वृद्ध बाजे आज्ञा गर्नुहुन्छ— हे नातिनातिना हो ! २०७३ सालको तिहारदेखि एउटा यस्तो अनौठो घटना भयो जुन पहिले कहिल्यै भएको थिएन । मानिसहरू चकित भएका थिए । उनीहरू एउटा अद्भुत शक्तिको अभावमा छटपटिएका थिए । लोडसेडिङ धेरै दिनसम्म आएन । हिउँद लाग्नेवित्तिकै लोडसेडिङको प्रतीक्षामा सबै रहन्थे भनेर पहिले पनि भनेकै थिएँ मैले । त्यो साल पनि स्कूले केटाकेटी भनिरहेका थिए— “लोडसेडिङ आएपछि होमवर्क गरौंला भनेको त आउँदै आउँदैन ।” टिभी हेर्दाहेर्दै अनि कम्प्युटर चलाउँदा-चलाउँदै थकित भएका थिए उनीहरू । अल्छि गर्नेहरूले पनि काम गरिरहनु परेको थियो । कर्मचोरी गर्ने कर्मचारी हैरान भएका थिए । केही नेतागण भन्न थालेका थिए— “हैन, यसपाली के भएको ? बिजुली देव जनताका घरमा के गर्दैछन् ? हाम्रो घरमा मात्रै आउनु पर्ने !”
नातिनातिना छक्क पर्दै बिन्ति गर्छन्— हे बाजे ! त्यो साल अचानक लोडसेडिङ हट्त कथा कसरी बन्यो ? अघिल्लो सालसम्म त बढ्त कथा मात्र थियो । सबै कुरा प्रष्ट भन्नुहोस्, बाजे !” तब वृद्ध बाजे भन्नुहुन्छ— हे नातिनातिना हो ! ध्यान दिएर सुन । त्यो साल तिहारपछि लोडसेडिङ नआएको कुराले पत्रकारका आँखा र कान चनाख भए, गुगलको दिव्यदृष्टि पनि प्रयोग गरे उनीहरूले । तब थाहा हुन आयो— लोडसेडिङ त नेपाल विद्युत प्रधिकरणका टाउके कुलमानले गर्दा पो नआएको रहेछ ।
“कुल म्यान ?” फुच्चे नातिले प्वाक्क भने । बाजे एकछिन अक्मकिए । घाँटी सफा गरेर फेरि भने— “उनी कुल म्यान थिए तर नाम त बिगार्न भएन नि नाति ! के भएको रहेछ भने नि, हामी सबै लक्ष्मीपूजाको तयारी गरिरहँदा उनी चाहीँ आफ्नो कामको पूजा गरिरहेका रहेछन् । कामलाई पूजा गर्नाले उनको घरमा लक्ष्मी आइसकेकी थिइन् । तर उनी सबै नेपालीका घरमा लक्ष्मीको वास होस् भन्ने चाहन्थे । त्यसैले बिजुलीदेवको आराधना गरेछन् । बिजुलीदेवसँग भेट्न उनलाई गाह्रो थिएन किनकि चिलिमे भन्ने खोलामा बिजुलीदेवको बसोबासको व्यवस्था उनले गरेका थिए । अब भने देशलाई नै बिजुलीदेवको शक्ति देखाउनु थियो । उनले अध्धयन गरेछन्, लोडसेडिङको चकचकी घटाउने मन्त्र सिकेछन् । तिहारको दिन बिजुलीदेवलाई सबै नेपालीको घरमा आउन आह्वान गरेछन् । अनि देशभरका मुख्य स्टेसन चलाएछन् । लोडसेडिङ एकछिन पनि आउन सकेनछ तिहारको बेला ।
त्यहाँ उप्रान्त कुलमान एकदम हौसिएछन् । उनको हौसला र बिजुलीदेवको आशिर्वादले उनी अत्यन्त तेजीला देखिए । उनको तेजप्रति सबै आकर्षित भए । पत्रकारले अन्तर्वार्ताका लागि बोलाउन थाले । जनताले उनलाई माया दिन थाले । उनकै कार्यालयका केही भने चिढिए, उनीहरूमा इर्ष्याको भावना आयो तर कुलमानको तेज सामुन्ने त्यस्ता नकारात्मक भाव भस्म भए । उनको काम र तेज देखेर नतमस्तक भएका पत्रकारले भने— “हे कुलमान ! आजसम्म कसैले गर्न नसकेको काम हजुरले कसरी गर्नुभयो, कहनुहोस् । कुलमानले मुस्कुराउँदै भने— “म छिट्टै एउटा अभूतपूर्व घोषणा गर्दैछु । त्यही बेला सबै कुरा भन्नेछु ।” पत्रकारहरू वाल्ल परे अनि आआफ्ना आश्रम फर्किए ।
नातिनातिना ज्यादै उत्सुक भएका थिए । उनीहरूले सोधे— “कस्तो घोषणा थियो त्यो बाजे ?”
