भेडा

images

नेपालको चुनावी सन्दर्भमा “भेडा” शब्द एकदम प्रचलित छ । कुनै बेला सर्वमान्य नेता गणेशमान सिंहले “काठमाडौंंका जनता भेडा हुन्” भन्नुभएको थियो भन्ने सुन्दा सानामा रमाइलो लाग्थ्यो । प्रजातान्त्रिक शक्तिलाई नपत्याएको झोंक थियो सायद उहाँको ।

वैशाख ३१ गते पहिलो चरणको स्थानीय चुनाव सकियो । “भेडा” शब्द फेरि चर्चामा आयो । पहिलेजस्तो नेताको भाषणमा होइन, जनताको सामाजिक सञ्जालको भित्तामा ।

भेडा को हुन् ?

वर्तमान सन्दर्भमा भेडा भन्नाले कांग्रेस, एमाले, माओवादी लगायतका लामो समयसम्म शासन गरेका दलहरूलाई भोट हाल्ने जनता हुन् रे । नयाँ दलहरूलाई भोट हाल्ने (खासगरी काठमाडौंको सन्दर्भमा) चाहिँ भेडा होइनन् रे । मलाई यस्तै भनेका थिए एकजनाले फेसबुकमा । यसरी बुझ्दा मतदानमा सहभागी अधिकांश जनता (म सहित) भेडा हुन् ।

अर्को परिभाषा पनि भेटिन्छ यदाकदा । “राम्रा”लाई भन्दा “हाम्रा”लाई भोट हाल्ने पनि भेडा हुन् । यसमा मेरो विचार के छ भने नि “हाम्रा राम्रा” हरूलाई भोट दिनु सर्वोत्तम हो । तर “राम्रा” जति “हाम्रा” हुन् भन्ने ग्यारेन्टी नभएसम्म जनताले आफ्ना नजिकका (“हाम्रा”) लाई नै भोट हाल्छन् । एउटा उखान छ त, “टाढाको देउता भन्दा नजिकको भूत वेश” ।

पुरानाका विरुद्ध नयाँ

यहाँ नयाँको पनि अपव्याख्या भएको देख्दा छ्क्क पर्छु म त । भर्खर खुलेका दलहरू अनि युवाहरू नयाँ हुन् रे । नयाँ हुन त सोच पनि नयाँ हुनु पर्‍यो नि । तालिवानहरू युवा शक्तिका रूपमा अफगानिस्तानमा देखा परे । तर तिनले पुरातनवादी शरिया कानुनमा जोड दिए ।

नेपालमा भएका “नयाँ” दलहरूमा पनि नयाँपन छैन । बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीलाई नयाँ ठान्ने युवाहरू छन् यहाँ । भट्टराईको अध्यक्ष बन्ने सपनाको उपज थियो यो पार्टी । भयङ्कर ठूलो सभा गरेर पार्टी घोषणा गरे हाम्रा डाक्टरले ।  हजारौंले वर्ष दिन नपुग्दै पार्टी छाडे । बौद्धिकताको कदर भएन भन्दै थिए ।

दुई महिना अघि बीबीसी नेपालका पूर्वप्रमुख रवीन्द्र मिश्रले घोषणा गरेको तर दर्ता नभएको “साझा पार्टी” सामाजिक सञ्जालमा भाइरल बन्यो । युवाहरूलाई तान्यो पनि । कामनपाको मेयरमा पूर्वसचिवलाई उठायो । झट्ट हेर्दा उनी योग्री देखिए तर ब्यूरोक्रेटहरूलाई जनताले पत्याउने बेला भयो त । हुन त सबैलाई एउटै कित्तामा हाल्नु ठीक नहोला देश बिग्रनुमा कर्मचारीहरूको असक्षमताको ठूलो हात छ भन्ने अधिकांश ठान्छन् । अनि साझा पार्टीको घोषणा अर्को एउटा पार्टी विवेकशीलको विरुद्धजस्तो पनि देखियो ।

