गोर्खा मनकामना …

“उठ्, हामीसँग मनकामना हिँड् ।” ठुल्ममीको आवाज आयो ।

“जानू दादा, फुर्सद पनि छ ।” बहिनीले भनी ।

साउन १० गते मङ्गलबार मेरा कानमा परेका पहिला शब्दहरू यिनै थिए । म भने निद्राबाट राम्रोसँग ब्युँझिएकै थिइन । के भइरहेको छ भनेर बुझ्नै सकिन निकै बेर त । सपना पो हो कि ? एकछिन रनभुल्लमा परेपछि सपना होइन भन्ने लाग्यो अनि नुहाउनु पो पर्छ भन्दै जुरुक्क उठेँ ।

शरीर भित्र र बाहिर सफा भएपछि चियाको चुस्की लिँदै बिस्कुट चप्लक्क चोब्दै चपाएँ । मन्दिर जानु थियोे तर भोक असाध्यै लागेको थियो । पेटको जलन शान्त भयो । साँच्चै भैरव अर्यालले भनेझैँ भुँडी पूजा नभएसम्म केही गर्न मन नलाग्दो रहेछ ।

सवा ६ बजेतिर ठुल्ममी र ठुल्बाबासँग घरबाट निस्किएँ । कालो बादल बर्सिन थाल्यो । घरबाट धुम्बाराही चोक नपुग्दै मसिनो भए पनि भिज्ने गरि पानी परिसकेको थियो । ठुल्बाबा त लमकलमक अघि लागिहाल्नु भो । ठुल्ममीलाई चैँ हिँड्न गाह्रो हुन थालेको रैछ । त्यसमाथि मामूको सानो चप्पल लगाउनु भएको थियो । उहाँको गतिमा हिँडेँ म पनि, छाता ओढ्दै ।

धुम्बाराही चोकमा पुग्नेबित्तिकै महानगर यातायात चढियो । हुन त चक्रपथ परिक्रमा गर्ने गाडी पाउन गाह्राे छैन तर जुन पहिला आयो त्यही नै चढियो । पहिले महानगर यातायातको गाडी चढ्दा बस्न अफ्ठ्यारो भएको थिएन । त्यो गाडीमा बस्दा चैँ अगाडिको सिटमा घुँडा ठोकियो । ‘घुँडा नठोक्किने सिट स्पेस भएको गाडी पाउन पनि अति मुस्किल !’ मेरो सोच ।

सात बजे कलंकी पुग्यौँ । एकैछिनमा नारायणगढ जाने गाडी (माइक्रोबस) मा मनकामना (कुरिनटार) ओर्लिने भन्दै चढ्यौँ । सुरुमा प्रती व्यक्ति ३७० रुपैयाँ भन्दैथिए तर ३०० मै माने । सुरुमा त सोचिनँ तर एक जनालाई ५० रुपैयाँ जती महङ्गो पर्न गयो कि जस्तो चैँ लाग्यो ।

कलंकीमा सातै बजेदेखि जाम ! एक लेन बाटो खनेको छ अनि मास्तिर चोकमा पहिले बनेको आकाशे पुल भत्काएर बिजोग ! आधा घण्टापछि जाम खुल्यो । काठमाडौँ जिल्लाका नगरहरूको बिजोग पनि देखियो । बाटोभरी पानी परिरह्यो । हिलोले छ्पक्कै छोपेको छ काठमाडौँको सडकलाई । गाडीहरूले जोतेका छन् तिनलाई । कमी छ त रोपार र धानका बीउको ! काठमाडौँ महानगरपालिका, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका मुल बाटाहरू नै खेतजस्ता भएका छन् । कीर्तिपुरमा सडक निर्माणमा घोटाला भयो रे भन्ने सुनिएको थियो अघिल्लो दिन । स्मार्ट नगर बनाउँछौँ भन्ने निर्वाचित पदाधिकारीलाई सम्झेर हाँसो उठ्छ । माया पनि लागेर आउँछ । कम्तीमा सिटी त पहिला बनाउनुस् भन्ने सुझाव पनि दिन मन लाग्छ ।

