सवारी

उहिले राजा-राणाहरू बग्गीमा हुइँकिँदै कतै गए भने सडकको दायाँ-बायाँ उभिएर मानिसहरू स्वागत गर्थे रे ।त्यस्तो सवारीमा हिँडिरहेका बटुवालाई उभिनु पर्ने बाध्यता हुँदैनथ्यो रे । स्वतस्फूर्त उनीहरू राजा-राणाको दर्शन गर्थे रे, आफूलाई भाग्यमानी ठान्थे रे । चाकरी गर्ने राम्रो मौका पनि त्यही हुँन्थ्यो रे । केही गरी तिनको नजरमा परियो भने त सन्तानको पनि जीवन उकासिन्थ्यो । चाकरी गरेर ठूलाबडा भएका मानिसका सन्तान अहिले पनि क्या ठाँटसँग हिँड्छन् ! भलै देशमा राणा मात्रै होइन, राजाको पनि शासन छैन ।

तर सवारीको परम्परा अहिले पनि ज्यूँदै छ । भन्नुहोला, “न राणा छन्, न राजा, न त बग्गी ;सवारीको परम्परा कसरी चल्छ ?” म भन्छु- समय फेरिएको छ नि त ! बग्गीको ठाउँमा चिल्ला कार छन् । अनि राजा-राणाका ठाउँमा जनताका प्रतिनिधि । यस्तो फेरिएको समयमा पनि सवारीको चलन चलिरहेको छ । किनकी सवारी हाम्रो इतिहास हो, हाम्रो संस्कृति हो ।

“इतिहासमा भएका कतिपय विषय मेटिन्छ, परिवर्तन गरिन्छ । राजारानीका नाम भएका स्कुल, कलेज, युनिभर्सिटी, बाटाघाटा लगभग सबै फेरिए ।” फेरि भन्नुहोला, “संस्कृति पनि त परिवर्तन हुन्छ । हाम्रो देशको मौलिक गीत-सङ्गीत, नाच-गान, पहिरन र खानामा पनि त पश्चिमा प्रभाव परिसकेको छ । सवारीको चलन किन परिवर्तन किन नगर्ने ?”

म फेरि पनि भन्छु- सवारीजस्तो विशिष्ट संस्कार पनि छोड्ने चिज हो त ? सवारी त हाम्रो एकमात्र साँस्कृतिक धरोहर हो । भुइँचालोले गर्दा हाम्रो देशमा चारवटा धरहरा ढले । हज्जारौं मन्दिर भत्किए । पश्चिमा धर्मसंस्कृतिले हाम्रा संस्कार बदले तर सवारीको चलन हटाउन सकेनन् । सक्ने छैनन् पनि । किनकी सवारी र त्योसँग गाँसिएको चाकरी हाम्रो जीनमा छ ।

भन्नुहोला, “मेरो जीन त शुद्ध छ । चाकरीको नाम निशान छैन । त्यसैले म सवारीको विरोध गर्छु ।” म सम्झाउँछु- त्यस्ता कुराहरू घरभित्र मात्रै गर्नू । भन्नुहुन्छ, “किन ?” म केही बोल्दिन । बाटोतिर हेर्न इशारा गर्छु । बाटो अचानक सुनसान भएको छ । एउटा पनि गाडी छैनन् । डराउनु होला कसैले बन्द गर्‍यो कि भनेर । म पुलिसतिर इशारा गर्छु । कसैलाई अभद्र पाराले बाटोमा साइकल नचलाउन आदेश दिँदै छन् । अर्का प्रहरी अलि परको आकाशे पुलमा नचढ्नु भन्दैछन् । अनि अर्का चाहिँ बटुवालाई फुटपाथमा उभिन लाउँदैछन् ।

केही बेरमा साइरन बालेको एउटा मोटरसाइकल देखापर्छ । अनि आउँछन्, सुरक्षाकर्मीका गाडी, झण्डा फर्फराएको सरकारी गाडी अनि फेरि पुलिस गाडी । हामी नतमस्तक भएर हेर्छौँ । सोच्नुहुन्छ, “जनताका राष्ट्रपति-प्रधानमन्त्री राजा-राणा जसरी हिँड्न थाले ।” म सोच्छु- हाम्रा सन्त्तानले भन्लान्, “हाम्रा बाउबाजे स्वतस्फूर्त गणतन्त्रका मूर्तिको सवारीलाई स्वागत गर्थे ।”

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s