विवेकशील-मैले अलि भिन्न होला भन्ने ठानेको दल । भिन्नता देखाएको पनि थियो । टायर बालेर गर्ने आन्दोलनलाई प्लेकार्ड बोकेर, हल्लाखल्लाको विरोध छाडेर मौन विरोध सिकाउने दल । म कति इम्प्रेस्ड भएको थिएँ । स्वास्थ क्षेत्रमा सुधार हुनुपर्ने माग राखेर डाक्टर गोविन्द केसीले अनसन बस्दा साथ दिने पहिलो दल पनि यही थियो । तर त्यही अनसन ताका मैले स्वास्थ सेवा लिन गएका हजारौंले दु:ख पाएको देखें । काठमाडौंका निम्न/मध्यम वर्गीय र बाहिरबाट उपचारका लागि आएका जनताले दु:ख पाउनु जायज हो त भन्ने प्रश्न गर्दा जायज हो भन्ने पनि भेटिए । विवेकशीलले त्यस बेला एउटा आयामबाट मात्रै हेर्यो भन्ने मेरो ठम्याई हो । तर उनीहरू भर्खर पार्टीका रूपमा आउँदै थिए  अनि आन्दोलनको केन्द्रमा पनि थिएनन् । विवेकशील बारे मैले सोचेको पनि थिइन त्यो बेला ।

यसपाली चुनावमा काठमाडौं महानगरको मेयर पदमा २१ बर्षिय रन्जु न्यौपाने “दर्शना” लाई उम्मेदवार घोषणा गर्यो । उनको पहिलो अन्तर्वार्ता हेरिसकेपछि मलाई लाग्यो, “अरू कोही योग्य थिएनन् यो दलमा ?” अनि त्यसमाथि विवेकशीलको नारा, “काठमाडौंलाई फेरि सुन्दरमाडौं बनाउछौं” । काठमाडौं कहिल्यै पनि सुन्दरमाडौं थिएन । काठमाडौं काठमाडौं नै हो र काठमाडौं नै रहनुपर्छ । फेन्सीफुल शब्दको जालमा पार्न त पुरानाले नै जानेकै थिए त । नयाँ कसरी फरक भए ? सपना देखाउन त पुरानाले पनि देखाएकै थिए । गफकै राजनीति गर्ने भए नयाँ-पुरानामा नाम बाहेक अरू के फरक भयो त ?

नयाँ र पुरानामा खासै फरक रहेनछ भन्ने मलाई त्यो दिन थाहा भयो जुन दिन मैले मेयर उम्मेदवारले नसुहाउदो भाषण गरेको भिडियो हेरें । कति कृत्रिम र भद्दा थियो त्यो भाषण । विवेकशीलको मौन राजनीति तोडियो । गालीको राजनीति सुरु भयो । पुराना र नयाँ बिचको खाडल पुरियो । चुनाव अघिको मौन अवधिमा पनि हल्ला गर्न जब विवेकशील चुकेन, म हतास भएँ । नयाँ पनि पुराना जस्तै नै रैछन् । शक्तिमा नपुग्दै नियमको अपव्याख्या गर्न सक्ने दल शक्तिमा पुग्यो भने के होला ? मैले यही सोचेँ ।

पुराना दलमा सबै खराब नै छन् त ?

​एमाले, कांग्रेस, माओवादीमा फटाहा मात्रै छन् भन्ने ठान्छन् टीनएजर्स । नयाँ पार्टीका भविस्य यिनै मा अडिएको छ । हो, माथि पुगेका मिडियामा सधैं देखिने केही नेता खराब छन् जसले इमान्दार मान्छेलाई छायाँमा पारेका छन् । युवाहरूले छायाँमा परेका त्यस्ता मान्छेलाई नदेख्नु नै नेपाली राजनीतिको मूल समस्या हो । तर स्थानीय तह जनताले “हाम्रा राम्रा” मान्छे चिनेका हुन्छन् । अपवाद छाडेर जनताले धेरैजसो सक्षम मान्छे नै छान्छ्न् स्थानीय तहमा । त राम्रा मान्छे चुन्ने जनता भेडा कसरी भए ? केही खराब नेतालाई देखाएर जनता नै भेडा हुन् भन्नू कतिको जायज कुरा हो ?

नयाँहरूले बुझ्नु पर्ने

मेयर, उपमेयर र केही वडा पदमा एकदुई जना उठाउँदैमा विकल्प भइँदैन । यदि नयाँ दलहरूले बनेको “नयाँ” शब्द व्याख्या एकछिन मान्ने हो भने दुईजना नयाँ आएर केही हुँदैन, १६० जना पुराना आएपछि (काठमाडौंको सन्दर्भमा) । अनि जनतालाई भेडा भन्दा त्यसो भन्न हुन्न नभन्ने गणेशमानका पाला देखिका र भर्खर टुसाएका नेताहरुमा त म पटक्कै फरक देख्दिन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s