सोनाम वाङ्चुकको अन्तर्वार्ताले सिकाएका केही कुरा

१. ज्ञान र शिक्षा फरक कुरा हुन् ।
२. गलत शिक्षा हुनुभन्दा नभएकै वेश ।
३. शिक्षाको उद्देश्य सिक्ने या बुझ्ने हुनुपर्छ । त्यसो नभएसम्म शिक्षा र शिक्षा प्रणाली गलत हुन्छन् ।
४. उत्सुकता र प्रकृतिसँगको निकटताले मानिसलाई ज्ञानी बनाउँछ भलै उसले औपचारिक शिक्षा नपाएको होस् ।
५. दक्षिण एसियामा मातृभाषामा ज्ञान पाउन धेरै नै गाह्रो छ । मातृभाषाबाट हुने सिकाइले बालबालिकालाई उत्सुक बनाउन सिकाउँछ र उनीहरूको आत्मविश्वासमा समेत मद्दत गर्छ । मातृभाषामा राम्रो पकड छ भने अरू भाषा सिक्न पनि सजिलो हुन्छ ।
६. भूगोल र माटो अनुसारको शिक्षा उपयोगी हुन्छ । युरोपेलीको नक्कल गरेर अघि बढ्न सकिन्न ।
७. सरकारमा रहेका/प्रभावशाली व्यक्तिका सन्तानहरू सार्वजनिक शिक्षा प्रणालीमा नभएसम्म सार्वजनिक शिक्षामा केही परिवर्तन आउँदैन ।
८. प्रकृतिमा प्रकृतिसँग सिकेका कुराहरू वास्तविक ज्ञान हुन् तर त्यसतो मौलिक ज्ञानको साटो हाम्रा शैक्षिक संस्थाहरू युरोप र अमेरिकाका कोर्सहरू कपी-पेस्ट गरिरहेका छौँ । यसले हामीलाई पछि पार्छ ।
९. शिक्षाका तीन माध्यम हुन्छन्: (१) श्रुतियुक्त (सुनेका र पढेका कुरालाई महत्त्व दिने), (२) चेतनायुक्त (सुनेका/पढेका कुरालाई मनन गर्ने र तीमाथि तर्क गर्ने) र (३) भावयुक्त (अनुभव लिँदै सिक्ने) । हाम्रो शिक्षा प्रणालीमा अनुभव लिँदै सिक्ने कुराको अभाव छ ।

सोनाम वाङ्चुकको अन्तर्वार्ता

सरकार ! नक्सा मात्रै निकालेर पुग्छ ?

(गणतान्त्रिक नेपालमा “सरकार” शब्द भद्दा लाग्छ । “सरकार” शब्द प्रयोग गरिरहँदा म आफूलाई भुईंमा बसेर गद्दीमा गमक्क परेर बसेको शासकको निगाह बक्स गरिरहेको कल्पना गर्छु । तर शासन संयन्त्रको लागि यो जत्तिको अर्को संबोधन छैन किनकी “सरकार” को चाकर नगरे सम्म जनताले जीवनका आधारभूत आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसैले त्यही शब्दले सम्बोधन गर्न बाध्य छु ।)

२०७७ जेठमा नेपालको नयाँ नक्सा पारित भयो । भारतसँग विवाद रहेको कालपानी क्षेत्र लाई समेटेर नक्सा बनाए पनि त्यहाँको वस्तु स्थिति बारे बुझ्न सरकार तयार भएको देखिँदैन । साझा कथाले यूट्युबमा राखेको भिडियो हेरे पछि सरकारप्रति रिस उठेको छ ।

नेपालको नयाँ नक्सा
साझा कथाको साहसी टिमले बनाएको वृत्तचित्रको पहिलो भाग

कालापानी भू-भाग हाम्रो हो भन्ने कुरा भूगोलको आधारमा त गलत छैन तर त्यहाँ राज्यको अनुभूति खै त ? ज्यान हत्केलामा राखेर छाङरू सम्म पुगेको साझा कथाको रिपोर्टिङको पहिलो भागमा नै त्यहाँ मात्र होइन, विवाद नभएको ठाउँमा पनि राज्यको उपस्थिति शून्य देखिन्छ । पारि भारतमा दुई लेनका सडक छन्, बस्तीहरू मा आधारभूत सुविधा छन् , लगातार सुरक्षा गस्ती छ । बाटो निर्माण चलिरहेकै छ । यता पट्टि नेपालमा डरलाग्दा ठाडा भीर छन्, पहिरो छ । सुरक्षाकर्मीको नाम निशान छैन । ठूला मान्छे आएको बेला मात्रै ड्युटी चल्छ । सीमाना जस्तो संवेदनशील क्षेत्रमा समेत कोही सैनिक प्रहरी र प्रशासन नहुनुले हामीलाई देशका साँध सीमाको कुनै मतलब छैन भन्ने देखाउँदैन र ?

