एक प्रधानमन्त्री, एक राष्ट्रपति, जनकपुर र शुद्धिकरण

राम-जानकी विवाह पञ्चमी | मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व | रामले सीतालाई विवाह गर्नामा तत्कालिन अयोध्याका आफ्नै स्वार्थ थिए होलान् तर त्यो प्राक-ऐतिहासिक विषयमा कुनै अर्कै दिन चर्चा गरूँला | अहिलेको लागि दुई वर्ष यताका कुरा नै काफी छ |
image

पोहोर साल विवाह पञ्चमीको बेलामा सायद सार्क (जसको अस्तित्व नाममा मात्र सीमित छ) शिखर सम्मेलन थियो | त्यसैले त कट्टर हिन्दुवादीको ताज पहिरीसकेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या, जनकपुर हुँदै काठमाण्डू आउने योजना थियो | पछि सुरक्षाको कारण देखाउँदै उनी त्यो बाटोबाट आएनन् | हुन पनि भारतको सर्वेसर्वा भएर विश्वका प्रभावशाली १० मा उभिइसकेका व्यक्तिलाई आफ्नै सीमा जोगाउन नसक्ने नेपालीले के सुरक्षा दिन सक्थे र ? मोदीले बाटे फेरेकोमा जनकपुरे रिसाउँछन् भन्ठानेको आफ्नै सरकार विरुद्ध पो खनिए | आफैँले सजाएर बनाएका स्वागत द्वार भत्काएर जनकपुर बन्द पनि गराए | (उता अयोध्यातिरका चैँ चिढिएछन्, मोदीलाई हराएरै छाडे यसपालाको राज्य सभा चुनावमा) यो विषयमा एउटा फेसबुक पेजमा दुई पटक गरेर लेखेको पनि थिएँ |

माथिको घटना नलेखेको भए पनि हुन्थ्यो होला तर यसपालाको घटनाले पोहोर सालको घटनासँग कुनै सम्बन्ध राख्छ कि भन्ने मनमा परेकाले लेखिदिएँ | अब यसपालिको त के कुरी गरूँ र ? भन्दा पनि लाज लाग्ने ! राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनकपुर पुग्ने वित्तिकै ‘अभाव भइरहेको पेट्रोल’ बमले स्वागत गरिएछ | पछि विरोधी समूहले केकस्ता काम गरेछन् भन्ने त टिभी, इन्टरनेट मार्फत धेरैलाई थाहा भइसकेको छ | त्यसको वर्णन मैले सायद गर्न पनि सक्दिनँ ! तर त्यो दुखद घटनामा राष्ट्रपतिलाई नै दोषि देखाउन खोजियो | कतिले त मधेसमा आन्दोलन भइरहेकाले उनी जनकपुर जानै हुँदैनथ्यो सम्म भन्न भ्याए | मैले सोचेँ, ‘ठीकै हो क्यारे ! राष्ट्रपतिले त्यहाँ गएर सुरक्षा चुनौति देखाइदिइन् | उनी नजाँदासम्म सुरक्षाको झुठो प्रत्याभूति त थियो !’

माथिका दई घटनाका आधारमा भारतका प्रधानमन्त्रीलाई स्वागत गर्न नपाउँदा बन्द गर्ने र आफ्नो राष्ट्रपतिको विरोध गर्नेहरूको राष्ट्रियतामा शंका गर्नुपर्छ भनेर माईसंसारको फेसबुक पोष्टमा कमेन्ट पनि गरेको थिएँ | तर विरोधको चुरो कताकता अर्कै थियो कि जस्तो लागेको थियो | मनमा खट्केको त्यो कुरो आज बिहान ‘नागरिक” मा आएको समाचार ले पुष्टि गरिदियो |

