्दैछु थाहा छैन । मनको बोझ हलुका होस् भनेर नै होला तर यहाँ पनि मिलाएर लेख्नुपर्ने बाध्यता छ । मनमा शब्दहरू खेलाउनु अनि एकएक अक्षर मिलाउँदै टाइप गर्नु पनि बोझिलो बन्दैछ । तथापि मनका कुरा अक्षरमा पोख्न बाहेक अरू उपाय देख्दिनँ ।


हुन त लेखेर केही हुने पनि हैन । कुनै बेला हरेक इस्यूमा लेख्न मन लाग्थ्यो । केही गलत भएको भए कसरी ठीक गर्न सकिन्छ भनेर सुझाव दिन मन लाग्थ्यो । अहिले आफ्नै विवेक बन्द गरेर हिँड्नु परेको छ । जहाँ पाइलै पिच्छे बेइमानी चल्छ, त्यहाँ इमानको अर्थ के ? जहाँ दोग्लापन पुगिन्छ, त्यहाँ सत्यको अस्तित्व के ?


यहाँको पागलपनको गुरुत्वाकर्षणले तान्दै तान्दै मलाई पनि पागल पो बनाउने हो कि ? अलि बढी नै निराशावादी भइयो कि ? तर यो समाज, देश र पूरै मानव सभ्यताको उँधो गति मात्रै देख्ने म मात्रै त नहूँला नि है ?

इन्टु मिन्टु लण्डनमा

लोक सेवाको परीक्षा केन्द्र राखिएको एउटा स्कूल । अलि छिटै पुगेकाले यताउता गरिरहेको थिएँ । आँप(?) को रूखमुनि उभिएर अगाडिको ब्लकतिर हेरिरहेको थिएँ । एउटी सानी (सायद कक्षा एक या दुईमा पढ्ने) केटी झ्यालमा आइन् । उनी सँगै आए तीनचार जना अरु केटीहरू । “ओहो ! आज कति धेरै कति धेरै नौला मान्छेहरू !” उनीहरू भनिरहेका थिए । जिज्ञासा पनि थियो आफूआफू बीचमा, “आज के हो ? किन आएका यी मानिसहरू?”

हामी पनि त स्कूलमा नयाँ मानिस आउँदा यस्तै कुराकानी गर्थ्यौं नि ! “को आए ? किन आए ?” जस्ता प्रश्नले मन उथलपुथल हुन्थ्यो । जवाफ नपाउन्जेल आँखा कक्षा बाहिर डुल्थे । तर बाहिर हेर्ने अनुमति कहाँ हुन्थ्यो र ? गुरु, गुरुआमाहरूले थाहा पाउनुभयो भने त सजाय पनि हुन्थ्यो । कक्षामा पढाइ नभएका बेला (लिजर)मा मात्रै बाहिर हेर्न पाइन्थ्यो । त्यो पनि डराइ डराइ !

यी साना नानीहरूको पनि लिजर पो थियो कि ? नभए त शिक्षकले बाहिर हेर्न पक्कै दिँदैनथे । उनीहरूको क्रियाकलापले भने मलाई तोत्तोचानको याद दिलायो । “सन् १९३० तिरकी जापानी तोत्तो-चानको सन् २०२० को दशकका नेपाली नानीहरूसँग के सम्बन्ध ?” एक मनले जवाफ माग्यो । अर्को मनले भन्यो, “बालसुलभ चञ्चलता त जहाँ र जहिले पनि उस्तै हुन्छ, हैन ?” मनको वादविवाद चलिरहेकै बेला परीक्षार्थी मध्येकी एक महिलाले ती बालिकाहरूतिर हेरेर हात हल्लाइन् । जवाफमा सुरुमा झ्यालबाहिर हेर्ने अग्ली केटीले हात हल्लाई । म अनायास मुस्कुराएँ । उनीहरूले भने मलाई याद गरेनन् । केही बेर पछि तिनै साना नानीहरू म उभिएको ठाउँमा हेर्न  थाले । मैले हात हल्लाएँ । उनीहरू लजाए । अघि एक अपरिचित महिलालाई सजिलै हात हल्लाएका नानीहरू अहिले एक अपरिचित पुरुषसँग भने लजाए । त्यसमा सायद डर पनि मिसिएको थियो कि ?

***

इन्टु मिन्टु लण्डनमा

हाम्रो बाबा पल्टनमा

स्कुलको पाले दाइ

पहिलो घण्टी बजाइदेऊ

टिनिनिनिनी… झ्याप्प

एकछिनपछि बच्चाहरूले गीत गाउँदै खेलेको सुनियो । नोस्टाल्जिक भइयो । यो गीतिखेल कति पुरानो हो थाहा छैन तर सानामा खेलेको याद अझै ताजा छ । सुगम पोखरेलको एउटा गीतमा पनि यो अट्यो । धेरै अघि नै बालबोलीमा बसिसकेको यो गीत अहिलेका केटाकेटी पनि यही गीत गाइरहेका छन् । केही वर्षपछि सायद मेरी छोरी पनि यो खेलमा सहभागी हुनेछिन् र सायद उनीपछिको पुस्ता पनि।

यति शक्तिशाली यो गीतिखेल कसले सुरु गर्यो होला ? कसरी फैलियो होला ? मन कल्पिन थाल्यो । कतिपय कुराहरु जीवनमा यसरी धुलिएका हुन्छन् कि तिनको सुरुवात कसरी भयो भन्ने कुरा कल्पना समेत गरिँदो रहेनछ । तर अब भने यो बालखेलको रचयिताबारे जान्न मन भयो । जान्न मन भयो इन्दु र मिन्टु को थिए ? कसरी लण्डन पुगे ? गीत गाउने बच्चाका बाबु पल्टनमा कसरी पुगे ? कुन पल्टनमा छन् अनि कहाँ लडाई गर्दैछन ? फर्किएर आउलान् कि नाउलान् ? जिउँदै आउलान् कि बाकसमा ?

