गौतम बुद्ध: जन्म, कर्म र हाम्रो धर्म

सिद्धार्थ गौतमको जन्मका सम्बन्धमा
करिब २६४० वर्ष अघि बैशाख पूर्णिमाको रातमा यस धर्तिमा अवतरण लिएका थिए सिद्धार्थ गौतमले रानी मायादेवीको कोखबाट- लुम्बिनीमा । विभिन्न कालखण्डमा त्यो पवित्र भूमि विभिन्न देशभित्र पर्‍यो । वर्तमानमा त्यो क्षेत्र नेपालको सिमानाभित्र पर्दछ । लुम्बिनी संरक्षणको दायित्व अहिले नेपालीको काधमा छ । तर त्यसको अर्थ बुद्ध ‘नेपाली’ थिए भन्ने होइन । बुद्धलाई कुनै एउटा देशको नागरिक बनाउन इतिहास र नैतिकता दुवैले दिँदैनन्[१] ।

image

यो विज्ञान प्रविधिको युग हो । यस युगमा हरेक विषयमा तथ्य केलाइन्छ । बुद्धकालिन कला, संस्कृति, लेखोटका आधारमा लुम्बिनी नै सिद्धर्थ गौतमको जन्मथलो थियो भन्ने प्रमाणित भइसकेको छ । उनको यात्राको बाटो पनि पहिल्याइ सकेका छन् इतिहासकारहरूले । उनको जन्ममितिमा भने एकमत छैन । खोज गर्नै पर्ने विषय जन्ममिति हो, जन्मस्थल होइन ।

बुद्धको जन्मथलोको विकासको “गुरु योजना” २८ वर्षअघि बनेको रहेछ । आजको मितिसम्म योजनाले पूर्णता पाएको छैन । केही संरचना बनेका छन् तर ती पर्याप्त छैनन् । बौद्धहरूको चार धाममध्ये प्रमुख लुम्बिनीको विकासमा किन ढिलाइ ? २९ वर्षको उमेरमा त सिद्धार्थले राजपाट त्यागि सकेका थिए, सम्यक ज्ञानको खोजी गर्न । हामी बुद्ध भूमिका संरक्षकहरू किन आफ्ना व्यक्तिगत स्वार्थ त्याग्न सक्दैनौँ ? उनले बाटो देखाइ दिएकै थिए त ।

सिद्धार्थ र बुद्धका कर्मका सम्बन्धमा

सिद्धार्थको बाल्यकाल सुखसयलमा बितेको थियो । राजा (गणनायक?) सुद्धोधनले वातानुकुलित तीनवटा महल बनाइदिएका थिए भनिन्छ । यद्यपि भौतिक सुखले उनलाई छुन सकेन । मैले सानो छँदा एउटा कथा पढेको थिएँ, जुन यस्तो छ-

हरेक वर्ष रोपाइँ सुरु गर्नाका खातिर हलो चलाउन किसानका खेतमा जान्थे । उनलेे छ वर्षका सिद्धार्थलाई साथ लगेका थिए । रोपाइँको तामझाम छोडेर सिद्धार्थ चाहिँ एक्लै बसिरहेका थिए । वरपर कुदिरहेका कमिला हेरेर रमाइरहेका बेला एउटा छेपारोले तिनलाई खान थाल्यो । फेरि हेर्दाहेर्दै एउटा सर्पले त्यो छेपारोलाई निल्यो । एकैछिनमा, त्यो सर्प पनि बाजको आहारा बन्यो । प्रकृतिको समिपमा त्यस्तो अनौठो चक्र देखेपछि उनी गम्भीर हुन थाले । प्रकृतिमा यस्तो नियम किन छ भनेर सोच्न थाले । मनमा आउने दार्शनिक सोच हटाउनकै लागि ती तीन महल बनाइएका थिए । तर सिद्धर्थ प्रकृतिमा फर्किन चाहन्थे । २९ वर्षको उमेरमा उनी फेरि प्रकृतिमा फर्किए । उनले रोगी, वृद्ध र मृत देखे [२]। उनलाई त्यही दिन थाहा भयो पहिलो आर्य सत्य- दु:ख छ । त्यो दु:ख निवारण गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयको ज्ञान प्राप्त गर्नु नै उनको लक्ष्य थियो जसका लागि उनले व्यक्तिगत स्वार्थको त्याग गरे । लक्ष्यमा सफल भएका कारण बुद्धका नामले चिनिए ।

