पन्ध्र महिनापछि फेरि मनकामना पुग्दा

फिल्डवर्कको थकान

शनिबार, कार्तिक १० बाट सुरु भएको फिल्डवर्क रफ्तारका साथ चल्दै थियो । बुधबार दिउँसो मुग्लिङबाट दक्षिणमा रहेको साठीमुरे गाउँ पुगेका थियौँ अनिल, अनिश, ईश्वर र म । झन्डै चार घण्टा ठाडो उकालो चढ्दै गर्दा ठीक पारी पट्टीको डाँडोमा ठूलो बजार देखिएको थियो । मनकामना बजार हो त ? हामी एकअर्कालाई सोध्दै हिँडेका थियौँ । साठीमुरेका बासिन्दाले त्यो मनकामना बजार नै हो भनेका थिए ।

त्यहाँबाट मनकामना बजार झन्डै उस्तै उचाईमा छ भन्ने लागेको थियो । “भोलि मनकामनातिर पर्‍यो भने त हिँड्न गाह्रो हुन्छ,” सल्लाह गरेका थियौँ । यसपालि एम. एस्सी. पहिलो सेमेस्टरको फिल्ड आँबुखैरेनी परेको थियो । मनकामनाको “रुट” दुई टोलीलाई पर्ने कुरा थियो ।

थकानले गर्दा हो वा पहिल्यै गएकाले हो या अघिल्लो साल देखेको दुरावस्थाले हो, मनकामना जाने इच्छा खासै थिएन हाम्रो ग्रुपको कसैलाई । इच्छुक ती साथीहरू थिए जो पहिले गएका थिएनन् । अघिल्लो साँझ फेसबुक चलाउँदै गर्दा देखेको एउटा तस्वीरले मन केहीबेर तरङ्गित भने बनाएको थियो । “ओहो, मन्दिरको रूप त बदलिएछ” भन्दै खुसी भएको थिएँ । जाने लालसा भने पलाएको थिएन ।

चिट्ठा

बेलुका गुरुहरूले भोलिपल्टको रुटको जानकारी दिनुभयो । मनकामना पुग्ने दुई टोलीका लागि दुई रुट छुट्याइएको थियो । पहिलो रुट थियो । आँबुखैरेनीबाट मनकामना पुग्ने अनि त्यहाँबाट गोर्खा जिल्लाको आरुबोट, ज्यामिरे हुँदै तीनकिलो झर्ने । अर्को थियो, मनकामना पुगेर कुरिनटार झर्ने । मनकामनासम्म दुई टोली सँगै हुने थिए ।

मनकामना जाने रहर प्रायः सबै ग्रुपले गरेकाले चिट्ठा गर्ने सहमति भयो । अनिलले हाम्रोतर्फबाट चिट्ठा थुत्यो । मनकामनाको पहिलो रुट परेछ । अरू ग्रुपलाई पनि उनीहरूको इच्छा र क्षमता अनुसारको रुट परेछ । “माताको इच्छा होला,” मैले भनेको थिएँ ।

यात्रा

मर्स्याङ्दी पुल सेल्फी / निर्जल पोखरेलको फेसबुकबाट / बायाँबाट दायाँ: पहिलो हार – अनिल,एन्जिला, अनिश, अशोक – दोस्रो हार – निर्जल, दीपक,अस्मी, म, ईश्वर, सुजाता -पर- सुमन

आँबुखैरेनीको मर्स्याङ्दी पुल तरेपछि गोर्खा जिल्ला टेकिन्छ । त्यहाँबाट अरू साथीहरूसँग बिदा भएपछि हाम्रो टोली र निर्जल दाइको टोली दरौँदी तरेर उकालो लाग्यौँ । चट्टान देखिएको सडाक किनारमा काम सुरु भयो । केही डाटा लिएत अघि बढ्यौँ, सरहरूको निर्देशनअनुसार स्थानीयसँग छोटो बाटो सोध्दै ।

छोटो बाटो पनि छोटो कहाँ थियो र ? स्याँस्याँ फ्याँफ्याँ गर्दै उकालो चढ्यौँ । बाटोमा चट्टान धेरै भेटिएनन् । जति भेटिए ती तलका भन्दा खासै फरक थिएनन् । बरू धुलोको रङ्ग हेरेर तलको माटो कस्तो होला भनेर अनुमान गर्‍यौँ । डाटा लिने परिस्थिति भने थिएन ।

डाँडा चढ्दै गर्दा तल नदीले बनएको कुहिरो हट्दै गयो । सात-आठ सय मिटर माथी पुगेपछि बादल हामीभन्दा तल तैरिएको देखियो । उत्तरमा देखिए, सेता हिमाल । बाटा छेउमा सुन्तलाका बोट । केही दिनअघि बन्दीपुर जाँदा पनि यस्तो दृश्य देखिएको थियो । त्यही पनि “यस्तै ठाउँलाई स्वर्ग भनिँदो हो,” हामी कल्पित भयौँ ।