धुवाँधुलोको शहर छुटेर गाडी नागढुङ्गाको ओरालो झर्यो । हिलो कम भएको थियो तर कुहिरोले डाँडो पुरै छेकेको थियो । पानीमा रुझ्दै गाडीले कुहिरो छिचोल्यो । नौबिसे आइपुग्दा त आकाश अलि खुलेको थियो, पानी पर्न पनि रोकिएको थियो ।

सिम्लेमा गाडी एकछिन रोकियो । पर पानीले डुबाइएका खेतमा खनजोत गर्दै रोपाइँ चल्दै थियो । मलाई रमाइलो लाग्दै थियो । ती किसानहरू चाहिँ रमाइ रहेका थिए वा सधैँ गर्नुपर्ने कामको बोझले थिचिएका थिए, थाहा नै भएन । अझ पर पर पहाडको टाकुरीमा सेतो-कालो बादल मडारिइ रहेका थिए । ती बादलले किसानलाई खुसीको सन्देश दिन्छन् सायद । तर कल्पना नै गर्न नसक्ने त्रास पो दिन्छन् कि सँगै बाढी पहिरो ल्याएर ।

IMG_0993
सिम्लेमा हाईवेबाट देखिएको दृश्य

 

त्यसपछि गाडी फेरि हुइँकियो । निकैबेर हावाले मुखमा हानिरह्यो । मुख अलिकति कुच्चियो कि जस्तो पनि लाग्थ्यो घरीघरी । तर मीठा गीत सुन्दै बाहिर हेर्दै हावा खानुको मज्जा शब्दमा वर्णन गर्नै सकिँदैन ! बैरेनी बजारमा बाटो बन्दै रहेछ । त्यहाँ पनि हिलो र धुलो देख्न पाइयो । काठमाडौंं झैँ निर्माणाधीन बजार रहेछ भन्ने मेरो मनमा पर्‍यो । तर अलि पर मोडमा पुग्दा खनिएको पहाड अस्थिर भएर अहिले नै ढुङ्गा खस्छन् कि जस्तो पनि देखियो । त्यो बजार कटे पछि फेरि रफ्तार पकड्यो माइक्रोले ।

साढे नौ बजेतिर मलेखु बजारमा गाडी गुड्दै थियो । मेरो मन पनि उड्दै थियो । परार साल हिउँदमा दुई साता बसेपछि त्यो ठाउँमा प्राणको अंश नै छोडे झैँ लाग्छ । त्यहाँ हिँडेका बाटा-गोरेटा, पहाड र खोलाहरूको सम्झना मस्तिष्कमा ताजा नै छ । गाडी त्यो क्षेत्रबाट जाँदै गर्दा सोच्छु–ओहो, धेरै नै पो हिँडिएछ त्यो बेला !

हामीले परार साल “इन्डिभिजुअल फिल्ड” का क्रममा सुन्तला किनेर खाएको ठाउँ शितलबजारमा गाडी रोकियो । ड्राइभर दाइले धेरै समय लगाए खाना खान । कुरिनटार अब बीस मिनेटमा पुगिन्छ पनि भने । खासै टाढाजस्तो त मलाई पनि लागेको थिएन त्यहाँबाट तर बीस मिनेट मात्र होला ? प्रश्न आयो मनमा ।

आधा घण्टा गाडी त्यहीँ रोकियो । अनि गुड्न थाले पछि बीस मिनेट घडीमा हेर्न थालेँ । समय मात्रै अघि बढ्यो । ठाउँ त आउँदैन त । अर्को बीस मिनेटमा पनि आइपुगेन । होइन, ड्राइभर दाइले त उसै भनेछन् । निकै टाढा रहेछ । शितलबजारबाट हिँडेको ठ्याक्कै एक घण्टामा कुरिनटार पुगियो । त्यसबीचमा थुप्रै ठाउँ देखियो । इच्छाकामना नेर पर पहाडबाट झरेको झरना देख्दा मन रमाएको थियो तर गाडीको बेगका कारण फोटो खिच्न चाहिँ सकिनँ ।