सीमालाई गम्भीरताका साथ नलिएको त आफ्नै आँखाले देखेकै हुँ सिन्धुपाल्चोकको तातोपानीमा । मितेरी पुल अगाडि साइन बोर्ड छ जसमा लेखिएको छ ‘यहाँ फोटो / भिडियो खिच्न मनाही छ ।’ सँगै एउटा सानो पोस्ट छ जहाँ हरबखत एक जना सुरक्षाकर्मी हुनैपर्छ तर छैनन् । पारि चिनियाँहरू पहरा दिएर बसिरहेका छन छन् । फोटो खिच्न मनाही भने पनि ‘उताको नखिच्नु यतापट्टीको खिच्दा हुन्छ’ भनेर यता बाट अनुमति पाइयो । सुरक्षाकर्मीहरू चैं गफ चुट्नमा व्यस्त थिए । पारिबाट कोही आयो भने पनि यता थाहा पाउने स्थिति छैन तर पारिका सुरक्षाकर्मी हाम्रा एकएक गतिविधि ध्यान दिएर हेर्छन् ।

त्यो भन्दा पनि अप्ठ्यारो अवस्था साझा कथाले बनाएको वृत्तचित्रमा देखिन्छ । सरकार, हामीले यहाँ नक्सा पास गरायौँ, खुशीयाली मनायौँ । तर आफ्नो स्वामित्वको, त्यसमाथि विवादित क्षेत्रमा सेना किन नपठाएको ? यत्तिका वर्ष उता बाटो बनिरहँदा किन चुप बसेको ? ‘मलाई कसैले रिपोर्टिङ गरेनन्’ भनेर प्रधानमन्त्रीले भनिसक्दा पनि रिपोर्टिङ गर्ने संयन्त्र स्थापना गर्न अझै पनि ढिलासुस्ती किन ? सरकार, अझै कति लाचार बन्ने ? नेपालको जमिनमा बसेका तर नेपालको सरकारले काहिल्यै नहेरेका त्यहाँका नागरिकले अपराध बोध किन गर्नु पर्ने ? बस्नु अपराध आफ्नो जमिनमा विवाद निम्त्याइ सकेपछि समाधानको पहल किन गर्न नसकेको ?

संघीय संसद्को नयाँ ‘लोगो’ जसले नेपालीको भावनामाथि उपहास गरेको छ

देशको कुनाकुनामा राज्यको उपस्थिति भए मात्रै देश बलियो र समृद्ध हुन्छ । नक्सा पास त संघीय संसदबाट भयो तर त्यही संघीय संसद्को लोगोले नयाँ नक्सा र जनभावना प्रति कटाक्ष गरेजस्तो लाग्छ । कालापानी क्षेत्रको समस्या समाधान नभएसम्म नक्सामा मात्रै राखेर गमक्क पर्न छुट छैन सरकार ! नक्सा सुरुवात मात्रे हो । यो पर्याप्त छैन । छिमेकीलाई बलमिच्याइँ गर्न नदिन हाम्रा संयन्त्र अझै लागेका छैनन् । केटाकेटी खेले जस्तो गरेर सीमा विवाद समाप्त हुँदैन । सरकार ! नक्सा मात्रै निकालेर हुन्छ ? झन्नै ६० वर्ष भो राज्यको उपस्थिति त्यहाँ नभएको । अझै कति ढिलाइ गर्ने हो ?

७ दिन ७ पुस्तक

फेसबुकमा केही वर्षदेखि नै ७ दिन ७ पुस्तक च्यालेन्ज देखेकाे थिएँ । नेपाली पुस्तकप्रेमीहरूले पठन संस्कृतिकाे प्राेत्साहनका लागि ७ दिनसम्म ७ वटा पुस्तक कुनै पनि व्याख्या वा समीक्षाविना पाेस्ट गरिरहेका थिए । समीक्षासहितकाे चुनाैति पनि देखेकाे हुँदा केही नलेखी फाेटाे मात्र राख्दा कसैले ‘ढर्रा पारेकाे’ भन्ने हाे कि भन्ने शंका जाग्थ्याे । गुगलबाट खाेजेर किताबकाे फाेटाे राख्न पनि गाह्राे छैन । व्याख्या वा समीक्षाविना पाेस्ट गरिरहँदा अरूलाई पठनप्रति आकर्षण गर्न सकिन्छ र ? भन्ने प्रश्न पनि मनमा थियाे ।

साथी गौरी बम्जनको च्यालेन्ज स्वीकार गर्नुअघि माथी उठेका प्रश्नहरू बारे सोचेँ । व्याख्या गर्न मन हुँदा पनि नगरेर फोटोहरू हालेँ । ती पुस्तकहरू यहाँ प्रस्तुत गरेको छु । अनि ती पुस्तक किन छानेँ भन्ने कुरा पनि समेटेको छु (च्यालेन्ज दौरान नलेखे पनि) ।

१. मोती र गुलाफ (लोककथा सङ्ग्रह)- शिवहरि अधिकारी

कक्षा १ मा छँदै पुरस्कार स्वरूप पाएको यो किताब धेरै नै प्रिय छ । यसमा भएका ६ वटा कथाले मन छुन्छन् अनि केही नैतिक शिक्षा पनि दिन्छन् । धेरै वर्ष छिमेकमा बसेर फिर्ता आएकोले गर्दा पनि यो किताबप्रती आशक्ति अलि बढी छ ।

२. बनारसमा बेचिएकी बहिनी (निबन्ध सङ्ग्रह)– नगेन्द्र

आठ कक्षामा छँदा किताब र पत्रिका राखेको बक्सामा एकदिन यो पुस्तक भेटेको थिएँ । टङ्कनमा धेरै गल्ती भए पनि यसले सुरुमै आकर्षित गर्‍यो । यी निबन्धहरूले निबन्धप्रतिको दृष्टिकोण नै परिवर्तन गरे । मेरा कतिपय ब्लग पनि यी निबन्धबाट प्रभावित छन् ।

