७ दिन ७ पुस्तक

फेसबुकमा केही वर्षदेखि नै ७ दिन ७ पुस्तक च्यालेन्ज देखेकाे थिएँ । नेपाली पुस्तकप्रेमीहरूले पठन संस्कृतिकाे प्राेत्साहनका लागि ७ दिनसम्म ७ वटा पुस्तक कुनै पनि व्याख्या वा समीक्षाविना पाेस्ट गरिरहेका थिए । समीक्षासहितकाे चुनाैति पनि देखेकाे हुँदा केही नलेखी फाेटाे मात्र राख्दा कसैले ‘ढर्रा पारेकाे’ भन्ने हाे कि भन्ने शंका जाग्थ्याे । गुगलबाट खाेजेर किताबकाे फाेटाे राख्न पनि गाह्राे छैन । व्याख्या वा समीक्षाविना पाेस्ट गरिरहँदा अरूलाई पठनप्रति आकर्षण गर्न सकिन्छ र ? भन्ने प्रश्न पनि मनमा थियाे ।

साथी गौरी बम्जनको च्यालेन्ज स्वीकार गर्नुअघि माथी उठेका प्रश्नहरू बारे सोचेँ । व्याख्या गर्न मन हुँदा पनि नगरेर फोटोहरू हालेँ । ती पुस्तकहरू यहाँ प्रस्तुत गरेको छु । अनि ती पुस्तक किन छानेँ भन्ने कुरा पनि समेटेको छु (च्यालेन्ज दौरान नलेखे पनि) ।

१. मोती र गुलाफ (लोककथा सङ्ग्रह)- शिवहरि अधिकारी

कक्षा १ मा छँदै पुरस्कार स्वरूप पाएको यो किताब धेरै नै प्रिय छ । यसमा भएका ६ वटा कथाले मन छुन्छन् अनि केही नैतिक शिक्षा पनि दिन्छन् । धेरै वर्ष छिमेकमा बसेर फिर्ता आएकोले गर्दा पनि यो किताबप्रती आशक्ति अलि बढी छ ।

२. बनारसमा बेचिएकी बहिनी (निबन्ध सङ्ग्रह)– नगेन्द्र

आठ कक्षामा छँदा किताब र पत्रिका राखेको बक्सामा एकदिन यो पुस्तक भेटेको थिएँ । टङ्कनमा धेरै गल्ती भए पनि यसले सुरुमै आकर्षित गर्‍यो । यी निबन्धहरूले निबन्धप्रतिको दृष्टिकोण नै परिवर्तन गरे । मेरा कतिपय ब्लग पनि यी निबन्धबाट प्रभावित छन् ।

३. धुवाँ (कथा सङ्ग्रह)–आत्माराम शर्मा

बाबाले ल्याउनुभएको यो किताब ५ कक्षादेखिका धेरै बिदाहरूमा पढेको थिएँ । सामान्य मान्छेका असामान्य कथाहरूले रुवाउँथे । नपढेको धेरै भएको हुँदा धेरै कुरा याद छैनन् । फेरि छिट्टै पढ्नुपर्ने पुस्तक हो यो ।

४. एउटा कथा भन्नु न हजूरआमा (बालकथा सङ्ग्रह)- रमेश विकल

रमेश विकलका कथा र उपन्यासहरू विभिन्न उमेर समूह लक्षित छ्न् । बालबालिकाका लेखिएका यस सङ्ग्रहका कथाहरूले कल्पनाको संसारमा पुर्‍याउँछ्न् ।

५. जंगबहादुर (ऐतिहासिक उपन्यास)–श्रीकृष्ण श्रेष्ठ

साधना मासिकमा जङ्गबहादुर उपन्यासका अंश पढ्दा आङ सिरिङ्ग हुन्थ्यो । सानोमा धेरै पटक यी अंश पढेको थिएँ । पूरा उपन्यास पढ्न भने पोहोर साल मात्र जुर्‍यो, त्यो पनि जापान टुरको दौरान । यस उपन्यासको समीक्षा पोहोर साल लेखिसकेको छु ।

६. घनचक्कर (उपन्यास)–सञ्जीव उप्रेती

७. लिखे (उपन्यास)–शरद पौडेल

पागलपनको कथा बोकेको घनचक्कर पहिलो चोटि पढ्दा कायल भएको थिएँ । कक्षा ९ मा एउटा प्रतियोगितामा पुरस्कारको रूपमा पाएको दिन करिब ५ घण्टामा पढिसकेको थिएँ । त्यसपछिका वर्षहरूमा पढ्दा हरेक पल्ट नयाँ कथा र सोच भेटेको छु । पढेका नेपाली उपन्यासमध्ये सबैभन्दा माथिल्लो तहमा घनचक्करलाई राख्ने गरेको छु ।

नवयुवा मासिकमा लिखेका केही अंश पढेको थिएँ । “जङ्गबहादुर”झैँ यो किताब पनि देख्नेबित्तिकै किनेको थिएँ । बाग्लुङको सानो गाउँमा अछुत भनेर ठूला जात भनाउँदाले दिएका दु:ख र लिखेले सानै उमेरमा गर्नुपरेको संघर्षले मुटु कुँड्याउँछ ।

अन्त्यमा, मेरा प्रश्नका जवाफ पाएँ । व्याख्या नै नगरे पनि पुस्तकप्रति आकर्षित गराउन सकिँदो रहेछ । त्यसो भए यति लामो लेख किन ? किनकी यो नलेखी चित्त बुझाउनै सकिनँ । अनि यो लेखमार्फत अझै धेरैलाई आकर्षित गर्न सक्छु कि भन्ने सानो प्रयास (आश) हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.