राष्ट्रपति विद्यादेवी भण्डारी माथि आक्रमण भएको खबर सुन्नु अघि कलर्स टिभीमा ‘इश्कका रंग सफेद’ भन्ने सिरीयल हेर्दै थिएँ | (मित्रहरूले मलाई राष्ट्रियताको कुरा गरेर हिन्दी च्यानल हेर्ने ? भन्दै हप्काउनु होला तर सरकारले नै विदेशी च्यालनल किनेर ‘हेर्’ भनेपछि म जस्तो बबुरोलाई हुटहुटी चलिहाल्दो रहेछ | फेरि विदेशी भाषाका कार्यक्रम, फिल्म हेर्दैमा कोही अराष्ट्रिय हुन्छ भन्नु पनि त संकीर्णताको पराकाष्ठा हो भन्छु म त , कसो ?) विधवा विवाहको विषय उठाइएको त्यो सिरियलको पहिलो एपिसोडहरूमा विधवा महिलालाई कृष्ण जन्माष्ठमी(?) मा मन्दिर जान रोक लगाइएको सिन देखाइएको थियो |  मन्दिरको  शुद्धिकरण गरिएका दृश्य पनि नआएका होइनन् | त्यसपछि उत्पन्न समस्यामा नै आजसम्म कहानी घुम्दै छ | यता जानकी मन्दिरमा पनि शुद्धिकरण भएछ, राष्ट्रपतिले पूजा गरेको निहुँमा !

जनप्रिय नेता मदन भण्डारीकी विधवा विद्यादेवी भण्डारीको संघर्षको कथाले सायद उपन्यास बन्ला | भन्नेले त पतिको मृत्युमा उनको संलग्नता थियो सम्म पनि भन्छन् | तर अप्रमाणित कुराको पछि लागेर एकल महिलाको रूपमा उनले सहनु परेका पीडालाई नजरन्दाज गर्नु हुँदैन | उनले यस समाजमा भोग्नु परेको पीडाको एउटा अध्याय होइन र जानकी मन्दिरको ‘शुद्धिकरण’ ? ‘आइमाईको बुद्धि !’ भन्दै महिला राष्ट्रपतिका कार्यको विरोध गर्ने विधवाले पूजा गरेको भनेर मन्दिर ‘शुद्धिकरण’ गर्ने कामले समाजमा नीहित संकीर्णता प्रष्ट पार्दैनन् र ?

राष्ट्रपतिजस्तो सर्वोच्च पदमा आसिन महिलालाई समेत हेप्न सक्ने हाम्रो समाजले गरिब महिलाहरूलाई कति पेल्दो हो | बोक्सी, डाइन भन्दै मलमुत्र खुवाइएका कतिपय महिलाहरू आज पनि न्यायको भिख माग्दैछन् | विडम्बना, महिलाहरू नै त्यस्तो लाजमर्दो काम गर्न पछि पर्दैनन् | के ती गरिब, दुःखी नारीहरूको मर्का समाजले बुझ्ला ? बुझ्ला भन्ने त मलाई पटक्कै लाग्दैन |

निष्कर्ष ? यति लामो गन्थनको निष्कर्ष मैले निकाल्नै सकिन | पाठकहरूले नै मद्दत गरिदिनु पर्यो |

(नोट: बिहान ‘नागरिक’ को समाचार शेयर गर्दा मधेसीको संकीर्णता देखियो भनेको थिएँ | यस्तो सोचले देशलाई नै गाँजेको होला | तर पहाडेलाई संकीर्ण देख्नेहरू पनि त वास्तवमा उदार रहेनछन् भन्नेतर्फ संकेत गरेको थिएँ भन्न चाहन्छु |

साथै, नगेन्द्र (नगेन्द्र राज शर्मा?)का निबन्ध पनि सम्झन्छु | नेपालमा महिला सम्बन्धी संकीर्ण सोच कतै काशीबाट त आएनन् ? उनी पटकपटक प्रश्न गर्छन् | माथि उल्लिखित सिरियल त्यतैको परिवेशमा आधारित भएकाले नगेन्द्रको प्रश्न पनि विचारणीय छ |)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s