मनकामना केबलकार

मनकामना मन्दिरसम्म सजिलो गरि आवतजावत गराउने उद्देश्यले मनकामना केबलकार प्रा. लि. ईस्वी सम्बत् १९९९ देखि सञ्चालनमा आएको छ । कुरिनटार र मनकामनामा दुइटा स्टेसन छ्न् । बीचमा २० वटा टावरमा बाँधिएको तारको लट्ठामा गोन्डोला (कार) हरू समान दूरीमा झुन्डाइएका छन् । जम्मा ३६ वटा यात्रुबाहक र ३ वटा मालबाहक कारहरू छन् । तर मर्मतका लागि केही कारहरू छुट्टै राखिएका हुन्छन् । केबलकारबाट ओहोरदोहोर गर्न औसतमा दस मिनेट लाग्छ । काउन्टरमा तीनजनाको लागि ठुल्बाबाले टिकट लिनुभयो । हामी स्टेसनतर्फ लाग्यौं ।

मनकामना केबलकार स्टेसन, कुरिनटार
केबलकार चढ्न मानिसहरूको लाइन । माथि बोर्डमा सुरक्षा निर्देशन ।
एनसेलले कुनै बेला पर्पल बनाइदिएको त्रिशुली पारिको बस्ती
करालो

मनकामना बजार

गोर्खा जिल्लाको मनकामना स्टेसनको गेटबाट बाहिरिने बित्तिकै मनकामना बजार देखिन्छ । दश वर्षअघि यो बजारमा खानाको व्यापार व्यापक थियो । अहिले पनि छ । तर अझ व्यापक भएछ, फोटोको व्यापार !

“फोटो खिचाउन यता आउनुस् (दाजु/दिदी/अंकल/आन्टी) ।”

“हाम्रोमा अरू पसलमा भन्दा सस्तो छ ।” रेट कति भनेर सोध्दा भित्र तानेर लान्छन् अनि थरीथरीका फ्रेम देखाउँछन् । चित्त बुझेन भने पनि सकेसम्म आफ्नोमा फोटो खिचाइदिन चाहन्छ्न् । खिचातानी चल्छ । रिसाउँछन्, गाली पनि गर्छन् । रमाइलो मानेकोले मात्रै तर फोटो खिचाउनु छैन भने त अत्ति नै हो नि !

IMG_1031
व्यापार

IMG_1055

बजारमा अग्लाअग्ला घरहरू छन् । छक्क पर्दै हेर्छौँ । बजारको अन्तिम मोडमा पुगेपछि देखिन्छ मन्दिर …

मनकामना मन्दिर

किंवदन्ती

गोर्खाका राजा राम शाहकी रानी महिमावती (जसलाई लीलावती वा चन्द्रमुखी पनि भनिन्थ्यो) सँग महाकाली, महालक्ष्मी र महासरस्वतीको शक्ति थियो । उनको शक्तिका कारण गोर्खामा जनताले न्यायको प्रत्याभूति गर्न पाए । उनको न्यायका कारण “न्याय नपाए गोर्खा जानू” भन्ने लोकोक्ति प्रख्यात हुन गयो । उनका भक्त लखन थापा मगर मात्र उनको दिव्य शक्तिका बारेमा जान्दथे ।”

एकदिन राजाले रानीलाई देवी स्वरूपमा देखे । उनले त्यो कुरा रानीलाई भनेको केही समयमा नै उनको मृत्यु भयो । तत्कालीन चलन अनुसार रानी सती जानुपर्ने भयो । लखन थापाले ठूलो बिस्मात् गरे । रानीले उनको घर नजिकै अवतरित हुने वाचा गरिन् ।

केही महिनापछि एउटा किसानले खेत खन्दै गर्दा हलो एउटा ढुङ्गामा ठोक्कियो । त्यो ढुङ्गाबाट दूध र रगत बहन थाल्यो । किसानले लखन थापालाई बोलयो । उनले त्यो ढुङ्गामा देवी अवतरण हुनुभयो भन्ने बुझे । तान्त्रिक शक्तिको प्रयोग गरेर उनले दूध र रगतको वहाव रोके अनि मनकामना देवीका रूपमा स्थाप्ना गरे । उनै लखन थापाका सन्तानहरू मनकामना मन्दिरका पुजारी रहन्छन् ।

वर्तमान 

… त्यस दिन मनकामना मन्दिरको जुन स्वरूप देखियो, त्यो मैले कल्पना नै गरेको थिइनँ । पहिले देखेझैँ रातो रङ्गले रङ्गिएजो दुई तले मन्दिर देखिन्छ भन्ने लागेको थियो । तर देखियो गजुर र माथिल्लो तला झिकिएको, खट बाँधिएको, फुङ रङ उडेको एउटा संरचना !