दु:खका कारण र निवारणको माध्यम पत्ता लागेपछि उनका मनमा विचार आयो- ‘मैले पत्ता लगाएका कुराहरू अरूलाई सुनाऊँ या नसुनाऊँ । कसैले सुन्ला मेरा कुरा ?’ आम मानिसमा हुने प्रश्न उनमा पनि आएका थिए तर उनले कोशिश गरे । बोधगयामा उनलाई तपस्यामा साथ दिएका दुईजना अनि कुशिनगरमा भेटिएका तीनजनालाई उनले आफ्नो खोजका बारेमा बताए । उनको बोली मधुर हुँदो हो, सरल अनि लोकको भाषामा प्रवचन दिँदा हुन् । त्यसैले त उनको दर्शनबाट प्रभावित हुनेको सङ्ख्या बढ्दै गयो । संसारभर छरिएका बौद्धमार्गीहरूका आस्थाका केन्द्र हुन् गौतम बुद्ध ।

जन्मबाट होइन, कर्मबाट महान् भइन्छ । सिद्धार्थको जन्म राजकुलमा भए पनि संसारले उनलाई ज्ञानको अद्भुत खानीका रूपमा चिन्दछ । जन्मका आधारमा त उनी क्षत्रिय हुनुपर्ने, युद्ध गर्नु पर्ने तर उनले साधक भएर शान्तिको सन्देश दिए[३] । कर्मले महान् भएका बुद्धलाई म मनैदेखि नमस्कार गर्दछु ।

हाम्रो धर्म
मेरो विचारमा उचित कर्म नै धर्म हो । सिद्धार्थ गौतमको धर्म थियो चार आर्य सत्यको ज्ञान हासिल गर्नु, बुद्धको धर्म थियो जनजनलाई आफूले पाएको ज्ञान बाँढ्नु । बुद्धले त्यो ज्ञान नबाँढेका भए के हामी उनको चर्चा गर्थ्यौँ होला ? तर हाम्रो धर्म चर्चा गर्नु मात्रै होइन । हाम्रो धर्म त बुद्धका मार्ग र धरोहरको संरक्षण गर्नु हो । बुद्धका संदेशलाई आत्मसात गरेर नै हामीले उनको सम्मान गर्न सक्छौँ ।

[१. महान व्यक्तिहरू कर्मले चिनिन्छन् । जन्म त सबैले लिएका हुन्छन् तर केही मानिस मात्रै सत्कर्मका कारण प्रख्यात हुन्छन् । यस्ता महान व्यक्तिहरूले सधैँ सम्मान पाउँछन्, उनीहरू जुनसुकै देशमा जन्मेका किन नहुन ।
केही वर्षयता नेपालमा बुद्धलाई नेपाली बनाउने क्रेज देखिएको छ । बुद्धको नाम र तस्विर राखेर फोटोशप गरिएका नागरिकता पनि देखिए सामाजिक संजालमा । मन चिसो हुन्छ । हामीले बुद्धको संदेश लिएर शान्ति बाँढ्नु पर्ने हो तर बुद्धलाई नै खिचातानीमा पार्छौँ । नेपाल र भारतका लागि राजनीतिक विषय हुन्- बुद्ध र उनको जन्मस्थल । बुद्धका  शान्ति संदेश रुँदै छन् पुस्तकालयका कुनै कुनामा ।
२. बुद्धचरीत्रमा भवनबाट निस्किएका  सिद्धार्थले तीन दिन तीन मानिसलाई क्रमशः देखे भनिएको छ- वृद्ध, रोगी र शव । कतै सिद्धार्थले एउटै मानिस त देखेका थिएनन् ? पहिलो दिन सायद उनले एउटा बूढो मानिस देखेका थिए । उनले पहिले कहिल्यै वृद्ध नदेखेकाले उनले चासो लिए होला । भोलिपल्ट सायद ज्ञान भयो कि ती वृद्ध रोगी पनि रहेछन् । तेस्रो दिन सायद ती बूढाको मृत्यु भैसकेको थियो । मानिस किन दु:खी छ र मरेर गएपछि अरूलाई पनि दु:खी किन बनाउँछ भन्ने साधारण प्रश्नले सिद्धार्थलाई बुद्ध बन्न प्रेरित गर्‍यो ।
३. बुद्धले मानव शान्ति र विश्व शान्तिको सन्देश दिए । उनले चार आर्य सत्य प्रतिपादन गरे: १) दु:ख छ ; २) दु:खका कारण छन् ; ३) दु:ख निवारण संभव छ ; ४) दु:ख निवारणका लागि अष्टाङ्गिक मार्ग छन् : सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि ।]

Advertisements

7 thoughts on “गौतम बुद्ध: जन्म, कर्म र हाम्रो धर्म

  1. wonderful post : )

    Its always a pleasure, peace and matter of proud, reading the articles regarding lord buddha and buddhism!

    and lovely thing is!

    I love lumbini : ) the meditation centres out there!
    the temple
    diff monasteries built by diff. nations!

    it does feels ! eternal peace … walking out there : )

    hey!

    Liked by 1 person

      1. dats a wonderful plan
        cheers!

        Been there before 4/5 yrs n
        its a wonderful place
        hundreds of nations have added their beauties in their own traditions!
        its feels a diff place
        spiritually n physically!

        cheers

        Liked by 1 person

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s