मनमा आएका यी प्रश्नहरूको उत्तर भेटिएन । तर जवाफको अभावमा मन कहाँ शान्त भयो र ? यो त झनै छट्पटियो । अरू प्रश्नलाई थाती राखेर इन्दु र मिन्टु कस्ता थिए होलान् र कसरी लण्डन पुगे होलान् भनी कल्पिन थाल्यो । इन्टु मिन्टु सम्भ्रान्त वा लाहुरे परिवारमा जन्मिएका थिए कि ? कम्तीमा ४० वर्ष अघि गीत रचिएको थियो भने त्यो कालखण्डमा लण्डन जाने ल्याकत धनीमनी र बेलायती गोर्खा रेजिमेन्टमा सैनिक सेवामा भर्ती हुनेसँग मात्रै थियो । धेरै सम्पत्ति भएका तर ठूला व्यापार नभएका धेरै नेपाली परिवार बेलयात मात्रै होइन, अमेरिका, अस्ट्रेलिया र युरोपेली देशहरूप्रति आकर्षित हुने गरेको धेरै समय भइसकेको छ । उनीहरू यहाँ अवसर देख्दैनन् । अवसर भए पनि विदेशी मुद्रा साटेर आउने रकम र उताको जीवनशैलीको लालसाले गर्दा नेपालमा अडिन सक्दैनन् । पछि केही मध्यम वर्गीय परिवारका सदस्यहरू पनि यही सिको गर्दै उता पुगे । अहिले रहरले देश बस्नेको सङ्ख्या नगण्य छ ।

गीतिखेलका पात्रहरूका बाबाहरू पल्टनमा छन् । कुन पल्टनमा होलान् बाबा ? बेलायती गोर्खा पल्टनमा कि भारतको गोर्खा पल्टनमा ? सिंगापुरमा कि हङकङमा ? खाडीमा पसिना चुहाउँदै छन् कि ? कतै कुल्ली र दरबानको काम गर्दै मुस्किलले कमाइरहेका छन् कि ? गाउँघरमा पल्टने हुँ भन्दा मान बढ्ने भएकाले पल्टनमा छु भनेर ढाँटेका पो हुन् कि ? इन्टु मिन्टु जति सुरक्षित र सम्पन्न छैनन् कि ? सम्पन्न हुन पनि सक्छन् तर यी बाबाहरू सुन्दर भविष्य लागि ज्यान हत्केलामा राखेर श्रम बेच्न पुगेका पक्कै हुन् ।

हाम्रो पुस्ता केही हदसम्म “पल्टने” बाबाहरूले पालेका हुन् । तिनका छोराछोरीले पनि त्यही बाटो अँगालेका छन्। जुन सङ्ख्यामा देश छोड्नेको लर्को छ, त्यसले हामीलाई सङ्कटमा लाने निश्चित छ । तर पनि राज्य गम्भीर बनेको छैन। हुन त उसले जनतालाई विदेशमा बेच्ने नीति लिएको छ । उसका कान बन्द छन् । सुन्न तयार छैन युवा पुस्ताको क्रन्दन । युवा पुस्ता सरकारी सेवा प्रति पनि आक्रोशित छन् अनि निजी संस्थामा हुने श्रम शोषणले गलेका छन् । केही युवाहरू सरकारी जागिरको चौतारीमा आराम खोजिरहेका छन् । म आफैँ पनि त्यस्तो चौतारी खोज्दैछु । खोज सफल हुन्छ हुँदैन थाहा छैन तर यसले पनि सन्तुष्ट बनाउला जस्तो लाग्दैन । राजनीति र प्रशासनमा युवाहरूको दह्रो हस्तक्षेप नभई अहिलेको अवस्था परिवर्तन हुन सक्दैन । यद्यपि, नवपुस्तामा भरिएको निराशा समाधान नहुने हो कि भन्ने डर छ । यो अन्तत: देशका लागि नै घातक हुन सक्छ । यो अन्धकारको अवस्थाबाट उज्यालोतर्फ लाने शक्ति युवाहरूमै छ । हामीहरू संयमित, इमान्दार र लगनशील हुन चाहिँ आवश्यक छ ।

२०८०/०१/२५

पुस्तक समीक्षा : बहत्तर सालको भूकम्प

यूरेसियन र इन्डियन टेक्टोनिक प्लेटहरूको टकराव पछि बनेको हिमालय पर्वतमा अवस्थित नेपाल भूकम्पीय दृष्टिकोणले जोखिममा रहेको क्षेत्र हो । भूकम्पको विषयमा ऐतिहासिक दस्तावेज चाहिं सन् १२५५ देखि भेटिएको छ । त्यस भूकम्पका कारण काठमाडौं उपत्यका (तत्कालीन नेपाल) राजा अभय मल्ल सहित एक तिहाइ जनसंख्याको मृत्यु भएको थियो । हाल सन् १३४४, १५०५, १८३३ का भूकम्पका विषयमा केही जानकारी हात लागेको छ । वि. सं. १९९२ मा मेजर जनरल ब्रह्म शमशेरले लेखेको “नेपालको महाभूकम्प १९९०” त्यस सम्बन्धी महत्त्वपूर्ण पुस्तक हो । उनले नेपालमा सिस्मोग्राफ नभएका कारण वैज्ञानिक अध्ययन हुन नसकेको र त्यस बिहारलाई केन्द्रविन्दु मानिए पनि अरू ठाउँमा हुन सक्ने अनुमान गरेका थिए । पछिल्ला अध्ययनले नेपालको पूर्वी पहाड (सगरमाथाबाट करीब १० कि. मि. दक्षिण) लाई केन्द्रविन्दुका रूपमा स्थापित गरेका छन् । त्यसैगरी वि. सं. २०४५ मा उदयपुर केन्द्रविन्दु बनाई गएको भूकम्पपश्चात् गरिएका उद्दार र पुनर्निर्माणका विषयमा सरकारी दस्तावेजहरू पाउन सकिन्छ । त्यही भूकम्पपछि नेपलमा भवन निर्माण संहिताको समेत निर्माण भएको रहेछ ।

