आजकल मैले फेरि सपना देख्न थालेको छु

आफूले जन्माएर
आफैँले मारेँ भनेका सपनाहरू
चिच्याइरहन्थे,
“लाग्यो होला तँलाई हामी मर्यौँ
तर हामी त तँ भित्रै छौँ
हामी तेरै अंश त हौँ !
जबसम्म तँ जिउँदो छ्स्,
हाम्रो अन्त्य हुनेछैन ।

“तेरो मनले बनाएको पिँजडामा
हामी बसेका छौँ
तैले वास्तै नगरे पनि
झक्झकाएका छौँ
भनिरहेका छौँ,
ब्युँता फेरि हामीलाई
खुसी हुन्छस्, सुखी हुन्छस् ।
कति रोक्छस् अन्तरात्माको आवाज ?
तोड पिँजडा, मुक्त गर,
अनि हुर्का हामीलाई ।”

डरको झ्यालखाना तोडेर
बचेखुचेका रहर जोडेर
सपनाको लिलाम गर्नेहरूसँग जोगिएर
आजकल मैले फेरि सपना देख्न थालेको छु !
नीदमा र जागामा
आशाका मसिना धागामा
सपनाको माला उन्न थालेको छु !

(२०७५/०४/१९)

आजकल म सपना देख्दिनँ

आफ्नो नाफा हुन्जेल
बोलाउँछन्, उचाल्छन्
यो छ, त्यो छ
यो गर्छु, त्यो गर्छु
यस्तो हुन्छ, उस्तो हुन्छ
भन्दै, फकाउँदै, झुक्याउँदै
सपना देखाउँछन् ।

जब सत्यको पर्दा खुल्छ,
तब थाहा हुन्छ,
यहाँ त सपना देख्नै पाइन्न ।
यहाँ सपनाको कुनै अर्थ नै छैन
जति नै राम्रो भए पनि !
यहाँ सपनालाई रेटेर, अँठ्याएर मार्छन्
सपनाकै अभिभावकहरू ।

त्यसैले,
न त नीदमा हुँदा न त जागा
अचेल म सपना देख्दिनँ
आफूले जन्माएर, हुर्काएर
आफैँले सपनाको हत्या गर्न चाहन्नँ ।

(२०७५/०४/१९)