अलिकति गुनासो संस्कार माथि

एउटा घटना

समय : साउन ६ गते करिब डेढ बजे (दिउँसो)

स्थान : जामे मस्जिद अगाडिको गेट

सिमसिम पानी परिरहेको छ। तीनधारा ओर्लिएर त्रिचन्द्रतिर जाँदै छु । जामे मस्जिद अगाडि पानी जमेको छ तर ध्यान दिएको छैन । अचानक विना कुनै कारण पछाडि हेर्छु । एउटा माइक्रो हर्न बजाउँदै बत्तिँदै छ । मस्जिद अगाडिको “पोखरी”देख्छु । फुटपाथ मुन्तिरको त्यो पानी माथि माइक्रो दौडिन्छ कि भन्ठान्छु । हेर्दाहेर्दै त्यो गाडि पानी माथि कुद्छ । छप्ल्याङ् ! दाहिने पाटो पुरै भिज्छ । हर्न बजेकै छ, माइक्रो दक्षिण हुइँकिदै छ । खलासी आफ्नो माझी औँला झ्याल बाहिर तेर्स्याउँदै छ । रिस झन् बढ्छ । नम्बर टिप्न खोज्छु; चस्मा पछाडिको आँखाले भ्याउँदैन । मसँगै पाँच-छ जना भिजेका छन् । मस्जिदको गेटमा एकछिन अडिन्छन् । छेउमा छन् एक पुलिस, हासिरहेका । पारो झन् चढ्छ । रिसले मुर्मुरिँदै कलेज पुग्छु । धन्न मस्जिद अगाडिको “पोखरी” बाट बालुवा मात्र उछिट्टिएछ । नत्र हुँदैनथ्यो बिजोग ? अहिले पनि सम्झिँदा आगो बल्छ मनमा ।

अर्को एउटा घटना 

समय : साउन ५ गते दिउँसो सवा तीन बजे 

स्थान : त्रिचन्द्र कलेज स्पोर्टस् हल

मेरा दुई साथी टिटी खेल्दै छन् । टिटी अर्थात् टेबलटेनिस । दुई जना अपरिचित पनि छन्। अर्को बोर्डबाट तेस्रो अपरिचित आउँछ। मेरो साथीसँग ब्याट माग्छ । एक दुई “मिस” खेल्छु भन्छ । तर पारा हेर्दा पूरा गेम खेल्ला जस्तो लाग्छ । मेरो साथीले “पूरा गेम त खेल्न पाइन्न है” भन्छ । अपरिचितले दादागिरी देखाउँछ । गाली गर्दै ब्याट फालेर अर्कोतिर जान्छ । पल्ला छेउको अपरिचित पनि त्यही ड्याङको मुला रै’छ । खेल्नै दिन्न भनेर बल लिँदै हिड्छ । झगडा गरेर जित्नु केही छैन । हामी लुत्रुक्क परेर फर्किन्छौँ ।

यी दुई प्रतिनिधि घटना देखाएर भन्न खोजेको कुराचाहिँ यत्ति हो- दादागिरी र हेपाहा पारा हाम्रो उच्च संस्कार हो । घरमा, सडकमा, स्कूलमा, कलेजमा, “स्वतन्त्र” विद्यार्थी यूनियनमा, यूनिभर्सिटीको उच्च तहदेखि क्याम्पस प्रशासनसम्म, संसदमा, सरकारमा, अदालतमा, संवैधानिक आयोगमा अनि अरू थुप्रै ठाउँमा जसले बल (वा बलको फुस्रो तुजुक मात्र पनि) देखाउन सक्छ, उसैले जित्छ । हामीजस्ता निर्बल हार्छौँ । गुनासो पोख्दै बस्छौँ ।

संस्कार परिवार र समाजबाट आउँछ रे । जुन परिवार र समाजले आफ्ना सदस्यलाई दादागिरी गर्न सिकाए, म तिनलाई सलाम गर्दछु । आफ्नै बाआमालाई सोध्छु- किन अरूलाई हेप्न, होच्याउन अनि अर्काको मर्कामा हास्न सिकाउनु भएन ? किन त्यस्ता महान् संस्कारका धुरन्धरसित दोस्ती गर्न सिकाउनु भएन ? आज यस्तो निरीह त हुनु पर्ने थिएन न त गुनासो पोख्नु पर्थ्यो ।