नेपालमा ठूलो भूकम्प जाने र त्यसले जिउधनको धेरै क्षति गर्ने पूर्वानुमानहरू आइरहेकै थिए । खासगरी काठमाडौं पश्चिममा उद्गम हुने महाभूकम्पको सम्भावनाका विषयमा अध्ययन भइरहेकै समयमा २०७२ वैशाख १२ गते बिहान ११ : ५६ मा गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाई ७.६ लोकल म्यागनिट्युड (७.८ मोमेन्ट म्यागनिट्युड) को भूकम्प गयो । भूकम्पका कारण ८,९७० को मृत्यु भयो भने २२,३०२ जना घाइते भए । भूकम्प ठ्याक्कै यही मिति र समयमा जान्छ भन्ने पूर्वानुमान गर्न नसकिने भएकाले यसको पूर्वतयारी गर्दा जुनसुकै समयमा जान सक्छ भनेर तयार रहनुपर्छ । तर तत्कालीन प्रधानमन्त्री सुशील कोइराला विदेशमा भएका कारण देखाउँदै उद्धार कार्यमा केही ढिलाई भयो । कुन संयन्त्रले के गर्ने भन्ने कुरा पहिल्यै व्यवस्थित भएको भए अन्योल हुने थिएन ।

यही भूकम्पको वैज्ञानिक पक्ष, राहत र उद्दार एवम् पुनर्निर्माणका विषयमा लेखिएको पुस्तक हो–“बहत्तर सालको भूकम्प” । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका सदस्य रहिसक्नु भएका प्रा. डा. तारानिधि भट्टराई, प्रा. डा. निमानन्द रिजाल, र डा. किशोर थापाले लेख्नुभएको पुस्तकलाई एक आधिकारिक दस्तावेजका रूपमा लिन सकिन्छ ।

पुस्तकको सुरुका तीन अध्याय भूगर्भ र भूकम्पका विद्यार्थीका लागि उपयोगी छन् । यो खण्ड पढ्दा प्रा. डा. तारानिधि भट्टराईले कक्षामा पढाउनुभएका कुराहरू सम्झँदै उहाँकै बोल्ने शैलीमा पढेँ । विश्वविद्यालयमा अंग्रेजीमा पढेका कुरा नेपालीमा पढ्दा अनौठो लागेपनि अंग्रेजीमा पढ्दा भन्दा अझै प्रष्टसँग बुझियो । विश्वविद्यालयको परीक्षा नेपालीमा हुनुपर्छ भन्ने मेरो विचार झनै दरिलो भयो । भूगर्भ र भूकम्पशास्त्र नपढेका पाठकलाई भने केही समस्या हुन सक्छ । जस्तो कि, प्राइमरी वेभ, सेकेण्डरी वेभ र टाइम सिरिज (पृष्ठ ५४) को बारेमा थाहा नभएका पाठकको सहजताका लागि तिनलाई चिनाउने गरी चित्रहरू राखिएको भए हुन्थ्यो । त्यसैगरी, Modified Mercalli र EMS-98 intensity scale का बारेमा नाम मात्र दिइएको छ । ती तालिकाहरू अनुसूचीमा समेटिएको भए अझै प्रष्ट बुझिन्थ्यो ।

नेपालमा भूकम्पपछि गरिएका उद्धार र राहत एवम् पुनर्निर्माणका विषय पुस्तकमा समेटिएको छ । पुनर्निर्माणका क्रममा आएका समस्या र तिनलाई कसरी समाधान गरियो भन्ने कुराहरू यसमा आएका छन् । तथापि सबै समस्याका समाधान नभइसकेको अवस्था छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएपश्चात् विपद व्यवस्थापन चक्र अन्तर्गत पर्ने विपदअघिको पूर्वानुमान र पूर्वतयारी तथा विपदपछिको उद्धार, राहत र पुनर्निर्माणलाई समेट्ने प्रयास भएको छ । यस सन्दर्भमा “बहत्तर सालको भूकम्प” विषय विज्ञद्वारा लेखिएको विपद व्यवस्थापनसँग सरोकार राख्ने वैज्ञानिक, प्रशासक र तीनै तहका सरकारका प्रतिनिधिहरूले पढ्ने पर्ने किताब हो ।

पुस्तक: बहत्तर सालको भूकम्प

लेखक: प्रा. डा. तारानिधि भट्टराई, प्रा. डा. निमानन्द रिजाल, डा. किशोर थापा

पृष्ठ: ४०६

प्रकाशक: नेपा~लय

लोकतन्त्र : केही आशा, धेरै आशंका

बिहानीले दिनको संकेत गर्छ भन्छन् । मङ्सिर ४ को चुनावमा तेस्रो भएको पार्टीका नेता जुन राजनीतिक दाउपेचको आडमा प्रधानमन्त्री बने अनि त्यसको रमिते मतदाता हुनुपर्यो, यो राम्रो बिहानीको संकेत हुँदै हैन । नेपाली कांग्रेसले ८९ सिट जितेको थियो । उसले प्रत्यक्ष तर्फ सदर मतको २५.७१% र समानुपातिकमा २३.१९% मत पाएको छ । जम्मा ७८ सिट जितेको नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिकमा क्रमशः २६.९५% र ३०.८३% मत पाएको छ । तर सरकारको नेतृत्व गरेको छ प्रत्यक्षमा ११.१३% र समानुपातिकमा ९.३७% मत ल्याएको नेकपा माओवादी केन्द्रले !

