पुस्तक समीक्षा: कथाकी पात्र

सोनुले आफ्नो कोठामा रहेको किताबहरूको सेल्फ देखाएकी थिइन् । सुबिन भट्टराईका “मनसुन” बाहेकका सबै किताब माथि नै थिए । “मनसुन” खासै मन परेको थिएन । सुबिन भट्टराईको किताब पढिहाल्न खासै मन थिएन तर पहिलोपल्ट ससुराली गएको, काम पनि केही थिएन । अल्छी लागिरहेको थियो । मोबाइल चलाएर बस्नुभन्दा किताब पढ्नै ठीक लाग्यो । राम्रो नराम्रो जेसुकै होस्, पढ्छु भनेर “कथाकी पात्र” उठाएँ । सङ्ग्रहका १९ मध्ये पहिले शीर्ष कथा छाने । मन छोयो । अघिपछि गर्दै सबै कथा पढेँ । प्रत्येक कथाको चर्चा (कथासङ्ग्रहमा रहेको क्रमानुसार) छोटकरीमा गरेको छु ।

औडाहा: कथाको पुरुष “म” पात्रले आफ्नो बिहेकै रात आफ्नी श्रीमतीको पहिले अरू नै सँग प्रेम रहेको थाहा पाउँछ । त्यसपछि उत्पन्न छटपटीको यो कथाले पुरुष र पितृसत्तात्मक मानसिकतालाई  एकदम राम्रोसँग देखाएको छ ।

औडाहा: औडाहाकै कथा हो यो । तर “म” पात्र महिला छे । आफ्नो पहिलेको प्रेम सम्बन्धका बारेमा भन्नु हुन्थ्यो या हुँदैनथ्यो भन्ने द्वन्द्वमा ऊ फसेकी छे ।

यी दुवै कथा राम्रो लाग्यो तर समस्या लिएर गुम्सिनुको साटो समाधानला उपाय खोजेको भए हुन्थ्यो भन्ने लागिरह्यो ।

मन परेको साथी: 2nd person narrative कथाहरूमा खासै प्रयोग हुँदैन । तर यस्ता कथाहरू मलाई मनपर्छन् । “तिमी” सम्बोधन गर्दै कथावाचकले आफ्नी प्रिय साथीलाई मनका कुराहरू लेखेको छ । यो प्रेम कथा मन छुने चिठीझैँ छ ।

अन्तराल: “म” पात्रले आफ्नो बाल्यकाल र किशोरावस्थाको कथा यसमा भन्दछ । ऊ दाजु सुमनबाट सानोमा प्रभावित भएको थियो । त्यसैगरी भान्जा प्रज्ञान “म” पात्रले जे गर्‍यो त्यही पछ्याउँछ । तर वर्षौँपछि भेट हुँदा प्रज्ञानले नराम्रो घटनामात्रै सम्झिरहेको हुन्छ । मामाभान्जाको सम्बन्धमा केन्द्रित सुन्दर कथा हो यो, सङ्ग्रहको उत्कृष्टमध्येको एक ।

अर्काकी स्वास्नी: बद्रीकी श्रीमती अङ्गुरी लक्ष्मणसँग भाग्छे । तर बद्री बिरामी छ भन्ने खबर पाएपछि फर्किन्छे । उसलाई फर्काउने जिम्मा “म” पात्रले पाएको छ । तथापि बद्रीसँग उसको केही दुश्मनी छ । बदलाको यो कहानी रोचक छ । अन्तिममा उसले भनेको कुरा साँचो हो या हैन भन्ने कुराले अझै पनि मलाई पोलिरहेको छ ।

तिमी मलाई किन प्रेम गर्छौ ? : “म” पात्रकी प्रेमिकाले “स्वार्थ नभएको कोही छैन” भन्दै यो प्रश्न सोध्छे । “म” पात्रले जवाफ दिन नसकेपछि उसकी प्रेमिकाले दिएको जवाफ एकदम चित्तबुझ्दो लाग्यो । यो जहिले पनि याद आइरहने कथा हो ।