बाजे भन्नुहुन्छ— हे नातिनातिना हो ! त्यो यस्तो घोषणा थियो, जुन कसैले दश मनमा एक मनले पनि सोचेको थिएन । लोडसेडिङको पराजयका लागि त्यो ब्रह्मास्त्र थियो । पत्रकारले भरिभराउ सभाअघि बसेर कुलमानले भने— “यस अभूतपूर्व घोषणाको अगाडि बिजुलीदेवसँग अनुमति माग्दछु ।” पत्रकारहरू मुखामुख गर्न थाले । कुलमानले मुसुक्क हास्दै भने— “छक्क नपर्नुहोस् पत्रकारज्यूहरू, बिजुलीदेव हामीसँगै हुनुहुन्छ । यो कोठा, यो शहर, अनि यो देशका हरेक तारमा उहाँ निष्फिक्र दौडिरहनु भएको छ । यसैगरी दौडिरहनु हुनेछ । बिजुलीदेव्को अनुमति लिएर आज म घोषणा गर्दछु: आजको मितिदेखि लोडसेडिङको अन्त्य भएको छ ।”
पत्रकारहरू खासखुस गर्न थाले । उनीहरूले भने— “कुलमानज्यू, बिजुलीदेव स्वयम् भन्नुहुन्थ्यो— “लोडसेडिङ बालाई पराजित गर्न म अहिल्यै सक्दिनँ ।” अचानक उहाँको शक्ति कसरी बढ्यो ?”
कुलमानले फेरि मुस्कुराउँदै भने— “मोटिभेसन महोदयहरू, अरू केही होइन । लोडसेडिङको अन्धकारले गर्दा बिजुलीदेव हीनताबोधले ग्रसित हुनुहुन्थ्यो । हामीले पनि लोडसेडिङलाई सहजै स्वीकारेका कारण उहाँको जोश मरेको थियो । मैले बिजुलीदेवलाई भनें— “हे बिजुलीदेव ! लोडसेडिङ विरुद्ध धावा बोल्न हजुर बाहेक अरू कसैको सामर्थ्य छैन । यो भक्तको पुकार सुनेर देशभर प्रकट हुनुहोस्, प्रभु !
बिजुलीदेवले भन्नुभयो— “ठूला जलविद्युत आयोजना बनिसके ?”
मैले भनें— “छिट्टै बनिसक्ने छन् ।”
“वैकल्पिक उर्जाको विकास भयो ?”
“हुँदै छ ।”
“तिम्रा कार्यालयका सबै भ्रष्ट कारबाहीमा परे ?”
“छैन ।”
अनि उहाँले जंगिदै भन्नुभयो— “म कसरी आउँ त त्यसो भए ?”
“तारमार्फत आउनुहोस् प्रभु !”
“कसरी ?”
“देशमा भएका परियोजना हजुरको शक्ति बढाउन पर्याप्त रहेछन् । सुक्खा मौसममा केही गाह्रो होला तर चुहावट नियन्त्रण गरेपछि सब ठीक हुनेछ । वैकल्पिक उर्जा पनि बिस्तारै अघि बढ्दै छन् । सोलार प्यानलले काठमाडौंका धेरै सडक उज्यालो बनिसके । मेरो कार्यालयका कर्मचारी अव्यवस्थाले ग्रसित छन् । अव्यवस्थाले भ्रष्टाचार बढाउने रहेछ । ‘राइट म्यान एट राइट प्लेस’को अवधारणामा अघि बढ्नेछु । अहिलेलाई आरामले तारमा कुद्नुहोस् प्रभु !”
यति भनेपछि बिजुलीदेव आश्वस्त हुनुभएछ । लोडसेडिङलाई हराउन सक्नुभएछ । कुलमानका सपनाजस्ता कुरा सुनेर सबै अलमलिए । इन्भर्टरको ब्यापार गर्नेहरू झस्किए । नेपालमा लोडसेडिङ सधैं आउनुपर्छ भन्ने विद्वानहरू जिल्लिए । लोडसेडिङलाई मार्न सकिन्छ भन्ने विद्वानहरू उजिल्लिए । वृद्ध बाजे भन्नुहुन्छ— तर यो परिवर्तन कहिलेसम्म रहने हो भन्ने प्रश्न उठिरहेको थियो । लोडसेडिङ आउनु जरुरी थिएन भने किन ल्याइयो ? पहिला लोडसेडिङ गराउने माथि कारबाही हुन्छ त ? बिजुलीदेव निद्राबाट जागेझैँ सबै नेपाली जाग्नुपर्ने अभूतपूर्व समय आएको थियो ।
।।इति श्री नेपाल पुरणे हिउँद खन्डे विद्युत म्हात्म्ये बाजेनातिनातिना संवादे
श्री लोडसेडिङ हट्त कथायां कुलमान वर्णन नाम संकटमोचानाध्याय ।।