Photo by Element5 Digital on Pexels.com

दुई वर्षअघि एमाले र माके एक थिए र नेकपा कहलाइन्थे । त्यो बेला आलोपालो प्रधानमन्त्री हुनुपर्छ भन्न थालेपछि एमालेका नेताले पार्टी फुटाइदिएका थिए । माकेका नेताले एक्लै नजित्ने संकेत पाएपछि चुनावमा कांग्रेसलाई बुई बोक्न लगाए । जब गन्तब्य आइपुग्यो, बुई बोक्नेलाई लात्ती हान्दै फेरि एमालेका नेतासँग मिल्न गए । एकले अर्कोलाई सत्तो सराप गर्ने तिनीहरू अहिले फेरि ‘लङ्गौटिया यार’ बनेका छन् । लात्ती खाने दलका नेताले पनि आफ्नो स्वार्थका लागि लात्ती हान्नेकै पाउ मोल्न गए, विश्वासको मत दिंदै ।

सत्तामा पुग्नको लागि जे पनि गर्ने यिनीहरूको नक्कचरो पाराले आजित भएका नेपालीहरू विकल्पहरू खोजिरहेका थिए / छन् । केही पार्टीहरू चुनावमा उदाए पनि । तर अरूभन्दा फरक हुन्छौं भन्ने उनीहरू सत्ताको तर मार्न व्यस्त छन् । २० सिट जितेको रास्वपाका सभापति गृहमन्त्री बने । नागरिकताको विषयमा अन्तिम निर्णय दिने गृहमन्त्रीको नै नागरिकता विवादमा छ र अदालतले मुद्दा हेरिरहेको छ । “अदालतमा मुद्दा चलिरहेकाले नबोलेका” पार्टीका नेताहरूमा पनि सत्ता र शक्तिकै आसक्ति देखिरहेको छु । यद्यपि मौका पाएको बेला केही सुधार गर्छन् कि भन्ने झिनो आशा छ ।

अहिलेको मन्त्रिपरिषद् यस्तो खिचडी बनेको छ कि के भन्ने ? गणतन्त्रवादीदेखि राजावादीसम्म अनि संघीयताका पृष्ठपोषकदेखि विरोधीसम्म सबैले मौका पाएका छन् । सायद समावेशीकरण भनेको यही होला । जे होस्, राज्य समावेशी बनाउनुपर्छ भनेर वकालत गर्ने पार्टीले नेतृत्व लिएको सरकार समाबेशी देखिएको छैन । गरीब, दलित र सीमान्तकृतलाई जति नै उत्थान गर्नुपर्छ भने पनि यो प्रणाली उनीहरूको पहुँचमा छैन ।

उसो त राजनीति सीमित व्यक्ति र पार्टीहरूकै नियन्त्रणमा छ । उनीहरू हामीलाई भोट हाल्न लगाउँछन् मीठा सपना देखाउँदै । अनि हामी मत हालिदिन्छौं । हुन त हामीसँग उपाय पनि छैन । न हामी कसैलाई भोट नहाल्ने भनेर मतपत्रमै छाप हान्न पाउछौं न त छानिएका प्रतिनिधिको काम चित्त नबुझ्दा तिनलाई फिर्ता बोलाउनै सक्छौँ । नेताहरू मैमत्त साँढेजस्ता बन्छन् अनि हामी चैं बाली खाएको देख्दादेख्दै पनि धपाउन नसकेर आफूले आफैंलाई सराप्छौँ । यति नै त होला नि हामीले पाउने लोकतन्त्र !

सडकपेटी, बटुवा र व्यापार

यो साता सडकपेटीको व्यापारले समाचारमा ठूलै ठाउँ पायो । ठेलामा मकै बेच्ने एक दम्पतिको ठेला महानगर प्रहरीले लगेको दृश्य कसैले सामाजिक सञ्जालमा हालेपछि तीन धारका प्रतिक्रिया देखापरे । यस लेखमा ती तीन धारका चर्चा गर्दै भविष्यका सम्भावित परिदृश्य प्रस्तुत गर्छु ।

तीन धारका प्रतिक्रिया

१. महानगरले दु:खी गरीबलाई झनै दु:ख दियो

नगर प्रहरीले जबर्जस्ती मकै पोल्दापोल्दैको ठेला लगेको दृश्य हेर्दा मेरो मनमा झट्ट आएको प्रतिक्रिया यही थियो । दम्पतीको आक्रोश र रुवाइ मनमा बिझ्यो । महानगरले गल्ती नै गरेको हो भन्ने मनमा आयो । “यही हो त नयाँ सोच लिएर आएका मेयरको काम ?” भन्ने प्रतिक्रियाका पछि लागेर मनमनै बालेन शाहलाई गाली पनि गरेँ ।

