हतार

बिहान कलेज जान समयमै निस्कन खोजे पनि कहिले के मा कहिले के मा अल्मलिन्छु । हतार गर्दै निस्कन्छु । आफूलाई चाहिने चीजबीज छुट्छन् । ‘छुटे छुटुन् है !’ भन्दै पुग्छु गाडी चढ्न । गाडी चढ्ने कुनै निश्चित बिसौनी छैन । भित्री सडकमा न ट्राफिक चाप न त गस्ती । जहाँ गाडी भेट्यो त्यहीँ हात दियो, गाडी रोकिन्छ तर यति हतारमा हुन्छ कि पाइला राख्न नपाउँदै हिँडिसक्छ । लड्दैपड्दै सीट सम्म पुग्छु । बसमा तै बिसेक, माइक्रोबसमा त कहिलेकाहीँ बस्ने ठाउँसम्म हुन्न । कोच्चिन्छु । गन्तव्यसम्म पुग्न हतार छ ।

मैले मात्रै हतार गरेर भएन । चालक दलका दुई सदस्यलाई आराम छ । अघि म चढ्दा हुइँकाउने चालक दाजु अहिले कछुवाको चालमा अघि बढाउनुहुन्छ । “मान्छे नै छैन,” सहचालक भन्नुहुन्छ । म चाहिँ घडी हेर्छु अनि आत्तिन्छु । ढिला हुन लागिसक्यो ।

गाडीले वेग लिएपछि दङ्ग पर्छु । अचानक घ्याच्च ब्रेक लाग्छ । अगाडि हुत्तिन्छु । धन्न नाकको डाँडी भाँचिएन । “के गरी चलाको हौ ?” यात्रुहरू आक्रोशित हुन्छन् । “पचासी आइसक्यो” सहचालकको आवाज सुनिन्छ । पछाडिको गाडीले उछिन्यो भने पेसेन्जर पाइन्न । चालक दललाई हतार भयो अहिले चाहिँ । यात्रु चढाउने र ओराल्ने काम तीव्र गतिमा हुन्छ । वेग बढेको गाडी कतै जाकिने हो कि कसैलाई ठोकिदिने हो कि, सातो जान्छ ।

टुँडिखेल पूर्वको पुरानो बसपार्क नयाँ बनाउन हटाएपछि खुल्लामञ्चमा पुग्यो । केही महिनापछि भृकुटीमण्डपमा माइक्रोबस र अधिकांश गाडी रोक्न प्रतिबन्ध लाग्यो । अचम्मको कुरा चाहिँ के भने ती स्टपका प्रतीक्षालयमा प्रतिबन्धको केही दिनअघि मात्रै नयाँ रङ्ग लगाइएको थियो । अब जमलदेखि सुन्धाराका बीचमा कतै गाडी रोक्न पाइन्न । तर हामी यात्रुलाई नीतिनियमले कहाँ बाँध्छ र ? घण्टाघर ओर्लिनुपर्नेलाई जमलमा ओर्लिन हुन्न । अरू बेला ‘नियमसियम बाल’ भन्ने चालकदल सकेसम्म जमलमा नै ओर्लिदियोस् भन्छ । तर ढिट यात्रुका सामुन्ने प्रायः लाचार हुन्छ अनि झारिदिन्छ जहाँ यात्रु चाहन्छ । यस्तो दृश्य वागबजारको आकाशे पुल, भृकुटीमण्डप अगाडिको प्रतीक्षालय र शहीदगेटमा सधैँजसो बिहानपख देखिन्छ । दिउँसो ट्राफिक प्रहरीले बढी निगरानी गर्ने हुनाले यात्रुलाई गाली गर्दै र यात्रुको गाली सुन्दै भए पनि जमल र सुन्धारामा नै गाडी रोक्छ चालकदल ।

“कति हतार हो हामीलाई ?” आफैँलाई प्रश्न गर्छु । ज्यानलाई हत्केलामा राखेर, असुरक्षित तरिकाले बाटो काटेर, ट्राफिक नियमको पालाना नगरी हामी छिटो ठाउँमा पुग्ने नाममा यो के गर्दैछौँ ? यस्तो बेतुकको हतारो केका लागि ?

हामीलाई हामीले खोजेको ठाउँमै गाडी आइदिनुपर्ने, जहाँ भन्यो त्यहीँ ओरालिदिनुपर्ने, ट्राफिक प्रहरीको लागि मात्रै नियम पालना गरिदिनुपर्ने, आदि इत्यादि समस्याको मूल जरो अनुशासनको कमी हो । सरकारले सबै ठाउँमा एकै किसिमको नियम लागू गराउन नसक्नुमा सरकारको कमजोरी त छँदै छ, कतै न कतै हामी आम जनता पनि त्यस्तो कमजोरीका कारक हौँ । ट्राफिक नियमका सामान्य काइदा पालना गर्न नसक्ने हामी नेपालीहरू अरू नियमकानून पनि लत्याउँदै उन्मुक्त साँढेझैँ हिँडेका छौँ । यस्तो हिँडाईले हामी विकास र समृद्धिको गन्तव्यमा पुगौँला ? म त सम्भावना ज्यादै कम देख्छु ।

हतारिनु र हतासिनु कमजोर मनस्थितिको उपज हो । हामीभन्दा पछि स्थापना भएका देशहरू अगाडि बढेको देख्दा हामी छ्ट्पटिन्छौँ । उनीहरूले समातेको बाटो पहिल्याउन खोज्छौँ । तर तिनका योजना हामीले लागू गर्न सक्दैनौँ । उनीहरूका र हाम्रा चुनौती र अवसर नै फरक छन् । स्काइस्क्रेपरहरू उनीहरूका समृद्धिका प्रतीक हुन् भनेर हामी पनि समृद्ध देखिने हतारमा त्यस्तै गगनचुम्बी भवन बनाउन थाल्छौँ । यस्तो देखावटी अनि योजनाविहीन प्रतिस्पर्धाले कतै हामीलाई भड्खालोमा जाक्ने त होइन ?

अनुशासन बिना कुनै योजनाको सफल कार्यान्वयन हुनै सक्दैन । जसरी पनि अघि बढ्ने नाममा सोचविचारै नगरी बाटो खन्दा पहिरो खस्ने सम्भावना बढ्छ । त्यस्तै अरूलाई उछिन्न खोज्दा हाम्रा मूल्यमान्यता परिवर्तन भएका छन् । जो धनी देखियो उसलाई सम्मान गर्ने समाज अनि संभ्रान्त बन्न हतार गर्नेहरूका कारण भ्रष्टाचारको चक्रव्यूहमा हामी फसेका छौँ । आफूलाई अनुशासित राख्ने मानिसहरू कागको हुलमा बकुल्ला बन्ने अवस्था रहेसम्म हामी हत्पतको काम लत्पत गरिरहने छौँ ।