मनकामना पुग्नै लाग्दा हामीले मोटर बाटो छोड्यौँ अनि सिँडी चढ्यौँ । सुन्तला खाँदै माथि चढ्यौँ । फूलप्रसाद लिएर फेरि चढ्यौँ । सिँढी चढेर माथी पुग्न झन्डै आधा घन्टा लाग्यो ।

मन्दिरको बदलिएको स्वरूप

अगस्ट २, २०१७ तिर गोर्खा मनकामना शीर्षकको यात्रा संस्मरण लेख्दा साह्रै पीडा भएको थियो । त्यसबेला मन्दिरको अवस्था देखेर विचलित भएको थिएँ । भाग्यले भनौँ या माताको प्रभावले, मौका जुर्‍यो । साथीहरूसँग म पनि मनकामना पुगेँ, ठीक पन्ध्र महिनापछि ।

पन्ध्र महिना पहिले

पहिले जस्ता बेरेर, खट बाँधेर जीर्णाव्स्थामा देखेको “मन्दिर”को ठाउँमा अहिले लोभलाग्दो संरचना छ । ईँटको भित्तामाथि सुनको छाना छन् । अनि दोस्रो तलाको छानामाथि सुनकै गजुर । दिउँसो घाममा मन्दिर झन् टल्केको छ । मन्दिरको संरचना पुरानो छ तर सामग्री सबै नयाँ । पुरानै प्रकारका सामग्री राखेको भए पुरानै जस्तो देखिन्थ्यो भन्ने बिचार पछि मनमा आउँछ । त्यहाँ भने म निस्तब्ध हुन्छु; मन्दिरको सुन्दरताले मोहित ।

IMG_1841

मनकामनाको नयाँ मन्दिर

नयाँ संरचनाभित्र देवीको स्थापना भइसकेको छैन । गोर्खा भुकम्प (२०७२) पछि बनाइएको अस्थायी मन्दिरमा नै क्षमापूजा गरेर देवी बसाइएको छ । शनिबार (कार्तिक १७) मा घर आएपछि मामूबाबा भन्नुहुन्छ, “यही दशैँमा स्थापना गर्ने कुरा थियो त ।”

“जुरेन होला,” म भन्छु । मैले देखेको दृश्यका आधारमा निस्किएको निष्कर्ष त्यही हो ।

IMG_1843
भूकम्प यता पूजाका लागि बनाइएको सानो मन्दिर / भुइँमा टाइल छाप्ने काम भइरहेको छ

***
अघिल्लो साल मनकामना मन्दिरको दुरावस्था देखेर विचलित भएको मैले मन्दिरको पुनर्निर्माण छिट्टै होस् भनेर कामना गरेको थिएँ । उहाँको शक्तिमाथि प्रश्न र गुनासो पनि पोखेको थिएँ । यसपालि माताको बोलावट भयो । सायद उहाँले मलाई आफ्नो सामर्थ्य देखाउन बोलाउनु भयो । अनि यो लेख लेखाउन पनि नत्र त्यति धेरै उत्सुक साथीहरूको बीचबाट मेरो ग्रुप किन छानियो ?

मनकामना माताको नयाँ मन्दिर हेरिरहने मन थियो तर समयको पावन्दी पनि थियो । तीनकिलोसम्म पुग्न कति हिँड्नुपर्ने हो ? थाहा थिएन । तैपनि दुई ग्रुपका अनगिन्ती फोटो खिचेर हामी आआफ्नो रुटतर्फ लाग्यौँ

45282636_1884530991631097_4034300817363173376_n
धेरै मध्येको एक ग्रुप फोटो / बायाँबाट दायाँ: ईश्वर, निर्जल, म, एन्जिला, सुजाता, सुमन, अनिश, अनिल / निर्जल पोखरेलको फेसबुकबाट
Advertisements

धरहरा निर्माण: म मेरो देशको नेतृत्व र मानिसको मन बुझ्दिनँ

एकाबिहानै धरहरा निर्माण सम्बन्धमा लेखिएको एउटा पोस्ट इन्स्टाग्राममा देखियो:

नेपाङ्ग्रेजीमा लेखिएको पोस्टले भन्छ– सरकारले ४.५ अर्बको लगानीमा २२ तले धरहरा बनाउने योजना बनाइरहेको छ ।

यो विषयमा आएका टिप्पणीहरू रोचक छन् । जस्तै:

सारांश: “धरहरा बनाउनुको औचित्य के हो ? त्यसमा लगानी हुने रकम कुनै दीर्घकालीन पार्ने काममा लगाउनु पर्छ ।”

सारांश: “एउटा कलाहीन खाँबोप्रति यति आशक्ती किन ? किन धरहरालाई सांस्कृतिक महत्त्व भएजसरी प्रस्तुत गरिएको छ ।”

“धरहरालाई जस्ताको त्यस्तै राखेर संग्राहलय बनाउन किन नहुने ?”