२. महानगरले जे गर्यो ठीक गर्‍यो

भिडियो हेरेको केही घण्टा बितिसकेपछि आएको यो तर्कअनुसार महानगरको सुन्दरता र स्वास्थ्यलाई ठेला गाडा व्यपारले बिगारेको छ । नियममा बाँधिनु नपर्ने, करको दायरामा नआउने, फुटपाथ कब्जा गर्ने कथित व्यापारीप्रति सहानुभूति जनाउनु बेकार हो । यो तर्क कानूनी र नीतिगत रूपमा ठीक होला तर व्यावहारिक नभए झैं लाग्यो । झन् रिस उठ्यो ।

३. सडकमा गरिने व्यापारलाई स्थान र समय छुट्याएर व्यवस्थित गर्न सकिन्छ

सडक व्यापार संसारभर मानिसहरूले गर्छन् । सरकार/नगरले ठाउँ र समय छुट्याउँछ । त्यहीअनुसार व्यापारीहरू आफ्ना मालसामान विक्री गर्छन् । व्यापार करको दायरामा पर्ने हुनाले अर्थतन्त्रको हिस्सा हुन्छ । अरू देशबाट समेत स्ट्रीट फुड र स्ट्रीट प्रोडक्टका चाख्न, किन्नका लागि पर्यटकहरू जान्छन् । यो प्रतिक्रिया अरूभन्दा चित्त बुझ्यो तर कुन ठाउँ र समय दिने भन्ने समस्या आउँछ । प्रशासनिक र व्यवस्थापकीय कमजोरीका कारण भनेजस्तो सजिलो होला त ? भन्ने प्रश्न उब्जियो ।

भविष्यमा के होला ?

१. कतिपय कुराहरूजस्तै यो पनि केही दिनको लागि मात्रै मसाला बन्ला । समय बित्दै गएपछि र नयाँ मुद्दा आएपछि यो विषय यत्तिकै सेलाउला ।

२. कुनै व्यक्तिलाई देवत्वकरण गर्ने अनि साना गल्ती हुँदा दानवीकरण गर्ने नेपालीको समस्या नै भइसक्यो । बालेन शाहलाई चुनाव जित्दैमा देउताजस्तो पुज्नु जरुरी थिएन । कानून कार्यान्वयन गराउन खोज्दा दानव बनाउनुपर्ने पनि छैन । पुरानो शैली नदोहोरियोस् भन्ने कामना गर्नेहरूले उचित सल्लाह र बहस गर्दा राम्रै निष्कर्ष आउला । उचाल्ने र पछार्नेदेखि बालेन शाह सजग हुनुपर्ने देखिन्छ । सफल हुनका लागि उनले सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

३. हिजो साँझ घरछेउमा ठेला गुडाउँदै, मकै पोल्दै एकजना दिदी आउनुभयो । तीस रूपैयाँ तिरेर एक घोगा मकै खाइयो । यसो सोच्दा सामाजिक सञ्जाल र समाज फरक हुन् भन्ने लाग्यो । सामाजिक सञ्जालमा मानिसहरू पक्ष र विपक्षमा बहस गर्छन् तर समाज फरक छ । समस्याका समाधान कतै बीचमा छन् ।

४. मिहिनेत गरेर खाने मान्छेले मिहिनेत गर्न पाउने वातावरण हुनुपर्छ । कानून लागू गर्छु भनेर मात्रै पनि हुँदैन । कानूनले सबैलाई सहुलियत दिनुपर्छ । प्रत्येक वडामा रहेका खाली ठाउँ वा पार्कका सीमित क्षेत्रमा सीमित सङ्ख्यामा व्यापार गर्न दिने व्यवस्था गर्न सकिन्छ । फोहोर व्यवस्थापन लगायतका समस्या आउलान् तर समस्या समाधान गर्ने उपाय खोज्न सकिन्छ ।

५. सडकमा धेरै बिक्छ भनेर पसल भएका मानिसहरू पनि पेटी मिचेर व्यापार गरिरहेका देखिन्छन् । तिनलाई कानूनअनुसार कारबाही हुनैपर्छ ।

अन्त्यमा, सडक व्यापार व्यवस्थापन गर्न भृकुटीमण्डपमा ठाउँ दिँदा शहर कुरुप देखियो भन्ने तर्क पनि देखियो कतै । झट्ट हेर्दा ठीकै हो । तर त्यसलाई व्यवस्थित बनाउनै नसकिने हो र ? त्रिपाल हटाएर विभिन्न संस्कृति जनाउने स्थायी संरचना बनाउँदा पर्यटनलाई दिगो फाइदा नै होला । अरू देशमा गरिएका राम्रा कामहरूको अनुकरण गर्न अझै सकेका छैनौ हामीले । सबैलाई फाइदा हुने काम गर्न नेतृत्व तह तयार हुनैपर्छ ।

के नेपालीको दलीय सोच तोडिएला ?

वैशाख ३० गते स्थानीय तहको निर्वाचन आउन दुई दिन बाँकी थियो । घरमा कसलाई भोट हाल्ने भन्ने विषयमा छलफल हुँदै थियो । “भोट किन हाल्ने ?” मैले सोधेँ । “वडा समितिका अध्यक्ष र सदस्य बन्न कै लागि ठूला (भ्रष्ट) नेताको अघिपछि लाग्ने अनि आम नागरिकका टोलमा पनि नआउने उम्मेदवारलाई किन जिताउने ?”