३. धुवाँ (कथा सङ्ग्रह)–आत्माराम शर्मा

बाबाले ल्याउनुभएको यो किताब ५ कक्षादेखिका धेरै बिदाहरूमा पढेको थिएँ । सामान्य मान्छेका असामान्य कथाहरूले रुवाउँथे । नपढेको धेरै भएको हुँदा धेरै कुरा याद छैनन् । फेरि छिट्टै पढ्नुपर्ने पुस्तक हो यो ।

४. एउटा कथा भन्नु न हजूरआमा (बालकथा सङ्ग्रह)- रमेश विकल

रमेश विकलका कथा र उपन्यासहरू विभिन्न उमेर समूह लक्षित छ्न् । बालबालिकाका लेखिएका यस सङ्ग्रहका कथाहरूले कल्पनाको संसारमा पुर्‍याउँछ्न् ।

५. जंगबहादुर (ऐतिहासिक उपन्यास)–श्रीकृष्ण श्रेष्ठ

साधना मासिकमा जङ्गबहादुर उपन्यासका अंश पढ्दा आङ सिरिङ्ग हुन्थ्यो । सानोमा धेरै पटक यी अंश पढेको थिएँ । पूरा उपन्यास पढ्न भने पोहोर साल मात्र जुर्‍यो, त्यो पनि जापान टुरको दौरान । यस उपन्यासको समीक्षा पोहोर साल लेखिसकेको छु ।

६. घनचक्कर (उपन्यास)–सञ्जीव उप्रेती

७. लिखे (उपन्यास)–शरद पौडेल

पागलपनको कथा बोकेको घनचक्कर पहिलो चोटि पढ्दा कायल भएको थिएँ । कक्षा ९ मा एउटा प्रतियोगितामा पुरस्कारको रूपमा पाएको दिन करिब ५ घण्टामा पढिसकेको थिएँ । त्यसपछिका वर्षहरूमा पढ्दा हरेक पल्ट नयाँ कथा र सोच भेटेको छु । पढेका नेपाली उपन्यासमध्ये सबैभन्दा माथिल्लो तहमा घनचक्करलाई राख्ने गरेको छु ।

नवयुवा मासिकमा लिखेका केही अंश पढेको थिएँ । “जङ्गबहादुर”झैँ यो किताब पनि देख्नेबित्तिकै किनेको थिएँ । बाग्लुङको सानो गाउँमा अछुत भनेर ठूला जात भनाउँदाले दिएका दु:ख र लिखेले सानै उमेरमा गर्नुपरेको संघर्षले मुटु कुँड्याउँछ ।

अन्त्यमा, मेरा प्रश्नका जवाफ पाएँ । व्याख्या नै नगरे पनि पुस्तकप्रति आकर्षित गराउन सकिँदो रहेछ । त्यसो भए यति लामो लेख किन ? किनकी यो नलेखी चित्त बुझाउनै सकिनँ । अनि यो लेखमार्फत अझै धेरैलाई आकर्षित गर्न सक्छु कि भन्ने सानो प्रयास (आश) हो ।

हतार

बिहान कलेज जान समयमै निस्कन खोजे पनि कहिले के मा कहिले के मा अल्मलिन्छु । हतार गर्दै निस्कन्छु । आफूलाई चाहिने चीजबीज छुट्छन् । ‘छुटे छुटुन् है !’ भन्दै पुग्छु गाडी चढ्न । गाडी चढ्ने कुनै निश्चित बिसौनी छैन । भित्री सडकमा न ट्राफिक चाप न त गस्ती । जहाँ गाडी भेट्यो त्यहीँ हात दियो, गाडी रोकिन्छ तर यति हतारमा हुन्छ कि पाइला राख्न नपाउँदै हिँडिसक्छ । लड्दैपड्दै सीट सम्म पुग्छु । बसमा तै बिसेक, माइक्रोबसमा त कहिलेकाहीँ बस्ने ठाउँसम्म हुन्न । कोच्चिन्छु । गन्तव्यसम्म पुग्न हतार छ ।

मैले मात्रै हतार गरेर भएन । चालक दलका दुई सदस्यलाई आराम छ । अघि म चढ्दा हुइँकाउने चालक दाजु अहिले कछुवाको चालमा अघि बढाउनुहुन्छ । “मान्छे नै छैन,” सहचालक भन्नुहुन्छ । म चाहिँ घडी हेर्छु अनि आत्तिन्छु । ढिला हुन लागिसक्यो ।

गाडीले वेग लिएपछि दङ्ग पर्छु । अचानक घ्याच्च ब्रेक लाग्छ । अगाडि हुत्तिन्छु । धन्न नाकको डाँडी भाँचिएन । “के गरी चलाको हौ ?” यात्रुहरू आक्रोशित हुन्छन् । “पचासी आइसक्यो” सहचालकको आवाज सुनिन्छ । पछाडिको गाडीले उछिन्यो भने पेसेन्जर पाइन्न । चालक दललाई हतार भयो अहिले चाहिँ । यात्रु चढाउने र ओराल्ने काम तीव्र गतिमा हुन्छ । वेग बढेको गाडी कतै जाकिने हो कि कसैलाई ठोकिदिने हो कि, सातो जान्छ ।