बिहेको निम्तोमा : “म” पात्रकी छिमेकी साथीको बिहे छ । तर अचानक उसलाई अर्को प्रिय साथीको मलामी जानुपर्छ । बिहेमा ढिलो गरी पुगेको उसको हुलिया र अनुहार हेरेर छिमेकीहरू उसलाई हौवामा “देवदास” बनाइदिन्छन् । यो कथामा सामाजिक मनोविज्ञान निकै राम्रोसँग प्रस्तुत गरिएको छ ।

मान्छे, आफू कहाँ हो ?” : फोन सेक्स (डिटेल्ड हैन) समेटिएको कथा हो यो । केटाहरूको मनोविज्ञान देखाइएको छ । तर सङ्ग्रहको सबैभन्दा कमजोर कथा हो यो ।

भ्रम या सत्य ? : “म” पात्रले नेपाल यातायातमा एउटी राम्री केटी देख्छ । केटीले पनि उसलाई बारम्बार हेर्छे । पहिले कतै चिनेको हो कि जस्तो लाग्छ । केटीसँग आँट गरेर सोध्छ । केटीले “महिला सिटमा बस्नुभएको रहेछ, छोड्नुहुन्छ कि भनेर हेरेको । छोड्भएन ।” भनिदिन्छे । यद्यपि महिला सिटमा बसेको कुरा पहिल्यै आइसकेकाले यो क्षणमा जुन पन्च मुखैमा लाग्नुपर्थ्यो, हावामा बत्तिन्छ । अनि कथाले बल्ड्याङ खान्छ । यसर्थ यो पनि एउटा कमजोर कथा हो ।

बर्बादी : “म” पात्र आफूभन्दा बढी उमेरकी पात्रसँग शारीरिक सम्बन्ध राख्छ । यसमा ड्रामा त छ तर एउटा साथीबाहेक अरू गाउँलेलाई थाहै नहुनु चैं त्यति पत्यारिलो लागेन ।

तीन कथा : तीन मिल्ने केटाहरू निमेष, साकार र किशोर (न्यारेटर) सपनासँग पालैपालो प्रेममा पर्छन् । वर्षौँपछी भेट हुँदा अरूसँग बिहे गरेर गएकी सपनाको बारेमा कुरा चल्छ । यी तीन पात्रहरूमा समयसँगै आएको परिवर्तनले राम्रै झट्का दिएको थियो ।

देहरादुन एक्स्प्रेस : “म” पात्र देहरादुनबाट गोरखपुर जाँदा रेलमा एउटी राम्री केटीलाई देख्छ । तर केटी यात्राभरी चुप बस्छे । संकोचले ऊ केटीको सुन्दरताका बारेमा भन्न सक्दैन । पछि अरू यात्रीबाट केटीको जिब्रो उसकी सौतेनी आमाले थुतिदिएको थाहा पाउँछ ।

यो कथाले मलाई ७-८ कक्षातिर गुलमोहरमा पढेको रस्किन बन्डको कथा “The Eyes are not Here/The Eyes Have It” सम्झाइदिएको थियो ।

अपसोस : हिन्दू “म” पात्र मुस्लिम केटीसँग प्रेम गर्न पुग्छ । तर प्रेम असफल रहन्छ । “म” पात्रले पाठकसँग कुराकानी गरेझैँ लाग्छ तर बीचमा यो शैली छुटेको हुँदा एकै शैलीमा लेखिएको हुन्थ्यो जस्तो लागेको थियो ।

घृणा : “म” पात्रको छिमेकमा एउटी बूढी आमै छिन् जसलाई ऊ पटक्कै मन पराउँदैन । तर जब तिनी बित्छिन् उसको मन शून्य हुन्छ ।

कथाकी पात्र : कथाकार “म” पात्र कथा लेख्न सकिरहेको छैन । Writer’s block ले पीडित ऊ आफ्नी श्रीमतीलाई हेर्छ अनि आफ्ना लागि उसले गरेका त्यागहरू सम्झिन्छ । अन्ततः श्रीमतीलाई ऊ आफ्नो कथाकी मुख्य पात्र बनाउँछ । यो कथा राम्रो लागेकैले गर्दा सङ्ग्रहका अरू कथा पढ्न उत्साहित भएको थिएँ ।