बाबाले सम्झाउन खोज्नुभयो । “एकदुई जनाले भोट नहालेर के हुन्छ ? एकजनाले बढी भोट हाल्यो भने पनि कुनै एउटाले जितिहाल्छ । यति पर्सेन्ट ल्याउनैपर्ने भन्ने बाध्यता पनि छैन ।”

“त्यसो भए खराबमध्येबाट मात्रै छान्नुपर्ने हो त ? राम्रा उम्मेदवार दिन सक्दैनन् दलहरूले ?”

“दिँदैनन् ।”

“अनि किन भोट हाल्ने त ?” मलाई चित्त बुझ्दै बुझेन । “अनि चुनावअघि त यस्तो घमण्ड गर्छन् । चुनाव जितेको भोलिपल्ट देखि के होला ?”

प्रमुख पदका एक उम्मेदवारको रवैया मन परिरहेको थिएन । प्रष्ट विरोध गरेँ । “बालेन शाहले राम्रा र गर्न सकिने योजनाहरू ल्याएका छन् । इन्जिनियर हुन् । प्राविधिक ज्ञान पनि छ । एकचोटि मौका दिऊँ न ।”

तर पार्टीमा सक्रिय रहनु भएका मेरा परिवारका सदस्यहरूले आफ्नो दलबाट आएका उम्मेदवार बाहेक विकल्प नै देख्नुभएन । स्वतन्त्र उम्मेद्वारले जिते पनि वडाध्यक्षहरू पार्टीबाट आउछन् । केही गर्न सक्दैन । जित्न सक्नेलाई नै भोट दिनुपर्छ । ‘हुन त पार्टी बाहेकका मान्छेलाई टिक्न निदिएको जताततै देखेको हो तर एउटा मौका दिँदा त हुन्थ्यो होला । अनि मौका दिए त जसले पनि जित्न सक्छ नि !’ मनमनै भनेँ । चुनावको नतिजा जे भए पनि स्वतन्त्र विचारलाई समर्थन गर्ने निर्णय गरेँ ।

जे सुकै होला भन्दै भोट हालेको, बालेन शाहले जिते । मतगणना सुरु भएको ५ दिनसम्म त उनले जित्छन् जस्तो लागेकै थिएन मलाई त । काठमाडौं महानगरपालिका बाहेक धरान, धनगढी र जनकपुर उपमहानगरहरूमा पनि स्वतन्त्र रूपमा उठेका व्यक्तिहरूले चुनाव जिते । कुनै एउटा पार्टीको गढ भनेर चिनिएका धेरै ठाउँहरूमा अर्कै पार्टी वा व्यक्ति विजयी भए । स्थानीय निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली छ जसको भरपुर उपयोग पार्टीगत राजनीतिबाट आजित भएका आम नागरिकले गरे ।

लोकतन्त्रमा दलहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । हाम्रो त संविधानले नै “बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र”लाई आत्मसात् गरेको छ । त्यति मात्र हैन, समानुपातिक निर्वाचन प्रणालीले दलविहीनतालाई अस्वीकार गरिदिएको छ । यस्तोमा नेपालीहरूमा दलीय सोच हुनु अस्वाभाविक हैन । तर आफ्नो पार्टी सधैँ ठीक, सधैँ राम्रो भन्ने जुन तरिकाको सोच छ, त्यो परिवर्तन हुन जरुरी छ ।

आफ्नो स्वार्थ हेरेर कुनै राजनीतिक दलको आड लिने मानिसहरू धेरै सङ्ख्यामा छन् । उनीहरू न ती राजनीतिक दलका सिद्धान्त बुझ्छन्, न त नीति अनुसार चल्छन् । लाखौं रूपैयाँ “नेता”हरूका खल्तीमा भरिदिने हो पनि जोसुकै त्यो पार्टीको खुङ्खार नेता भनेर चिनिन्छ । यस्तो विचलनले पार्टीका इमानदार कार्यकर्ताको चित्त दुखाएको छ । यसको परिणाम चुनावमै देखिएको छ । टाउकेहरू अझै पनि अन्तर्घात र धाँधली भनिरहेका छन् । आफ्ना गल्ती सुधार्ने कुनै सोच देखिँदैन उनीहरूमा ।

यस्तोमा पार्टीका “नेता” भनाउँदालाई लाइनमा ल्याउने काम कार्यकर्ताको हो तर उनीहरू पनि आफ्नै स्वार्थमा अल्मलिएका छ्न् । नेतृत्व तह असहमति सहन सकिरहेको छैन । हरेक सिद्धान्त त प्रक्रियाको निर्मम समीक्षा हुनुपर्छ भन्नेहरू नै विरोधका मसिना स्वरहरूदेखि झस्केका जस्ता देखिन्छन् । यस्तो वाक्क लाग्दो राजनीतिको विकल्प केही ठाउँमा युवापुस्ताले खोज्न थालेको देखिन्छ ।

यद्यपि धेरै ठाउँमा सशक्त इमानदार विकल्प छैनन् । संघ र प्रदेशमा संसदीय व्यवस्था भएकाले राजनीतिक दलको विकल्प पनि राजनीतिक दल नै हुन् । कि त नयाँ इमानदार दल आउनुपर्‍यो कि त अहिलेका बेइमान दलहरू सुध्रिनुपर्‍यो । देश हाँक्ने मौका पाएका नेता र तिनका दलको त सुध्रिने छाँट छैन । पहिले इमानदार राजनीति गर्ने भनेर खुलेका पार्टी पनि कुर्सीकै राजनीति गर्न अग्रसर भएको देखिएकाले गर्दा नयाँ पार्टीहरूमा झट्ट विश्वास गर्ने अवस्था देखिएको छैन । कोभिड दौरान देखिएको “Enough is Enough” आन्दोलन संस्थागत गर्न चुकेकाले त्यस आन्दोलनको नेतृत्व पनि सशक्त हुने कुरामा शङ्कै छ । तथापि, पहिलेभन्दा फरक गर्न सक्ने मौका भने उनीहरूमा छ ।