टुँडिखेल पूर्वको पुरानो बसपार्क नयाँ बनाउन हटाएपछि खुल्लामञ्चमा पुग्यो । केही महिनापछि भृकुटीमण्डपमा माइक्रोबस र अधिकांश गाडी रोक्न प्रतिबन्ध लाग्यो । अचम्मको कुरा चाहिँ के भने ती स्टपका प्रतीक्षालयमा प्रतिबन्धको केही दिनअघि मात्रै नयाँ रङ्ग लगाइएको थियो । अब जमलदेखि सुन्धाराका बीचमा कतै गाडी रोक्न पाइन्न । तर हामी यात्रुलाई नीतिनियमले कहाँ बाँध्छ र ? घण्टाघर ओर्लिनुपर्नेलाई जमलमा ओर्लिन हुन्न । अरू बेला ‘नियमसियम बाल’ भन्ने चालकदल सकेसम्म जमलमा नै ओर्लिदियोस् भन्छ । तर ढिट यात्रुका सामुन्ने प्रायः लाचार हुन्छ अनि झारिदिन्छ जहाँ यात्रु चाहन्छ । यस्तो दृश्य वागबजारको आकाशे पुल, भृकुटीमण्डप अगाडिको प्रतीक्षालय र शहीदगेटमा सधैँजसो बिहानपख देखिन्छ । दिउँसो ट्राफिक प्रहरीले बढी निगरानी गर्ने हुनाले यात्रुलाई गाली गर्दै र यात्रुको गाली सुन्दै भए पनि जमल र सुन्धारामा नै गाडी रोक्छ चालकदल ।

“कति हतार हो हामीलाई ?” आफैँलाई प्रश्न गर्छु । ज्यानलाई हत्केलामा राखेर, असुरक्षित तरिकाले बाटो काटेर, ट्राफिक नियमको पालाना नगरी हामी छिटो ठाउँमा पुग्ने नाममा यो के गर्दैछौँ ? यस्तो बेतुकको हतारो केका लागि ?

हामीलाई हामीले खोजेको ठाउँमै गाडी आइदिनुपर्ने, जहाँ भन्यो त्यहीँ ओरालिदिनुपर्ने, ट्राफिक प्रहरीको लागि मात्रै नियम पालना गरिदिनुपर्ने, आदि इत्यादि समस्याको मूल जरो अनुशासनको कमी हो । सरकारले सबै ठाउँमा एकै किसिमको नियम लागू गराउन नसक्नुमा सरकारको कमजोरी त छँदै छ, कतै न कतै हामी आम जनता पनि त्यस्तो कमजोरीका कारक हौँ । ट्राफिक नियमका सामान्य काइदा पालना गर्न नसक्ने हामी नेपालीहरू अरू नियमकानून पनि लत्याउँदै उन्मुक्त साँढेझैँ हिँडेका छौँ । यस्तो हिँडाईले हामी विकास र समृद्धिको गन्तव्यमा पुगौँला ? म त सम्भावना ज्यादै कम देख्छु ।

हतारिनु र हतासिनु कमजोर मनस्थितिको उपज हो । हामीभन्दा पछि स्थापना भएका देशहरू अगाडि बढेको देख्दा हामी छ्ट्पटिन्छौँ । उनीहरूले समातेको बाटो पहिल्याउन खोज्छौँ । तर तिनका योजना हामीले लागू गर्न सक्दैनौँ । उनीहरूका र हाम्रा चुनौती र अवसर नै फरक छन् । स्काइस्क्रेपरहरू उनीहरूका समृद्धिका प्रतीक हुन् भनेर हामी पनि समृद्ध देखिने हतारमा त्यस्तै गगनचुम्बी भवन बनाउन थाल्छौँ । यस्तो देखावटी अनि योजनाविहीन प्रतिस्पर्धाले कतै हामीलाई भड्खालोमा जाक्ने त होइन ?

अनुशासन बिना कुनै योजनाको सफल कार्यान्वयन हुनै सक्दैन । जसरी पनि अघि बढ्ने नाममा सोचविचारै नगरी बाटो खन्दा पहिरो खस्ने सम्भावना बढ्छ । त्यस्तै अरूलाई उछिन्न खोज्दा हाम्रा मूल्यमान्यता परिवर्तन भएका छन् । जो धनी देखियो उसलाई सम्मान गर्ने समाज अनि संभ्रान्त बन्न हतार गर्नेहरूका कारण भ्रष्टाचारको चक्रव्यूहमा हामी फसेका छौँ । आफूलाई अनुशासित राख्ने मानिसहरू कागको हुलमा बकुल्ला बन्ने अवस्था रहेसम्म हामी हत्पतको काम लत्पत गरिरहने छौँ ।

भेडा (भाग-२)

डेढ वर्षअघि भेडा शब्दलाई चुनावी सन्दर्भमा मात्रै बुझेको थिएँ । हिजो साँझ बल्ल यो शब्दको वास्तविक अर्थ बुझेँ ।

कुनै व्यक्ति वा दलले आफ्ना कुरा मान्नेलाई वा (मनाउनु पर्‍यो भने) जनताजनार्दन भन्दा रहेछन् । जब जनताजनार्दनले अरू कसैको पक्ष लिन्छ, उसलाई दुत्कार्दै भन्दा रहेछन्, “भेडो कहीँको!!