बूढो पिज्जा : एउटा बूढोलाई पिज्जा खान मन लाग्छ तर सबैले उसलाई गिज्याउँछ्न् । जब बल्लतल्ल खान पाउँछ, उसलाई मन पर्दैन । बूढा मानिसको इच्छा र त्यसले निम्त्याउँने द्वन्द्व निकै रोचक लागेको थियो ।

भगाइहरू : “म” पात्र आफ्नो बिहेबाट भाग्छ । उसले यसो ठीक गर्यो कि गरेन भन्ने प्रश्न आइरहन्छ ।

मन नपरेको साथी : “म” पात्रलाई केशव मनपर्दैन तर उनीहरू घरिघरि ठोक्किइरहन्छ्न् । बेइमान साथीहरू सम्झाउँछ यो कथाले ।

नदीकिनारको प्रेम : “म” पात्र निरुसँग प्रेम गर्न थाल्छ तर आफ्नो “चेला” गोविन्दसँग उसले प्रेम गर्न थाल्छे । नदीकिनारका दृश्यहरू सुन्दर छन् । तराईको याद दिलाएको थियो ।

“कथाकी पात्र” सुबिन भट्टराईको पहिलो प्रकाशित कृति भए पनि पछिल्ला किताबभन्दा सशक्त देखिन्छन् । एकाध कथाबाहेक उनको प्रस्तुति मीठो छ । कतैकतै जटिल शब्दहरूको अनावश्यक र अपत्यारिलो प्रयोगबाहेक सरल भाषाशैली अपनाएका छन् ।

[नोट: “कथाकी पात्र” पढेपछि “समर लभ” पढ्न मन लागेको थियो । फेरि ससुराली जाँदा पढेँ । तर “समर लभ” मलाई मन परेन । सुरुदेखि नै यसमा समस्या छन् । कथाको प्लट पनि कहीँ पुग्दैन । चाँडै नै यसका बारेमा छुट्टै चर्चा गर्नेछु ।]

घनचक्कर: भुल्भुलैया र भविस्यवाणी

“घनचक्कर” उपन्यास विशाल मिलन केन्द्र, चण्डोलले आयोजना गरेको एउटा प्रतियोगितामा पुरस्कारका रूपमा पाएको थिएँ । पन्ध्र वर्षको उमेर, उपन्यास पढ्ने तीव्र हुटहुटी ! नयाँ किताब समाएपछि बिहानदेखि साँझसम्म नबिसाई पढिसकेको थिएँ । सकिँदासम्म उपन्यासको ‘म’ पात्र सँगसँगै आफू पनि पागल त भइनँ जस्तो लागेको थियो । उपन्यासका राजनीतिक विषय केही बुझे पनि गहिराईमा चाहिँ पुग्न सकेको थिइनँ ।

त्यस यता एसएलसी, बाह्र र ब्याचलर पास गरिसकेपछि “घनचक्कर” पढेको थिएँ । प्रत्येक चोटि नयाँ अनुभव भएको थियो । नयाँ रहस्य खुलेका थिए । देशका घनचक्करहरू अलि बढी बुझ्दै गएर होला ।
मास्टर्स पढ्न कीर्तिपुर भर्ना भएदेखि नै “घनचक्कर” फेरि पढ्ने अनि समीक्षा लेख्ने इच्छा थियो । दरबारमार्ग, शहीदगेट, कालीमाटी, बल्खु हुँदै कीर्तिपुर पुग्दा कयौंपटक उपन्यासका दृश्यहरू आँखामा नाच्थे । बाटामा पुलिसहरू देख्दा घनचक्करको ‘म’ पात्र जस्तै कति पटक झस्केको छु । विश्वविद्यालय र देशको राजनीतिका भुलभुलैयामा रुमल्लिएको अनुभव गरेको छु । त्यसैले होला पढ्ने इच्छा भए पनि यो उपन्यास पढ्न भने डर लाग्थ्यो ।