नेपालमा अहिलेको जस्तो दलीय सोच हट्ला त ? असम्भव जस्तै देखिन्छ । तर दलमा आवद्ध भए पनि नभए पनि काम गर्न सक्ने मानिस छान्न भने नागरिकले चाहेको देखिन्छ । कुनै वादभन्दा पनि असहज परिस्थितिमा समेत भरोसा गर्न सक्ने नेतृत्व नागरिकले खोजेका छन् । खोजेजस्ता नेताहरू भेट्न गाह्रो होला तर केही प्रयास यही नै रहनेछ ।

डियर कमरेड

प्रकाश सपुतको गीत र भिडियोले तपाईंको मन पोलेछ । “हामीले त्यसलाई बोल्न सिकायौं अहिले हामी विरुद्ध बोल्ने ?” भन्ने प्रश्न गर्दा तपाईंको स्तर ठ्याक्कै त्यही सत्ताधारीको जस्तो भएको छ, जसको विरोध तपाईंहरू गर्नुहुन्थ्यो । कुनै बेला तपाईंले गाउने गीतहरू, देखाउने नाटकहरूका विरुद्ध सत्ता लाग्थ्यो । आज अरूका रचना माथि जाइलाग्ने स्थानमा पुग्नुभएछ । सामाजिक सञ्जालमा गीत बन्द गर्ने देखि सर्जकलाई मार्नेसम्मका कुरा गरिरहँदा एउटा कुरा भन्न मन लाग्यो, सत्तामा उक्लिएर शासक हुन सफल हुनुभएकोमा बधाई छ !

सत्तालाई सत्यले पोल्छ किनभने त्यसले तिनका झुठहरू छताछुल्ल पारिदिन्छ । एउटा गीतको भिडियोले सत्तामा तपाईंलाई यति छटपटी भएको छ भने पक्कै त्यसले सत्य उजागर गरेको छ । स्वाभिमानलाई तिलाञ्जलि दिएर देश बेच्ने तपाईंका कमाण्डरहरूप्रति भने गर्व गर्नुहुन्छ । कमरेड, सत्ता र शक्तिमा यति मोह किन गर्नुहुन्छ ?

कुनै एउटा सिर्जनामा सबै समस्या कहाँ उजागर हुन्छन् र ? समस्याका चाङ चुलिएका छन् । तपाईंको दृष्टि धुलिएको छ । जानुस्, आँखा धुनुस्, चस्मा फेर्नुस् । आफूले धोका दिएका छापामार साथीहरूसँंग भेट्नुस् । क्रान्तिलाई धोका दिने तपाईंका कमाण्डरहरू माथि प्रश्न गर्नुस् सर्जक र सिर्जनामाथि आक्रमण गर्नु अघि ।

आक्रमण गर्नु नै छ भने अरू सिर्जनामा गर्नुस् । कैँची चलाउनुस् तपाईंका कमाण्डरको यथार्थ देखाउने यी गीत (र अरू पनि होलान्) माथि । सक्नुहुन्छ ?

के हामी स्वतन्त्र छौँ ? (जर्ज बर्नाड शअको सन्दर्भमा)

[प्रस्तुत लेख मोहन मैनालीद्वारा अनुदित आकाशमुखी संग्रहको जर्ज बर्नाड शअको स्वन्त्रता शीर्षकको निबन्धमा आधारित छ ।]
जर्ज बर्नाड शअ (फोटो स्रोत: NPG)

आफूलाई मन लागेका कुरा बिना कुनै रोकटोक गर्न पाउनुलाई हामी स्वतन्त्र भएको मान्दछौँ । तर स्वतन्त्रताका पनि सीमा हुन्छन् । समाज र कानूनले बर्जित गरेका क्रियाकलाप गर्न हामीलाई छुट छैन । त्यस्ता क्रियाकलाप गरेमा सामाजिक बहिष्करण देखि कानूनी कारबाहीसम्म हुन सक्छ । यसर्थ मानिस पूर्ण रूपमा स्वतन्त्र छैन ।

रुसो भन्छन्, “मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र बाँधिएको हुन्छ ।” जन्मसिद्ध स्वतन्त्रताको हकमाथि राज्यले अङ्कुश लगाउँछ भन्ने आशय उनी व्यक्त गर्छन् । जर्ज बर्नाड शअ “स्वतन्त्रता” शीर्षकको निबन्ध वाचन गर्ने क्रममा भन्छन्, “प्रकृतिले पनि मानिसलाई बाँधेको छ” । दैनिक क्रियाकलाप जस्तै सुत्ने, उठ्ने, दिसापिसाब गर्ने, खाना खाने लगायतका कुराहरूलाई प्रकृतिले नियन्त्रण गरेको हुन्छ । तर यस्ता गर्नै पर्ने अत्यावश्यक क्रियाकलापलाई हामी बोझ ठान्दैनौँ, उनी भन्छन्, किनकी प्रकृतिको नियन्त्रणले गर्दा नै जीवन सम्भव छ ।