जतिसुकै आशावादी भए पनि नेपालको राजनीतिले आशालाग्दो बाटो कहिल्यै देखाएन । कुनै राजनीतिक पार्टी एनजीओ (NGO) शैलीमा काम गर्छन् त कुनै अधिनायकवादी सोच राखेर । पदको कुन हदसम्म लोभ छ भने पूर्वपार्टीप्रमुख र पूर्वप्रधानमन्त्री भएर देश हाँकिसकेकाहरू, जसले पार्टी बाहिर रहेर बृहत्तर हितका लागि लाग्नुपर्ने हो, पार्टीभित्र मर्यादाक्रमका लागि जोरी खोज्छन् । अनि तिनै तप्काका “व्यक्तित्वहरू” विदेशी मन्त्री/सचिवलाई हतारिँदै होटलमै ढोगभेट गर्न जान्छन् । तिनलाई चुनावमा जिताउनेले प्रश्न गर्‍यो भने जवाफ दिन्छन् (तिनीहरूभन्दा पनि उपबुज्रुक तिनका कार्यकर्ताहरू), “किन जान्ने हुन्छौ, भेडा हो ?”

जनताका झिनामसिना कुरा सुन्ने फुर्सद छैन उनीहरूलाई । ठूला सपना देख्दा आँखा यसरी टट्टिएका छन् कि नजिकको समस्या देख्दैनन् । आफू अघिको समस्या समाधान गरौँ अनि ठूला सपना साँचेको सुहाउँछ, मज्जा पनि आउँछ । तब कोही बुर्लुक्क उफ्रिन्छ, “सपना देखेको पनि देखी सहँदैनन् भेडाहरू ।”

साधारण नागरिक पलपल मरिरहेको छ । देशभित्र ऊ काम गरेर खान सक्दैन । यसका केही कारण छन्:

१. उसलाई विदेशमा पारिजातको फूल झरेझैँ पैसा झर्छ भन्ने सुनाइएको छ ।

२. नेपालमा काम गर्न उसलाई लाज लाग्छ । समाज नै त्यस्तै छ । काम गर्नेलाई खिसी गर्छ अनि काम नगरी फूर्ती देखाउँदै हिँड्नेलाई खुट्टामा ढोग्छ ।

३. कुनै उद्योगमा राजनीती घुस्यो भने धराशायी बनाएरै छोड्छ ।

४. जसरी पनि कमाउनुपर्छ भनेर लागिपरेका छन् मानिसहरू । भ्रष्टाचार नभएको ठाउँ छैन ।

५. भुइँमान्छेका बीचबाट नेता बनेकाहरू तिनको टाउको टेक्दै अघि बढेर आकाशमा पुगे । भुइँमान्छेहरू पातालमा भासिँदैछन् ।

मान्छेसँग जब विकल्प बाँकी हुँदैन, कि ऊ नयाँ कुराको खोजी गर्छ, कि भएका सर्जामलाई अलि भिन्न प्रकारले चलाउन खोज्छ । विदेशिनु नयाँ कुराको खोजी हो (किनकी नयाँ भनिएका पार्टीहरू जनतामाझ पुगेकै छैनन्) । त्यस्तै, दुईतीनवटा पार्टीलाई पालैपालो जिताउनु पुरानाप्रतिको नयाँ आशा हो । यो चलन नेपालको मात्रै होइन । अमेरिकामा प्रायः डेमोक्र्याट्स र रिपब्लिकन पार्टीहरू पालैपालो सत्तामा जान्छन् । त्यस्तै बेलायतमा लेबर र कन्जर्भेटिभले पालैपालो बर्चस्व बनाइरहन्छन् । हुन त ती पार्टीकै समर्थक बीच पनि दह्रो रस्साकस्सी चल्छ । तर जनतालाई “भेडा” भन्ने नेताको बारेमा चैँ आजसम्म सुनेको छैन ।

चेतनाको स्तर पनि एउटा मापक हुँदो हो । नेपालका सबै मानिस पढेलेखेका छैनन् । पढेलेखेका सबै विवेकी र नीतिवान छैनन् । यसर्थ पढेलेखेका चेतनशील र अनपढहरू अचेतनशील भन्ने छुट मलाई छैन । किनकी “भेडा” उपमा जन्माउने र फैलाउनेहरू शिक्षित भनाउँदा नै हुन् ।

हालसालै पत्रकार रवि लामिछाने जेल पर्दा उनको समर्थनमा जनसागर उर्लियो । ती जनतालाई फेरि पनि भनियो, “भेडा”; भन्नेहरू थिए जसले उनको कार्याक्रम हेरेका थिएनन्, कार्यक्रम मनपराउँदैनथे वा चिढिएका थिए । कार्यक्रम नहेरी मूल्यांकन गर्ने अन्तर्यामीहरूलाई त के भनूँ ? उनको शैलीमाथि बहस हुनुपर्छ भन्ने कुरामा म पनि विश्वास राख्छु र उनलाई देउता मानेर पुज्नु हुन्न भन्ने कुरामा म अडिग छु । तर उनलाई देउता मान्नेहरूप्रति दुराग्रह छैन । कुन परिस्थितिमा उनी कसका लागि उनी देउतातुल्य भए, म बुझ्छु । अनि उनले त्यत्रो वर्ष कार्याक्रम चलाउँदा चुइँक्क नगर्नेहरू उनी तल पर्दा कुर्लिएको देख्दा लाग्यो, “ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ ।”

आफूलाई अनुकूल हुँदा जनतालाई “भगवान” भन्ने अनि आफूलाई प्रतिकूल हुँदा “भेडा” भन्ने मानिसहरू विवेकका दुश्मन हुन् । जनताको शक्तिको आडमा सर्वोच्च सत्तामा पुगेकाहरूले जनतालाई यो हदसम्म गिराउन कसरी सक्छन् ? ताजुब लाग्छ !