यसपालि “घनचक्कर”पढ्दा केही भविष्यवाणीलाई ध्यान दिएँ । टावरहरूको पतन र उत्थानको प्रसङ्ग पहिले पनि याद गरेको हो । सत्तामा रहनेले टावरको निर्माणलाई अतिशय महत्त्व दिएको भएर त होला पहाडका टाकुरा र तराईका फाँटमा भ्यू टावर बनाउने ट्रेन्ड चलेको, नयाँ बनेको धरहरालाई ऐतिहासिक भीमसेन स्तम्भ नै पुनःनिर्माण गरेझैं प्रचार भएको ।
टावरहरू जबजब निरङ्कुशताका प्रतीक बनेका छन् तबतब कोही नायक जन्मिएको छ ती टावर ढाल्न । तथापि ती नायक कतै गुमनाम भएका छन् या त प्याजका डल्लामा परिणत भएका छ्न् । यिनमा मानवीय संवेदना नै छैन । आशा गरेका नेताहरूले निराश बनाएका छन् । निरङ्कुशतन्त्रको विरोध गर्नेहरू आफैं निरङ्कुश बनेका छन्, गुच्चा खेलेझैं राजनीति गरेका छन्, शक्ति संघर्षको घनचक्करमा नराम्ररी फसेका छन्, जनतालाई भ्रमको जालोमा फसाएका छन् । यस्तो संघर्षको बीचमा हर कोही धेरथोर पागल भएको छैन र ?

यस बाहेक आफ्नो जीवीकाका लागि गर्नुपर्ने दु:ख, काम र आरामका विरोधाभासमा परेर पनि मानिस घनचक्करमा परेको छ । प्रजातन्त्र र स्वतन्त्रताका आन्दोलन, आन्दोलनका उद्देश्य विपरितका गतिविधि, निरङ्कुशता अनि फेरि प्रजातन्त्रका लागि हुने संघर्ष एउटा यस्तो चक्कर हो जसबाट उम्कन प्रत्येक नागरिक प्रत्येक पल सचेत हुन जरुरी छ । घनचक्करसँग जुध्नु नै यसबाट उम्कने मुख्य उपाय हो भनेर आशावादी विचारमा उपन्यास सकिएको छ ।

यद्यपि देशमा शक्ति संघर्षका घनचक्कर चलिरहेकै छ । सञ्जीव उप्रेती सर उपन्यासको म पात्रझैं आशावादी भएर लोकतन्त्र र निरन्तर पक्षमा उभिनुभएको छ । मलाई नेपाली राजनीति बुझ्न सहयोग गरेको “घनचक्कर” आज पनि उत्तिकै सान्दर्भिक छ । कहिलेकाहीँ लाग्छ, यसमा भएका भविस्यवाणी असत्य भइदिए ! तर शक्ति संघर्ष मानवीय गुण नै हो । त्यसै यो घनचक्कर कहाँ अन्त्य हुन्छ र ?

पुस्तक समीक्षा: सेतो गुलाब

परिचय

अनिश थापाको “सेतो गुलाब” पढ्न थाल्दा उपन्यास ठूलो अपेक्षा थिएन । “सेतो गुलाब”को धेरथोर चर्चा सुनेरै घरमा किनेर ल्याएको थिएँ । किनेको झन्डै एक वर्षपछि बल्ल पढ्ने मौका मिल्यो । किन एक वर्ष लाग्यो मलाई यो किताब उठाएर पढ्न ? “पाठकले पुस्तक हैन, पुस्तकले पाठक रोज्छ” भनेझैं भएको हो कि ? थाहा छैन ।

“सेतो धरती”मा अमर न्यौपाने सेतो रङ्गलाई उजाड र रङ्गहीन जीवनको प्रतीक बनाउँछन् । समाजले श्रीमान् गुमाएका नारीलाई दिने सेतो रङ्ग दु:खको प्रतीक हो । त्यसको विपरित “सेतो गुलाब”मा अनिश थापा सेतो रङ्गलाई सुन्दरता र पवित्र प्रेमको प्रतीक मान्छन् । हुन पनि सात रङ्गको मिश्रणले सेतो रङ्ग बन्दछ । सेतो प्रकाशलाई कतैकतै पवित्रताको प्रतीक मानिन्छ । त्यस्तै सेतो गुलाबलाई समर्पणको बिम्बका रूपमा पनि हेरिन्छ ।