मानिसले मानिसलाई गर्ने नियन्त्रण चैं हामीलाई बोझिलो लाग्छ । केही महीनाअघि लेखेको What’s the Point? कथामा वाचक (म पात्र) नोकरी (जब) गर्न मन गर्दैन । ऊ भन्छ, “नोकरी अभिशाप हो । यसले मानिसलाई पैसा र रोजगारदाताको दास बनाउँछ । पैसाकै लागि तपाईं काम गर्नुहुन्छ । बोसले पैसा दिन छाड्यो भने तपाईं काम नै छाडिदिनुहुन्छ । नोकरीले तपाईंको स्वतन्त्रता खोस्छ ।”

यो नितान्त व्यक्तिगत अनुभवबाट प्रेरित भएर लेखेको कुरा थियो । शअको निबन्धमा लगभग यस्तै तर अझ कडा शब्दमा रोजगारदाताप्रती रोष छ:

“तपाईंको रोजगारदाताले कपाल यसरी काट् भन्न सक्छ । यस्तो रङको, यस्तो खालक लुगा लगा भन्न सक्छ र यति बेलादेखी यति बेलासम्म काम गर् भन्न सक्छ । उसको आदेश टेर्नुभएन भने उसले जुनसुकै बेला पनि तपाईंलाई सडकमा पुर्‍याइदिन सक्छ . . . छोटकरीमा, राजनीतिक तानाशाहले तपाईंलाई जति नियन्त्रण गर्न सक्छ, रोजगारीदाताले त्योभन्दा बढी नियन्त्रण गर्न सक्छ ।”

राजनीतिक स्वतन्त्रताको सन्दर्भमा जर्ज बर्नाड शअ भन्छन्,

सरकारहरूले नागरिकमाथि दासता थोपर्छन् र त्यसलाई स्वतन्त्रता भन्छन् । सरकारहरूले मालिकको लालचलाई निश्चित सीमाभित्र राखेर नागरिकको दासताको हदलाई भने नियन्त्रण गर्छन् । मानिसलाई आफ्नो सम्पत्तिका रूपमा बेचबिखन गर्न पाउने दासप्रथा ज्यालामजदूरी प्रथाभन्दा महँगो भएपछि उनीहरूले दासप्रथा उन्मूलन गरे । यसले गर्दा कुन मालिकको कुन काम गर्ने भन्ने छनोट गर्न कामदार स्वतन्त्र भए । यसलाई उनीहरूले स्वतन्त्रताको विजय भनी जयगान गाए । जति स्वतन्त्र भए पनि कामदार त बेघरबार नै हुन्छन् ।

त्यस्तै चुनावका विषयमा उनी भन्छन् :

. . . उनीहरू कामदारलाई चुनावमा भोट हाल्ने अधिकार दिन्छन्, हरेक पाँच वर्ष जस्तोमा आमचुनाव हुने व्यवस्था मिलाउँछन् । चुनावमा धनी दुई जना उम्मेदवारले तपाईंसँग भोट माग्छन् । तपाईले यी दुई धनीमध्ये जसलाई पनि छान्ने स्वतन्त्रता पाउनुभएको हुन्छ । हो, तपाईंले यस्तो कुराको छनोट गर्न पाउनुहुन्छ, जसले तपाईलाई पहिलेभन्दा अलिकति पनि बढी स्वतन्त्र बनाउँदैन किनभने यसो गर्दा तपाईंको कामको बोझ कत्ति पनि घट्दैन । अनि समाचारपत्रले तपाईलाई के कुरामा विश्वास दिलाउँछन् भने तपाईंको मतले निर्वाचनको परिणाम निर्धारण गयो । यति हुनेबित्तिकै तपाईं प्रजातान्त्रिक मुलुकको स्वतन्त्र नागरिक हुनुभयो । छक्क लाग्छ, तपाई कति मूर्ख हुनुहुन्छ भने यस्तो कुरा पत्याइहाल्नुहुन्छ ।

उनी थप्छन्, “१० मध्ये ९ मतदाता साधारण कामदार भए पनि उनीहरूमध्ये थोरैलाई मात्र आफ्नै वर्गका मानिसलाई भोट दिऊँ भनेर मनाउन सकिन्छ ।” यसको कारण के हो भने शासक भनेको रवाफिलो, चट्ट परेका लुगा लगाउने र विशेष अदब भएको मान्छे हो भन्ने मानसिकता हो ।

यी हरफहरू पढ्दै गर्दा ८ वर्षअघि आफूले लेखेको “Democracy or Aristodemocracy?” शीर्षकको ब्लग पो याद आयो । त्यसमा लेखेको थिएँ, “लोकतन्त्र भएका देशहरूमा जोकोही उम्मेदवार सजिलै बन्न पाउँछ तर विजेता प्राय: उही हुन्छ, जसले पैसाको खोला बगाउन सक्छ ।”

माथि नै भनियो, मानिसलाई समाज र कानूनको बाँधेको हुन्छ । शअ पनि कानूनले स्वतन्त्रता संकुचित गर्छ भन्छन् अनि थप्छन्,

कानून विवेकसम्मत छन् र तिनलाई निष्पक्ष ढङ्गले लागू गरिएको छ भने तपाईंले कानूनविरुद्ध गुनासो गर्ने कारण हुँदैन किनभने कानूनले सामान्यतया तपाईंमाथि हातपात, डकैती र अराजकता हुन नदिएर तपाईंको स्वतन्त्रताको मात्रा बढाउँछ ।

यहाँ रमाइलो विरोधाभाष छ । कानूनले स्वतन्त्रतालाई सीमित पनि गर्दो रहेछ अनि स्वतन्त्रताको रक्षा पनि गर्दो रहेछ । आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अर्काको स्वतन्त्रता हनन हुनुहुँदैन भन्नु पनि त स्वतन्त्रताको सीमितता नै त हो नि, हैन र ?