चुप !

थाहा थियो तर चुप थियौँ । बोल्यो कि पोल्यो ! अपशब्दको वर्षा हुन्थ्यो । बोल्न खोज्नेलाई किचकिचे बनाइदिन्थ्यौँ । चुप बस्थ्यौँ । अझै पनि खुलेर बोलेका छैनौँ ।

सार्वजनिक यातायातमा अनेक सास्ती भोगेर यात्रा गरेका छौँ त्यो पनि प्रायः जसो बढी शुल्कमा । १३ रूपैयाँ लाग्ने ठाउँमा १५ रूपैयाँ तिरेका छौँ । यस्तो होइन भन्यो भने कुनै यात्रीले नै भनिदिन्छ, “दुई रूपैयाँको लागि किचकिच किन गर्‍या ?” लाग्छ, दुई रूपैयाँ त साह्रै सानो रकम हो जसका लागि बोल्नु पनि पाप हो ।

हामी सौखिन नेपालीहरूलाई सिक्का बोक्न मन लाग्दैन । १, २ रूपैयाँको नोट राष्ट्र बैँकले छाप्न छोडेको कति भो कति । सिक्कै पनि कहाँ पर्याप्त छ र ? २०६५-६६ साल यताका सिक्का मैले त भेटेको छैन । एक दुई रूपैयाँ चलाउनु छैन भने १३, १७, १९ जस्ता अङ्कमा भाडादर किन बनाउनु ?

यो भाडादर वैज्ञानिक छ । उनीहरू लुट्न खोज्छन् । हामी लुरुक्क परेर घुँडा टेक्छौँ । टेक्न नचाहनेको हात समातेरै तान्छौँ अनि झुकाउछौँ ।

हामी विद्यार्थी (म सहित) त पढेका मुर्ख नै भयौँ । यातायातमा ४५% छुट पाइन्छ तर २५% भन्दा कममा पनि रमाउछौँ । १३ रूपैयाँको भाडादरको ४५% हुन्छ ५ रूपैयाँ ८५ पैसा । तर १० रूपैयाँ तिर्छौँ । तीन रूपैयाको छुटमा रमाउछौँ । कसैलाई सोच्ने फुर्सद छैन । फुर्सद हुनेलाई अर्काको खुट्टा तान्न पाए पुग्छ ।

सरकार अहिले यातायात व्यवसायीलाई कम्पनीका रूपमा दर्ता गराउन प्रयास गर्दै छ । राम्रो ! तर भाडादरको कुरा अझै के हुने हो थाहा छैन । बोल्नु नपरे त झन् राम्रो ! बोल्नु पर्‍यो भने ? नानीदेखिको बानी न हो, चुप लागुँला !

The Pressure of Growing Up

About a couple of months ago, I was watching an Indian kids’ dance reality show with my parents. My sister is a fan of the show and I too liked it. Until that evening.

A pair of girls came up to dance–a competitor and her mentor. The dance was a fusion of classical and acrobatics. The performance was beautiful and magical already. Then came a moment that made it ugly to me.

The little girl hung on to a rope attached to her mentor by her neck. It looked so dangerous that even the judges looked scared. The child kept smiling, though.

“Was such a life-threatening step necessary?” I asked my sister. She did not know what to say.

“It was not,” was my verdict. The show acknowledged that it was dangerous but did not warn the mentor to put a child on such a risk again. Even if she was warned, it was not televised.

Are we watching a circus in the name of a TV reality show? I asked myself.

When a circus puts children in danger for “entertainment”, we usually feel bad. There are several organizations working to rescue them from the illegal, perilous, and underpaying circuses.

The TV show is similar to the circus in putting the children in peril for entertainment. They may claim it is safer, but the children are swung on harnesses, rings and trailers with very little visible protection beneath them. Days of training against the fear of falling, and yet they smile. Everything they feel is overcome by the appraisal of talent and the way they handled the performance with maturity.

Maturity comes with training and experience. When a child becomes matured at an early age, she understands discipline, as well as responsibility. Being matured, however, is not the same as growing up into an adult. Some adults never mature.

But children participating in reality shows are not only expected to be matured, they are also expected to act like adults. It’s cringey when a five year kid dances on adult-oriented songs like Sheila ki jawaani, Munni badnaam Hui, and so on. It’s even more frustrating when you see how the kid became a helping hand to her poor family changed the economy and lifestyle forever. Parents living off on the income of a child less than sixteen years old! Isn’t it child labour?

When a three year child comes to my home and dances and sings “Didi ko magani bhaisakyo merai paalo chha”*, it looks and sounds cute but have we not unconsciously placed on her mind that she should be wed soon after her sister marries.

Children insist on listening to a popular song because we play those for them. We never care whether they are suitable for them or not.

About six months ago, one boy, four years old, came my home with his mom. They live in my neighborhood but very rarely come to us. As soon as he was in, he asked his mom her phone and ran a video. He read the lyrics of Shape of You and sang along. I had not heard the song before. I watched the lyrical video. One line caught my attention, I’m in love with your body.

