पुस्तक समीक्षा: सेतो गुलाब

परिचय

अनिश थापाको “सेतो गुलाब” पढ्न थाल्दा उपन्यास ठूलो अपेक्षा थिएन । “सेतो गुलाब”को धेरथोर चर्चा सुनेरै घरमा किनेर ल्याएको थिएँ । किनेको झन्डै एक वर्षपछि बल्ल पढ्ने मौका मिल्यो । किन एक वर्ष लाग्यो मलाई यो किताब उठाएर पढ्न ? “पाठकले पुस्तक हैन, पुस्तकले पाठक रोज्छ” भनेझैं भएको हो कि ? थाहा छैन ।

“सेतो धरती”मा अमर न्यौपाने सेतो रङ्गलाई उजाड र रङ्गहीन जीवनको प्रतीक बनाउँछन् । समाजले श्रीमान् गुमाएका नारीलाई दिने सेतो रङ्ग दु:खको प्रतीक हो । त्यसको विपरित “सेतो गुलाब”मा अनिश थापा सेतो रङ्गलाई सुन्दरता र पवित्र प्रेमको प्रतीक मान्छन् । हुन पनि सात रङ्गको मिश्रणले सेतो रङ्ग बन्दछ । सेतो प्रकाशलाई कतैकतै पवित्रताको प्रतीक मानिन्छ । त्यस्तै सेतो गुलाबलाई समर्पणको बिम्बका रूपमा पनि हेरिन्छ ।

“सेतो गुलाब”मा प्रेम, मित्रता र समर्पणका कथा आएका छन् । किशोर अवस्थाका पात्रहरूको सरल शब्दमा लेखिएको कहानी छ । स्कुले दिनहरू रमाइलोसँग आएका छन् । सँगै आएका छन् कलिलो उमेरको प्रेमका समस्या, करिअरको चिन्ता अनि उत्प्रेरणा जगाउने प्रसङ्गहरू ।

मुख्य पात्रहरू

अभिजित जसको डायरीबाट मूल कथा आएको छ, सजीव छ । अभिजितलाई निकै राम्रोसँग चित्रण गरेका छन् उपन्यासकारले ।

उसको साथी नीर प्रायः उत्प्रेरकको भूमिका निर्वाह गर्छ । यद्यपि उसमा थोरै भए पनि चञ्चलता छ ।

सुयोना अभिजितजस्तै दु:खी पात्र हो, भलै उसको दृष्टिकोणबाट कथा नबुनिएको होस् । तथापि उसले अभिजितलाई गरेको व्यवहार चित्त बुझ्दो भने लागेन । उसको केसले अभिजितलाई पहिलेदेखि नै प्रेरित गरेको भए कथा अझ राम्रो हुने थियो ।

सद्दाम बाहिर हेर्दा हाउडे भए पनि मनको सफा छ । यद्यपि उसको पात्रता अलि कमजोर भएको हो कि जस्तो लाग्यो ।

समस्याहरू

उपन्यासको संरचनामा थोरै कमजोरी छ । पहिलो दृश्य जसमा सुयोनाले अभिजितको डायरी पढ्न थाल्छे, त्यसलाई प्रोलग बनाउन सकिन्थ्यो । फरक न्यारेटर र टाइमलाइन भएको भाग छुट्टै राख्दा उपन्यासको कथानक बुझ्न अझ सजिलो हुन्छ । त्यस्तै अन्तिमका दृश्यहरू इपिलगका रूपमा आएको भए हुन्थ्यो । अभिजितको डायरीको पहिलो कथा (प्लेन दुर्घटना हुन बाट बचेको) पछि फेरि दोहोरिन्छ । यो भागलाई पछि नै राखेको भए पनि हुन्थ्यो जस्तो लाग्यो ।

कतैकतै नामका हिज्जेमा द्विविधा देखिन्छ । धेरैजसो अभिजित लेखिएको भए पनि कतैकतै अभिजीत भएको छ । केही प्रसङ्ग फरक शब्दमा भए पनि दोहोरिएका छन् ।

सबल पक्षहरू

उपन्यास सरल भाषामा लेखिएको छ । slang हरूको प्रयोग राम्रो छ । संरचनामा कमजोरी जस्तो लागे पनि कथा सलल बगेको छ । पात्रहरू प्रायः राम्रोसँग ह्याण्डल गरिएको छ । विद्यार्थी जीवनका विभिन्न आयाम अटाएका छन् । उपन्यासले फिलोसोफी र साइन्स फिक्सन पनि समेटेको छ ।

अन्त्यमा,
“सेतो गुलाब” अलिअलि फिल्मी लागे पनि पात्रहरूको मिलन, बिछोड र सम्झना समेटिएको मीठो उपन्यास हो ।