यस प्रकारका टिप्पणीहरू टन्नै देखेपछि खुसी हुने कि दु:खी हुने द्विविधामा परेँ । र आश्चर्य पनि लाग्यो–हाम्रो बुद्धि किन ढिलो पलाउँछ ?

धरहरा पुनर्निर्माणको कुरा आजको होइन । यो २०७२ वैशाख १२ मा धरहरा ढलेदेखि नै आएको हो । त्यही बेलादेखि धरहराको चित्र बनाएर “हामी फेरि जाग्नेछौँ” (“We will rise again”) भन्ने युवाहरूको जमात ठूलै थियो । तिनै युवा भन्थे, “धरहराको पुनर्निर्माण प्राथमिकतामा पर्नुपर्छ ।”

धरहरा पुनर्निर्माणको प्राथमिकतामा पर्नुपर्छ भन्ने कुराको विरोध मैले पहिले नै गरेको थिएँ ।

धरहरा फेरि नबनाेस् भनेर सायद कमैले साेचे हाेलान् । म तिनमा पर्छु जाे धरहराको ठाउँमा स्मारक बनाेस् भन्ने चाहन्छन् । म त अझ भन्छु- धरहराको अवशेषलाई संरक्षण गरियाेस् । नजिकै एउटा ग्यालरीमा धरहराका पुराना फाेटा राखिउन् । त्याे ग्यालरीले सन्देश दिओस्- हामी प्रकृतिलाई जित्न सक्दैनाैं तर प्रकृति सुहाउँदाे परिवर्तन गर्न सक्छाैं ।

मेराे परिकल्पना साकार नहाेला, धरहरा नै बन्ला तर जुन देशका जनता कठ्याङ्ग्रिदाे जाडाेमा भाेकै नाङ्गै मरिरहेका छन्, त्यस्ताे देशमा धरहराजस्ता संरचनाको कुनै अर्थ छ र ? के त्यस्ता संरचनाले ती आहत जनतालाई मलम लगाउन सक्छ ? सक्दैन भने अहिले धरहरा बनाइहाल्नु पर्ने केका लागि ?

माथिका प्रश्नहरू बाँकी रहुन्जेल धरहरा फेरि बन्नु सायद हाम्राे लागि अभिशाप नै हुनेछ । सभ्यता र संस्कार खाेक्रा अाडम्बर हुनेछन् । हामी इतिहासमा मानवीय संवेदना नभएका मानिसका रूपमा चिनिने छाैँ । हाम्राे संस्कृतिको धरहरा भत्किने छ, जति नै अग्लाे संरचना बने पनि ।”

धरहरा पुनःनिर्माण- केही प्रश्नहरू (अप्रिल ३, २०१६

अङ्ग्रेजीमा पनि लगभग त्यही कुरा लेखेको थिएँ:

Corruption prevails and we watch. Someone among us cheats us and we let it go. We lose common sense while giving priority to emotions over artificial structures. More than twenty lakh rupees have been raised on the fund for reconstruction of Dharahara. A new tower will be built that will resemble nothing with the past. It will fall some day. We will fall some day. Our descendants will cry looking at it. They too will lose their common sense as we have done. Another structure would rise. The cycle would go on.

Reconstructing Dharahara: Why use common sense? (March 30, 2016)

सारांश: “नयाँ धरहरा नयाँ स्वरूपमा बन्नेछ । यसको निर्माणमा हुने भ्रष्टाचार आँखा चिम्लेर स्वीकार्नेछौँ । त्यो ढल्नेछ अनि हाम्रा सन्तती रुनेछन् । फेरि बनाउनेछन् त्यस्तै संरचना । फेरि ढल्नेछ ।”

नयाँ स्वरूपमा धरहरा बन्छ भनेर सरकारले पहिले नै भनेको हो । अर्थात्, यो पुनर्निर्माण होइन, नवनिर्माण हो । सर्वसाधारणले धरहराप्रति जुन लगाव देखाए, सरकारले त्यसैलाई क्यास गर्न खोजेको होला । तर सरकार असंवेदनशील किन ? नाफामुखी किन ? धनीमनीको मात्रै किन ?

सोचौँ त, २२ तले टावर बनाउने साढे ४ अर्ब रूपैयाँले कति भुकम्प, बाढी र पहिरोले पीडितलाई राहत दिन सकिन्छ ? कति विद्युत् र सिँचाइ परियोजना बन्छ्न् ? कति स्तरीय बाटाघाटा बन्छन् ?

हुन त हामी जस्तो, नेतृत्व पनि त्यस्तै हुने हो । अनि भ्रष्टाचारी कर्मचारी प्रशासन र फटाहा (लुटाहा) व्यापारी भएपछि जनतालाई नचाहिने कुरामा खर्च हुन्छ नै । पहिले नै “धरहरालाई म्युजियम बना सरकार, अर्को चाहिँदैन” भन्या भए तिनलाई पोस्नै पर्ने थिएन ।