Body? I asked the singer in my mind. Not “you” but “your body”! So you’ll leave her once she loses the shape.

I wanted the kid to turn that song off immediately. I disturbed him. “Do you know what this song means?”

I knew he did not understand. He looked at me, smiled ignorantly and shook his head. He did not stop, though. I did not have power to stop him. And now some girls are learning to dancing on the song. [Facepalm!]

Children all over the world are now undergoing the pressure of growing up. Recently, a twelve year girl won an extremely popular American TV reality show. In one episode, she made her puppet flirt with a male judge. People found it cute. A twelve year old, albeit indirectly, flirts with an adult and we find it cute. What sort of world are we living in?

I don’t know how many people think the way I am thinking. I don’t know if I am over-thinking. I don’t know if the things I am thinking are problems for all. But if there are problems, they must be resolved, and I am yet to discover an effective solution.


Footnote:

* A line of a popular Nepali song that translates to: “My sister is already engaged, it’s my turn now.”

मान !

 न्याय नपाई कोही रोइरहँदा

               न्यायालयको मान रह्यो सायद !

अपराधीहरू खुल्लमखुल्ला हिँडिरहँदा

               न्यायालयको मान बढ्यो सायद !

न्यायकै किनबेच चलिरहँदा

               न्यायालयको इज्जतले आकाश छोयो सायद !

र त,

     न्याय पाउँ भन्नेहरू 

                   न्यायालायमै रोइरहेछ्न् !

     अपराधी समाऊ भन्नेहरू

                     डरले काँपिरहेछ्न् !

      न्यायको किनबेच नगर भन्नेहरू

                     कठघरामा उभ्याइरहेछ्न् !

© सन्दीप्त

नेता कसरी बन्ने ?

अलि पुरानो फोटो नेताहरूको । स्रोत: nayasamachar.com

नेपालमा अहिले चुनावी चहलपहल निकै नै छ । नेताहरू घरदैलोमा व्यस्त छन् तर घरमै बस्नेले चाहिँ सायदै तिनका मुख देखे होलान् । खैर, “तिनीहरू नेता कसरी पो नेता बने हौ ? अनि हामी चाईँ कसरी बन्ने ?” भन्ने प्रश्न कसैलाई उठेको भए ती प्रश्नको जवाफ खोज्ने प्रयास यो प्रबन्ध हो ।
चरण १: यी प्रश्न आफूले आफैँलाई सोधेर नेता हुने गुण छ कि छैन पत्ता लगाउनुस् :

के तपाईं:

१. धुर्त हुनुहुन्छ ?

२. अरूलाई औँलामा नचाउन सक्नुहुन्छ ?

३. स्वार्थी हुनुहुन्छ ?

४. अर्काको मन दुखाएर हाँस्न सक्नुहुन्छ ?

५. आफन्त, नातागोता, साथीसँगी, गुरु वा जोसुकैलाई कोखामा छुरा हानेर अघि बढ्न सक्नुहुन्छ ?

६. जनताले जे भने पनि कानमा तेल हालेर सुतेजस्तो गर्न सक्नुहुन्छ ?

उपर्युक्त गुणहरू तपाईंसँग छ भने मात्रै तपाईं राजनीतिक नेता बन्न सक्नुहुन्छ । नत्र त तपाईंको यात्रा सुरु नै हुँदैन । भइहाल्यो भने पनि कतै कुनामा बसेर रुनुपर्छ ।

चरण २: प्रवेश

चरण १ मा पास नभए पनि चरण २ मा आउन सक्नुहुन्छ तर दिगो उपलब्धिका लागि चरण १ मा भएका कुराहरू आफूमा जतिसक्दो चाँडो लागू गर्नुहोला । फाइदा तपाईंलाई नै हो । अब जान्नुस् यो चरणमा के गर्ने:

१. तपाईं आफ्नै पार्टी खोल्न चाहनुहुन्छ ? यसका लागि विचार र (वा) कार्यशैली मिल्ने (यसमा अरूलाई थर्काउने कार्यशैली पनि हुन सक्छ) एकदम धेरै मानिसहरू भेला पार्नुपर्ने हुन्छ । अरूलाई कन्भिन्स गर्न पनि धेरै समय र उर्जा खर्चिनुपर्छ । समय अलि बढी नै लाग्न सक्छ यदि तपाईं चरण १ मा भएका गुणहरूलाई नजरअन्दाज गर्दै हुनुहुन्छ भने ।

२. यदि तपाईंलाई छिटो माथी जानु छ भने चाहिँ स्थापित पार्टीमा लाग्नुस् । धेरैजसो मानिसहरू ठूला पार्टीको सदस्य बन्छन् तर साना पार्टी पनि शानदार पो हुन्छन् त ।

एउटा उदाहरण दिउँ है त । मेरो कलेजमा थुप्रै पार्टीका भ्रातृ संगठन (भन्नलाई स्वतन्त्र विद्यार्थी युनियन) छन् । नेपाली कांग्रेसको नेविसंघ र नेकपा एमालेको अनेरास्ववियुमा लाग्नेहरूको संख्या धेरै छ । खिचातानी पनि यिनमै धेरै छ ।

साना पार्टीका भ्रातृ संगठन धेरै छन्, कार्यकर्ता थोरै । कम्पिटिसन शून्य बराबर । सदस्य बन्नेवित्तिकै माथिल्लो पद हातमा । अनि पावर पनि ठूला संगठन जति नै । हेर्नुस् त काइदा !