२०७२ वैशाख १२ गते गोर्खा जिल्लाको बार्पाकलाई केन्द्रविन्दु बनाएर भुकम्प गएको थियो । त्यही बेला नै मनकामना मन्दिर भत्किएको थाहा पाइएको थियो । ठीक ६ महिना अघि मामुबाबा त्यहाँ जाँदा खट बाँधेको रहेछ भन्नुभएको थियो । तर मैले त्यहाँ मन्दिरको स्वरूप नै देखिनँ । शंका लाग्यो, मनकामना मन्दिर यही हो त ?

IMG_1032

मनकामना मन्दिर । पुरानो स्वरूप जस्तापातामा टाँगिएको फ्लेक्समा । मान्छेले नगरी त भगवानले पनि आफ्नो घर बनाउन नसक्दा रहेछन् !

बजार र वरपरका संरचनामा भुकम्पको प्रभाव देखिँदैन । मन्दिर चाहिँ पुनर्निर्माण गर्न भन्दै भत्काइएको छ । चन्दा उठाइँदै छ । “मनकामना मन्दिरको र केबलकार कम्पनीको आम्दानीबाट नै मन्दिर बनाउन सम्भव छैन र ?” ठुल्बाबाको प्रश्न । “सरकारी सहयोग पनि कुरेर बसेका होलान् ।” मेरो तर्क । तर मन्दिर छिटो नबन्नु दुर्भाग्य नै हो ।
मन्दिर हेर्दाहेर्दै मनमा उठ्यो, “ढुङ्गाको मूर्तिमा भगवान मान्नु अनि संरक्षण गर्नु मानिसको कल्पना बाहेक केही होइन रैछ । शक्तिशाली भए त ढुङ्गाका भगवानले आफ्नो घर त जोगाउनु पर्ने । अनि आफ्नो घर आफैँ बनाउनु पर्ने । तर मान्छेको कल्पनाभन्दा माथी केही पनि छैन । मान्छेले नगरी त भगवानले पनि आफ्नो घर बनाउन नसक्दा रहेछन् !”

ढुङ्गाको मूर्तिमा देउता हुँदैनन् भन्ने मान्यता राख्ने मजस्ताका लागि यो निकै राम्रो प्रमाण हो । तर म खुसी हुन सकिनँ । मन्दिर र मूर्ती हाम्रा पुर्खाको कला र मिहिनेतका निशानी हुन् । मन्दिर बनाउन ढिलो गर्नु भनेको पुर्खाको उपहास हो ।

मूल मन्दिर छेउमा एउटा टहरो बनाएर “देवी”लाई राखिएको छ । मगर पुजारीका हातबाट म “बाहुनको छोरो”ले टीका थाप्छु । जातीयताको कुनै प्रश्न उठ्दैन । पछाडि रहेको गोरखनाथमा बेलपत्र चढाउछौँ । अनि दश-पन्ध्र मिनेटमा नै हामी मन्दिर प्राङ्गणबाट बजारमा आउँछौँ । बजार तीनचार पटक ओहोरदोहोर गरे पछि हामी स्टेसनमा फर्कियौं ।

मनाकामना स्टेसनमा केहीबेर लाइन बस्नुपर्यो । तर दुई बजे हामी तल्लो स्टेसनमा पुगिसकेका थियौं । तर काठमाडौं आउँदा नौबिसेमा जाम परेकाले अनि पानी पनि परेकाले नौ नबजी घर आइपुगिएन ।

फर्किने बेलाको लाइन

5 thoughts on “गोर्खा मनकामना …

  1. Left a like because I enjoyed the pictures! I know there is a way to translate to English but I don;t know how to do it. Anyway I was glad to see you out and about again. Thanks for making yourself known by leaving a like on my “Survival…” 😀

    Like

  2. I should have translated this but writing this took more than a week. So I will be back not with the translation but maybe with a series of articles in English covering what I have not written here.

    Like

  3. Pingback: पन्ध्र महिनापछि फेरि मनकामना पुग्दा – Stories of Sandeept

Leave a reply to sandeept252 Cancel reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.