एउटा गुनासो त भगवानसँग परिचित गराउने सँग पनि छ, पोखिहाल्छु । उनीहरू भन्छन्  श्रीकृष्णले अर्जुनलाई भन्नुभयो, “जबजब पाप बढ्छ, म धर्म स्थापना गर्न अवतरित हुन्छु ।” मैले त्यसै होला भन्ठानेँ । अवतार पर्खेर बसेँ । आज म ठान्छु, श्रीकृष्णले त यसो भन्नु भएको थियो, “हरेक युगमा अधर्म हुन्छ । अनि हरेक युगमा धर्म स्थापना गर्ने नायक हुन्छन् । यस युगका नायक तिमी हौ, भारत*!” म यी कारणले आफ्नो मान्यतामा अडिग छु: 

समय घर्किँदै छ, युग पनि । म युगनायक कुर्दै छु । म आफैँ युगनायक बन्न डराउँछु ।
  • युद्ध छोड्न लागेका अर्जुनलाई मोटिभेट गर्दै हुनुहुन्थ्यो श्रीकृष्ण । त्यस्तोमा अर्जुनलाई तिमी नै नायक हौ भन्दा हुने असर श्रीकृष्ण बुझ्नु हुन्थ्यो ।
  • कुरूक्षेत्रको युद्ध भएको धेरै लामो समयपछि महाभारत लेखिएको हो । श्रुति र स्मृतिबाट नै यो धेरै फैलिएको थियो, लिखितरूपमा आउँदासम्म ।
  • एउटा खेल खेल्नु भएको होला, लहरै बसेर । सुरूको एउटाले कानेखुसी गर्छ दोस्रोलाई । अनि तुरुन्तै तेस्रोलाई दोस्रोले पहिलोले भनेको कुरा भन्छ । क्रम चल्दै जान्छ । अन्तिमकोले सबैले सुन्ने गरी यसो सुनेँ भन्छ । तर पहिलोले त्यसो भनेको हुँदैन । बीचमा कसैले अर्कै कुरा गरिसकेको हुन्छ । हामीले सुने-जानेको महाभारत पनि त्यो खेल जस्तै हो ।
  • हामीले सुन्दासम्म महाभारत इतिहाश होइन, मिथक भइ सकेको छ । पात्रहरू काल्पनिक जस्ता भएका छन् । टेलिभिजनले मिथकलाई नै बढावा दिएकै छ ।
  • म मान्दछु, कृष्णले आफूलाई भगवान् भन्नुभएन । अलिकति तत्व ज्ञान भएकालाई पनि थाहा हुन्छ, आफैँलाई भगवान् भन्न सकिन्न भनेर । श्रीकृष्ण त ज्ञानको सागर हुनुहुन्थ्यो । उहालाई त महाभारतका प्रचारकले पो भगवान् भनेका हुन् ।

हुन त महाभारतको चर्चा गर्नु यो लेखको उद्देश्य थिएन । तर भगवान् चिनाउनेले यतिसम्म सिकाए कि मैले केही गर्न पर्दैन, भजन र प्रार्थना गरे पुग्छ । मैले पत्याइरहेँ, आफूलाई कर्महीन बनाएँ । अवतार पर्खिएँ । आफूभित्रको दियो छोपछाप पारेँ । र त म जल्दै छु । मेरो कर्मप्रतिको अविश्वासले गर्दा आज म हेपिएको छु । दादागिरीको संस्कारलाई ढोग्दै छु ।

*(अर्जुन चन्द्रवंशी भरतका सन्तान थिए र संस्कृतका श्लोकमा उनलाई पटकपटक भारत भनिएको छ ।)

Advertisements

2 thoughts on “अलिकति गुनासो संस्कार माथि

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s