कुन ठाउँबाट राजनीति सुरु गर्नुहुन्छ भन्ने कुराले पनि फरक पार्दछ तपाईंको जिन्दगीमा । एक चोटि फेरि मेरो कलेजतिर आँखा डुलाऔँ । तपाईँ प्रायः देख्नुहुनेछ, नेताहरू :

  • नयाँ विद्यार्थीलाई भर्ना गर्न मद्दत गर्दै हुन्छन् ।
  • पुराना विद्यार्थीका समस्या समाधान गर्दै हुन्छन् ।
  • विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् ।

यिनीहरू पब्लिक रिलेसन (Public Relation) बनाइरहेका छन् जुन भविष्यका लागि लाभदायक हुन्छन् । मेरो एक जना साथी छ जसलाई म जुनसुकै बेला फोन गरेर जुनसुकै काम लगाउन सक्छु । भोलि ऊ कुनै चुनावमा उठ्यो भने म भन्दिन्छु नि “यसले काम गर्न सक्छ” । उसले यसरी भोटर कमाउँदै छ ।

आफ्नो समुदायमा राजनीति गरेर अघि बढ्न चाहनेलाई चुनौतीको पहाड नै आउँछ । चरण १ मा भएका गुण नभए पहाड फोर्न गाह्रो हुन्छ ।

चरण ३: कुटनीति / चालबाजी

महाभारतमा शकुनिको भूमिका सम्झनुस् त । कसरी धृतराष्ट्र र उनका छोरालाई भड्काउँछन् । उनको धुर्त्याइँले पाण्डवहरू जुवामा मात्र हारेनन्, कुरुक्षेत्रको युद्ध पनि भयो ।

कुटनीतिक चालबाजी एउटा कला हो । राजनीती गर्नेहरूले आफूले भनेको ठीक, अरूले भनेको बेठीक भन्ने पारेर जनतालाई आफ्नो पक्षमा पार्छन् । अझ कतिपय अवस्थामा अस्थिरता ल्याइदिन्छ्न् ।

गेम अफ थ्रोन्समा लिटलफिङ्गर भन्छ:

अस्थिरता सिँढी हो ।

यसका उदाहरणले मेरो मुटु चिरिन्छ । हाम्रा नेताहरूले पनि अस्थिरतालाई भर्र्याङ् बनाएका छन् । जब स्थिरता आउँछ, उनीहरू माथि हुन्छन् । पुष्पकमल दहाल (प्रचण्ड) ज्वलन्त उदाहरण हुन् जसको बारेमा मैले चर्चा गरिरहनै पर्दैन । 

कोखामा छुरा घोप्ने काम पनि चालबाजीको विशेषता हो । एकजना मेरो छिमेकीलाई चुनावमा “टिकट” दिने वाचा गरियो । पक्का आउँछ भन्दै बधाई दिने पनि भेटिए ।

मनोनयनमा भने उनको नातेदारको नाम आयो । ती नातेदारले विरोध गरेनन् । मनोनयनमा हेराफेरी गर्न सक्नेलाई ती नातेदारले हातमा लिएछन् । यसरी आफन्तलाई पनि धोका दिन सके तपाईंको राजनीतिक यात्रा उकालो लाग्नेछ । शुभकामना !

चरण ५: अरूले जेसुकै भने पनि “बाल” नदिने 

अरूले तपाईंको गल्ती औँलाइदिए भने तिनको औँला काटिदिनुस् । यो त तपाईंले सुनेको प्रमाण पो हो क्यारे ! यसो गर्नुस्, सुन्दै नसुन्नुस् । हुन त यो गुण तपाईँमा पहिले नै छ । जति गाली गरे पनि, जति सरापे पनि, एउटा कानबाट छिरेको कुरो अर्को कानबाट निकालिदिनुस् । यसो गरेपछी न अरूको पिर, न प्रेसरको चिन्ता !

***

द्रष्टव्य:

१. यी चरणहरूलाई नजरअन्दाज गर्न त तपाईं राजनीतिक परिवारमा जन्मिनुपर्छ । बा प्रभावशाली थिए भने त उनले बसाएको जगमा चुनावैपिच्छे जीत दर्ता भइहाल्छ ।

२. माथि उल्लिखित चरण र गुणहरूमध्ये पब्लिक रिलेसन र सानो पार्टीबाट उक्लिने उपायबाहेक अरू सबै व्यङ्ग्य हुन् । सिधा भन्ठानेर त्यसै गर्नुभो भने मलाई अवगाल नआओस् !

अझै सजिलो बनाइदिन्छु । यी काम नगर्नुस् :

  • चोरबाटो नलिनुस्
  • नकारात्मक चालबाजी नगर्नुस्
  • कोखामा छुरा नहान्नुस्, जेल पर्नुहोला !
  • रचनात्मक प्रतिक्रियालाई आत्मसात् गर्नुस्

३. नेतामा हुनैपर्ने दुई कुरा हुन् : ज्ञान र बोल्ने क्षमता । यी दुईलाई प्राथमिकता दिनुस् ।

शुभकामना !

***

[प्रस्तुत लेख Quora.com मा How do I become a political leader in Nepal को जवाफको नेपाली रूपान्तरण हो ।]