“सेतो गुलाब”मा प्रेम, मित्रता र समर्पणका कथा आएका छन् । किशोर अवस्थाका पात्रहरूको सरल शब्दमा लेखिएको कहानी छ । स्कुले दिनहरू रमाइलोसँग आएका छन् । सँगै आएका छन् कलिलो उमेरको प्रेमका समस्या, करिअरको चिन्ता अनि उत्प्रेरणा जगाउने प्रसङ्गहरू ।

मुख्य पात्रहरू

अभिजित जसको डायरीबाट मूल कथा आएको छ, सजीव छ । अभिजितलाई निकै राम्रोसँग चित्रण गरेका छन् उपन्यासकारले ।

उसको साथी नीर प्रायः उत्प्रेरकको भूमिका निर्वाह गर्छ । यद्यपि उसमा थोरै भए पनि चञ्चलता छ ।

सुयोना अभिजितजस्तै दु:खी पात्र हो, भलै उसको दृष्टिकोणबाट कथा नबुनिएको होस् । तथापि उसले अभिजितलाई गरेको व्यवहार चित्त बुझ्दो भने लागेन । उसको केसले अभिजितलाई पहिलेदेखि नै प्रेरित गरेको भए कथा अझ राम्रो हुने थियो ।

सद्दाम बाहिर हेर्दा हाउडे भए पनि मनको सफा छ । यद्यपि उसको पात्रता अलि कमजोर भएको हो कि जस्तो लाग्यो ।

समस्याहरू

उपन्यासको संरचनामा थोरै कमजोरी छ । पहिलो दृश्य जसमा सुयोनाले अभिजितको डायरी पढ्न थाल्छे, त्यसलाई प्रोलग बनाउन सकिन्थ्यो । फरक न्यारेटर र टाइमलाइन भएको भाग छुट्टै राख्दा उपन्यासको कथानक बुझ्न अझ सजिलो हुन्छ । त्यस्तै अन्तिमका दृश्यहरू इपिलगका रूपमा आएको भए हुन्थ्यो । अभिजितको डायरीको पहिलो कथा (प्लेन दुर्घटना हुन बाट बचेको) पछि फेरि दोहोरिन्छ । यो भागलाई पछि नै राखेको भए पनि हुन्थ्यो जस्तो लाग्यो ।

कतैकतै नामका हिज्जेमा द्विविधा देखिन्छ । धेरैजसो अभिजित लेखिएको भए पनि कतैकतै अभिजीत भएको छ । केही प्रसङ्ग फरक शब्दमा भए पनि दोहोरिएका छन् ।

सबल पक्षहरू

उपन्यास सरल भाषामा लेखिएको छ । slang हरूको प्रयोग राम्रो छ । संरचनामा कमजोरी जस्तो लागे पनि कथा सलल बगेको छ । पात्रहरू प्रायः राम्रोसँग ह्याण्डल गरिएको छ । विद्यार्थी जीवनका विभिन्न आयाम अटाएका छन् । उपन्यासले फिलोसोफी र साइन्स फिक्सन पनि समेटेको छ ।

अन्त्यमा,
“सेतो गुलाब” अलिअलि फिल्मी लागे पनि पात्रहरूको मिलन, बिछोड र सम्झना समेटिएको मीठो उपन्यास हो ।

पुस्तक समीक्षा : जङ्गबहादुर

साधना मासिक सन् नब्बेको दशकको उत्कृष्ट म्यागजिन थियो । यस मासिकका धेरै अंकहरू बाबाले संग्रह गरेर राख्नु भएको थियो, जसमध्ये धेरैजसो डेरा र घर सर्दा हराए । अब केही मात्रै बाँकी छन् । “जङ्गबहादुर” उपन्यास धारावाहिक रुपमा प्रकाशन हुन्थ्यो । गगनसिंहलाई मार्न फत्तेजंग, अभिमानसिंह राना र जङ्गले लिएको सपथ अनि कोतपर्वको विवरण भएका दुई भिन्न अंकहरू अहिलेसम्म पनि सुरक्षित छन् । उपन्यासलाई आधार मानेर सामाजिक शिक्षाको परीक्षामा जङ्गबहादुरको उदयलाई अंग्रेजीमा लेख्ने गर्थें । यो विषयमा मैले पाठ्यपुस्तक कहिले पनि हेरिन । तर बजारमा उपन्यास भेटिंदैनथ्यो ।

यसपाली पुसमाघतिर विशालनगरमा यो उपन्यास अचानक देखेँ । सपनाजस्तो लाग्यो । केही दिनमा पैसा जुटाएर लिएँ तर पढ्ने फुर्सद थिएन । पाँचौँ संस्करण रहेछ । मार्च महिनाको सुरुवातमा जापान भ्रमण ताका सँगै लिएर गएँ अनि पढें पनि । तर थकान अनि किताबमा भेटिएका गल्तीका कारण पूरै पढ्न सकिनँ । फाइनल एक्जाम सकिएपछि चाहिं फेरी थालेँ र पढी भ्याएँ ।

सबल पक्ष

१. उपन्यासले जङ्गबहादुरलाई क्रुर मात्र देखाएको छैन, उनलाई कुन परिस्थितिले त्यस्तो बनायो भन्ने पनि प्रष्ट बताएको छ ।

२. त्यस समयमा भएका षडयन्त्रहरू र हत्याकाण्डहरू कहाली लाग्दा छन् । रानी लक्ष्मीदेवीको उन्माद र राजा राजेन्द्रको अकर्मण्यताले घटनाक्रमलाई अगाडि बढाउन मद्दत गरेका छन् ।

३. कोतपर्व र भण्डारखाल पर्वको चित्रण उत्कृष्ट छ । हत्याका दृश्यहरू सजीव छन् । यसले पारेको प्रभाव माथि पनि लेखिसकेका छु ।

४. जङ्गबहादूरको प्रेमिल पक्ष अनौठो र रमाइलो लाग्छ । यो त्यत्तिकै आएको छैन । जङ्गकी प्रेमिका (पछि पत्नी) पुतलीले जासूस र सलाहकारका रूपमा जङ्गलाई सहयोग गरेकी छिन् ।

५. जङ्ग र उनका भाइहरू बीचको सम्बन्ध राम्रोसँग देखाइएको छ अनि डायमन शमशेरको “सेतो बाघ”को अन्त्यमा भएका घटना (जङ्गका छोरा नातिको हत्या) को बीजारोपण पनि यहाँ गरिएको छ । तर सेतो बाघभन्दा बढी तथ्यपरक छ ।

दुर्बल पक्ष

१. सेतो बाघमा जस्तो लेखकको विचार नै त आउँदैन तर “यसो होला भन्ने कसैले सोचेको भए” भन्ने किसिमका वाक्यहरू दोहोरिइरहन्छन् । यसले कथावाचनलाई अलि कम्जोर बनाएको छ ।

२. चरित्र चित्रण गर्ने केही वाक्यहरू दोहोरिइरहन्छन् । यसले कथालाई छरितो बनाउनबाट रोकेको छ ।

३. अलौ पर्वसम्म विस्तारमा भनिएको कथा त्यसपछि भने सारांश बन्छ । जङ्गबहादुरको बेलायत भ्रमण, मुलुकी ऐनको घोषणा, नेपाल-तिब्बत युद्ध जस्ता विषय केही वाक्यमा समापन हुन्छन् ।

४. जङ्गले इष्ट इन्डिया कम्पनीलाई भारतको सैनिक विद्रोहमा सहयोग गरेको प्रसङ्ग आएकै छैन ।

५. उपन्यासमा प्रिन्ट एरर धेरै छन् । सम्पादनको कमी छ । र पुस्तकको ISBN नहुनु आश्चर्यको विषय हो ।

पुस्तक : जङ्गबहादुर

विधा : ऐतिहासिक उपन्यास

लेखक : श्रीकृष्ण श्रेष्ठ

पृष्ठ संख्या : ३०२

प्रकाशक : कामना पब्लिकेशनस्